३१ साउन, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कतिपय स्थानमा बाढी प्रभावितहरुका लागि त्रिपाल राख्ने ठाउँ समेत नरहेको बताएका छन् ।
देशका विभिन्न स्थानमा बाढी पहिरोबाट भएको धनजनको क्षति र राहत तथा उद्दारमा सरकारले गरेको कामकारबाहीबारे संसदलाई जानकारी दिँदै गृहमन्त्री शर्माले अहिलेसम्म १११ जनाको मृत्यु भएको र ३५ जना हराइरहेको बताए ।
सरकारले एकद्दार प्रणाली लागू गरेर राहत वितरण गरिरहेको उनले बताए । मन्त्री शर्माका अनुसार काठमाडौंमा जम्मा भएका राहत सामाग्रीहरु दुई वटा हेलिकोप्टरबाट बिराटनगर, तीनतीन हेलिकोप्टरबाट जनकपुर र वीरगञ्ज तथा एक हेलिकोप्टरबाट नेपालगञ्ज लैजाने काम भइरहेको छ ।
त्यहाँबाट गाडी जाने ठाउँसम्म लैजाने र विवरण गर्ने काम भइरहेको मन्त्री शर्माले बताए ।
बाढीका कारण हजारौं घर डुवानमा परेको र त्यसमध्ये केही हजार घर भत्किएको भन्दै उनले अस्थायी व्यवस्थापनका लागि आज र भोलि समय चाहिने बताए । उनले भने, कतिपय ठाउँमा त्रिपाल राख्ने ठाउँ समेत छैन, सबै डुवानमा परेको छ ।’
शव गाड्ने ठाउँ समेत नभएर कोसीमा बगाउनु पर्ने अवस्था आएको सुनेको उनले बताए ।
उनले सत्तापक्ष प्रतिपक्षी सबैलाई सूचना संकलनका साथै राहत वितरणमा सघाउन आग्रह गरे ।
प्रतिक्रिया 4