Comments Add Comment

प्रचण्डद्वारा महाअभियोग फिर्ता लिन अस्वीकार, एमालेको शर्तः चाँडै भोटिङ गरियोस्

संसद बैठक सूचना टाँसेर स्थगित

सभामुखको कार्यकक्षमा एमाले र माओवादीका नेताहरु । तस्वीर कविन अधिकारी/अनलाइनखबर

२१ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन नेकपा एमालेले गरेको आग्रह प्रधानमन्त्री प्रचण्डले अस्वीकार गरेका छन् ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा बिहीबार भएको छलफलमा प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले महाअभियोग फिर्ता लिन आग्रह गरेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले आफू एक्लैले महाभियोग फिर्ताको निर्णय लिन नसक्ने बताएका छन् ।

फिर्ता नलिए संसदमा तत्काल पेश गर्न आग्रह गरे । कार्कीको कार्यकाल एक महिना केही दिन मात्र बाँकी रहँदा महाअभियोग आएको भन्दै एमाले नेताहरुले यसलाई लामो समय संसदमै अड्काएर राख्न नहुने बताए । स्रोतले भन्यो, ‘एमालेले तत्काल निर्णय गर्नुपर्छ । छलफल र समितिमा पठाएर अड्काइ राख्न मिल्दैन भनेको छ ।’

एमालेले महाअभियोगबारे संसदमा कुन दिन भोटिङ गर्ने तय हुनु पर्ने शर्त राखेको छ । कार्यकाल रहँदासम्म महाअभियोगबारे संसदले निर्णय नगर्नु बदनियतपूर्ण हुने उसले बताएको छ ।

महाअभियोगलाई लिएर बैठक अवरुद्ध गर्ने प्रमुख विपक्षी नेकपा एमालेको चेतावनीपछि व्यवस्थापिका संसदको बैठक सूचना टांसेर स्थगित भएको छ ।

संसद बैठक सूचना टाँसेर स्थगित

एमालेको शर्त अनुसार भोटिङ गर्ने दिन तोकिएन । कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले संसद बैठक अघि बसेको महाअभियोगलाई लिएर बैठक अवरुद्ध गर्ने चेतावनीपछि व्यवस्थापिका संसदको बैठक सूचना टांसेर स्थगित भएको छ ।

 एमाले प्रमुख सचेतक भानुभक्त ढकालले महाअभियोग फिर्ता लिन वा संसदको प्रक्रियामा लगेर ४/५ दिनमा नै टुंगो लगाउन माग गरे ।  अन्यथा संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिए ।

दलहरुबीच सहमति जुटेन र सभामुख ओनसरी घर्ती मगरले राजनीतिक सहमतिका लागि भन्दै सूचना टाँसेर संसद बैठक स्थगित गरिन् । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले महाअभियोग लगाउने कुनै आधार विना नै सरकारले गलत नियत र गलत ढंगले महाअभियोग प्रस्ताव आएको र आफूहरुले संसद चल्न नदिने बताएपछि सभामुखले राजनीतिक सहमतिका लागि बैठक स्थगित गरेको जानकारी दिए ।

बजेट अगावै दोस्रो चरणको चुनाव गर्न छलफल

सत्तारुढ नेकपा माओवादी केन्द्र र प्रमुख विपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुबीच दोस्रो चरणको चुनाव बजेट अगाबै सार्नेबारे पनि कुराकानी भएको छ ।
सरकारले दोस्रो चरणको चुनाव जेठ ३१ गते गते निर्णय गरेको छ । पहिलो चरणको चुनाव बैशाख ३१ मा हुँदैछ ।तर, एमालेले जेठ १५ मा बजेट ल्याउनु पर्ने र त्यसअघि नै दोस्रो चरणको चुनाव गर्नु पर्ने अडान राखेको छ । उसले जेठ १० सम्म दोस्रो चरणको चुनाव गरिसक्नु पर्ने अडान लिएको छ ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले यसबारे मधेसी मोर्चासहितका अन्य दलसँग कुरा गर्ने बचन दिएका छन् ।‘मुख्य कुरा चुनाव हुनुपर्छ भन्ने हो । एउटा बैशाख ३१ मा चुनाव हुन्छ । अर्को चरणको चुनावको हकमा बजेट र त्यसलाई कसरी मिलाउने सकारात्मक ढंगले छलफल गर्ने भन्ने भएको छ’ भेटमा माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘निर्वाचन आयोग, मधेसी मोर्चा सबै पक्षसँग छलफल गरेर एउटा निकासमा पुग्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment