Comments Add Comment

गोविन्द केसीकै मान्छे शंकाको घेरामा, उत्तरपुस्तिका सीआइबीले जाँच्दै

टिचिङ अस्पतालदेखि नेमसम्म मेडिकल माफियाको जालो

७ कात्तिक, काठमाडौं । मेडिकल माफियाविरुद्ध गुणस्तरीय मेडिकल शिक्षाको मुख्य बटमलाइन बनाएर शुरु भएको डा.गोविन्द केसीको अनसनको १३औं श्रृंखला भर्खरै सकिएको छ । तर, मेडिकल शिक्षाको प्रवेशद्वारमै भएको ‘माफिया सेटिङ’ भने केसीको आन्दोलनको विषय बन्न सकेन ।

संयोग नै मान्नुपर्छ, एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्र आउट गर्ने गिरोहका केही प्रमुख सदस्यहरु डा.केसीको अनसन श्रृंखलाका मुख्य अभियन्ता नै छन् । यो गिरोहविरुद्ध केही बोल्देलान् भनेर भेट्न पुगेका विद्यार्थीका कुरै नसुनी डा.केसीले बाहिर पठाएपछि उनीहरु अनलाइनखबरको कार्यालयमा आइपुगे ।

हामीले ती विद्यार्थीका कुरा सुन्यौं र उनीहरुले जुटाएका केही प्रमाण पनि लियौं । त्यसपछि यो प्रकरणको अनुसन्धान गरिरहेका उच्च प्रहरी अधिकारीलाई भेटेर प्रमाण भिडाउँदा धेरैजसो दसी प्रमाणहरु मेल खाए ।

प्रहरीले अहिले एमबीबीएसको प्रवेश परीक्षामा हुने सेटिङका धेरै पक्षको अनुसन्धान गरिरहेको छ । आखिर यो प्रकरण के हो र यसमा कोको संलग्न छन् त ?

प्रस्तुत छ अनलाइनखवरको यो प्रारम्भिक रिपोर्ट-

अनुसन्धानको घेरामा आइओएमकै अधिकारी

एमबीबीएसको प्रवेश परीक्षामा भएको प्रश्नपत्र आउट र डिभाइस प्रयोग प्रकरणमा चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) कै जिम्मेवार व्यक्ति संलग्न रहेको आशंकामा प्रहरीले छानविन अघि बढाएको छ ।

इलेक्ट्रोनिक डिभाइस सहित पक्राउ परेका विद्यार्थी र नक्कली परीक्षार्थीहरुको वयानका आधारमा प्रहरीले आइओएमकै अधिकारीहरुको संलग्नता रहेको आशंका गरेको हो ।

गत असोज २८ गते सञ्चालित प्रवेश परीक्षाका क्रममा तीनवटा परीक्षा केन्द्रबाट प्रहरीले विद्युतीय डिभाइस सहित केही परीक्षार्थीलाई पक्राउ गरेको थियो । प्रहरीले तत्कालै परीक्षा केन्द्रबाटै प्रश्नपत्रको फोटो खिचेर भाइबरमार्फत मेडिकल काउन्सिल र आइओएमका डीन जगदीश अग्रवाललाई समेत पठाएको थियो ।

  • डा. गोविन्द केसीको जोडबलमा अाइअोएम डीन बनाइएका डाक्टर जगदीश अग्रवाल

आइओएमले परीक्षा रद्द गर्नुको साटो नतिजा प्रकाशन मात्रै स्थगन गरेपछि परीक्षार्थीहरुले समेत डीनको नियतमाथि शंका गर्दै शिक्षण अस्पताल परिसरमा निरन्तर प्रदर्शन जारी राखेका छन् । उनीहरुले डीन कार्यालयबाटै प्रश्नपत्र आउट गरिएको र डिभाइसबाट उत्तर लेखाउने गिरोह समेत आइओएमसँग मिलेको आरोप लगाएका छन् ।

आइओमले पुनः प्रवेश परीक्षा लिनेतिर चासो नदिएपछि उपत्यका अपराध महाशाखामा पुगेका एमबीबीएस प्रवेश परीक्षाका परीक्षार्थीहरुलाई महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले प्रश्नपत्र बाहिरिनुमा आइओएमकै मान्छे संलग्नताको आशंका रहेको बताएका छन् ।

उनले विद्यार्थीकै सामुन्ने मेडिकल काउन्सिलका अध्यक्षलाई समेत फोन गरेर यस्तो आशंका जाहेर गरेको स्रोतले जनाएको छ ।

होस्टेलबाट डिभाइस बरामद

अनलाइनखबरले यसबारे एसएसपी लोहनीलाई सोध्दा उनले अब यो अनुसन्धान प्रक्रिया परिसरमा पठाइएको बताए । आइओएमको संलग्नताबारे उनले यतिमात्र भने- शंकाको घेरामा आइओएम पनि परेको छ, होस्टेलबाटै डिभाइस बरामद भएको छ, अरु विषय अनुसन्धानबाट थाहा होला ।

  • परीक्षामा चीट चोर्न प्रयोग गरिएको यो डिभाइस प्रहरीले बरामत गरेको छ

आइओएमका डीन डा.जगदीश अग्रवालले पनि प्रश्नपत्र आउट र डिभाइसका सन्दर्भमा त्रिभुवन विश्वविद्यालय र प्रहरीले छानविन गरिरहेकाले थप केही भन्न नसक्ने बताए । उनले भने- ‘छानविन भइरहेको छ, छानविन प्रतिवेदन आएपछि मात्रै आइओमका कोही मान्छे संलग्न भए/नभएको थाहा होला ।’

विद्यार्थीको मागबमोजिम पुनः प्रवेश परीक्षा लिने निर्णय भने गर्न नसकिने अग्रवालले बताए । उनले भने- ‘कति प्रश्नपत्र बाहिरिएका थिए, डिभाइसको कुरा के हो, यो विषय सबै बाहिर आएपछि मात्रै के गर्ने भन्न सकिन्छ ।’

कति विद्यार्थीले पढ्न पाउँछन् ?

असोज २८ गते एमबीबीएसको प्रवेश परीक्षाका लागि काठमाडौं उपत्यकामा १७ ठाउँमा केन्द्र तोकिएको थियो । तीमध्ये नामी कलेज, अरुणिमा र किस्ट कलेजबाट डिभाइसको माध्यमबाट उत्तर लेखिरहेका र नक्कली विद्यार्थीसमेत पक्राउ परे । केन्द्रमा पुगेर प्रहरीले डिभाइससहित परीक्षार्थी पक्राउ गरेपछि मात्र केन्द्राध्यक्षहरुले थाहा पाए ।

यसपटक ८ हजार ६६६ विद्यार्थी प्रवेश परीक्षामा सामेल थिए । तीमध्ये चार/पाँच सय विदेशी विद्यार्थी पनि छन् । प्रवेश परीक्षामा सहभागी हुने सबैले डाक्टर पढ्न पाउँदैनन् । तीमध्ये ६४० जनाले प्राप्त नम्बरको मेरिटका आधारमा पैसा तिरेर बिभिन्न मेडिकल कलेजमा पढ्न पाउँछन् ।

बढीमा ९० जना सर्वोत्कृष्ट नम्बर पाउने विद्यार्थीले छात्रवृत्तिमा पढ्न पाउने हुन् । ८० प्रतिशतभन्दा माथि नम्बर ल्याउनेहरु मध्येबाट पैसा तिरेर पढ्न पाउने भए पनि छात्रवृत्तिका लागि ९५ प्रतिशतभन्दा माथि नम्बर पाउनेकै प्रतिस्पर्धा हुन्छ ।

एकसे एक सक्षम विद्यार्थीहरुबीचको प्रतिस्पर्धामा सीमितले मात्र मौका पाउने भएकाले ‘मेडिकल माफिया’ले आइओएमकै जिम्मेवार व्यक्तिहरुलाई हातमा लिएर प्रश्नपत्र आउट गर्ने गरेको आशंका प्रहरीको छ ।

यो प्रकरणको अनुसन्धानलाई गहिराइमा पुर्‍याउने भने धेरै ठूलो जालो बाहिर ल्याउन सकिनँ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए ।

यसरी मागे राहुलले ५० लाख

आइओएमबाटै दुई ब्याच अघि एमबीबीएस गरेका डा. राहुल रौनियारले प्रवेश परीक्षाको तयारीमा रहेका एक परीक्षार्थीसँग प्रवेश परीक्षा पास गराउन पैसाको डिल गरेको प्रमाण प्रहरीले संकलन गरेको छ । उनले ती परीक्षार्थीसँग फेसबुक मेसेन्जरमै पैसाको डिल गरेका छन् ।

विद्यार्थीको गोपनियता राख्न हामीले उनको नाम गोप्य राखेर दुईजनाको संवादमात्र पेश गरेका छौं । जसमा बिचौलियाका रुपमा रौनियारले प्रवेश परीक्षा पास गर्न २५ लाख रुपैयाँ र छात्रवृत्तिका लागि ५० लाख रुपैयाँ चाहिने बताएका छन् ।

ती परीक्षार्थीले नपत्याएपछि रौनियार भन्छन्- हामीकहाँ भइरहेछ, लाष्ट आवरमा एन्सर पठाउने तर पैसा लाग्छ ।..गराउने मान्छे गराई रहेछ क्यारे । तिमी जति पढे पनि नपढे पनि नपढ्नेको नाम स्कलरशीप वा पेइङमा भयो भने डन्ट रिग्रेट लेटर है ।

राहुल रौनियारमात्र होइन, यस्ता बिचौला र माफियाहरुको ठूलो गिरोह लामो समयदेखि एमबीबीएसको प्रवेश परीक्षा सेटिङमा संगठित रुपमा लागेको प्रहरीले जनाएको छ । अहिले सीआइबीले प्रवेश परीक्षाको ‘एन्सर सीट’ लगेर बाहिर आएको एन्सर सिटसँग म्याच गरिरहेको स्रोतले जनाएको छ ।

बाहिर गएको एन्सर सीट र आइओएमले बनाएको एन्सर सीट म्याच गर्दा ९० प्रतिशत मिलेको खण्डमा त्यो प्रश्नपत्र बाहिरिएको ठहरिनेछ । त्यो अवस्थामा पुनः परीक्षा हुनुपर्ने चिकित्साशास्त्र अध्ययन क्याम्पस महाराजगञ्जका स्ववियु सभापति डा. मिलन गैरेले बताए ।

यो हो लिक भएको एन्सर सिट

बिचौलियामध्येकै एक बीके यादव भन्ने व्यक्तिले ८५ जना विद्यार्थीसँग डिभाइसको डिल गरेको अनुसन्धानका क्रममा खुलेको छ । तीमध्ये १७ जनासँग उनले छात्रवृकिो लागि डील गरेको पाइएको छ । ती विद्यार्थीमध्येकै एकजनाले उपलव्ध गराएको एन्सर सीट अहिले सिआइबीले आइओएमको एन्सरसीटसँग म्याच गरिरहेको छ ।

नेमका नविन शर्मा शंकाको घेरामा

राहुल रौनियार र बीके यादव बिचौलियामात्र हुन सक्छन् । उनीहरुभन्दा माथि प्रभावशाली व्यक्तिहरु रहेको प्रहरीको आशंका छ । एमबीबीएसको प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्नेमध्ये सबैभन्दा धेरै चलेको संस्था हो- पुतलीसडक स्थित नेम ।

नेमका सञ्चालक नविन शर्मा डा.गोविन्द केसीको अनसन श्रृंखलाका सबैभन्दा सक्रिय पात्र हुन् । उनको फेसबुक पेज हेर्दा डा.केसीको आधिकारिक पेजजस्तै लाग्छ ।

यसअघि पनि एमबीबीएसको प्रश्नपत्र आउट हुँदा नेम विवादमा परेको थियो भने शर्मा केही समय फरार भएका थिए ।

संयोग नै मान्नुपर्छ, यसपटक पनि शर्मा अनुसन्धानको दायरामा आएका छन् ।

नेमबाट प्रवेश परीक्षा तयारी गरेका सयौं विद्यार्थीले उनलाई पुनः परीक्षाका लागि आफ्नो पहुँच प्रयोग गर्न दबाब दिएपछि शर्मा सम्पर्कविहीन भएका छन् ।

उनले आइओएमका पदाधिकारीलाई पुनः परीक्षा नगर्न दबाब दिएको आरोप अनलाइनखबरको कार्यालयमा आइपुगेका विद्यार्थीले लगाएका छन् ।

शर्माले विवादास्पद प्रवेश परीक्षाको नतिजा प्रकाशन गर्न डीन अग्रवाललाई फोनबाट आग्रह गर्दा विद्यार्थीहरु उनीसँगै बसेर सुनिरहेका थिए ।

डा.गोविन्द केसीको नाम बेच्दै धन्दावाल

आफ्नो फेसबुकमा चिकित्सा विधेयक विरुद्ध उभिएका एमाले माओवादी गठबन्धनलाई हराउन सार्वजनिक आह्वान गरेका शर्मा एमबीबीएसको प्रश्नपत्र लिक गर्ने गिरोहको मुख्य सदस्य रहेको आशंका प्रहरीको छ ।

शर्माले गोविन्द केसीको अनसनलाई समर्थन जनाउने र्‍यालीहरुमा नेमका विद्यार्थीलाई गाडीसहित पठाउने गरेका थिए ।

यो संयोग मात्र हुन सक्छ, आइओएमका डीन जगदीश अग्रवाल डा.केसीको पटक-पटकको अनसनका कारण सो पदमा पुग्न सफल व्यक्ति हुन् । केसीले उनको अनसनका नवौं श्रृंखलासम्म पटक पटक बरिष्ठताका आधारमा डीन नियुक्त हुनुपर्ने भन्दै जगदीश अग्रवालको नियुक्तिपछि सो माग अन्त गरेका थिए ।

डीन अग्रवाल गोविन्द केसीकै रुचीका पात्र भएकाले प्रश्नपत्र आउट भएपछि आन्दोलित विद्यार्थीले गत साता केसीको अनसनस्थलमै पुगेर यसबारेमा डा. केसीको धारणा सोधेका थिए । केसी अनसनको एउटा माग एमबीबीएसको प्रश्नपत्र पटक पटक लिक हुने विषय पनि थप्नुपर्ने विद्यार्थीहरुको माग थियो । तर केसीले विद्यार्थीको माग सुन्न चाहेनन्, बरु त्यसै दिन उनले अनसनको १३ औं संस्करण अन्त गरे ।

यस्ता सानातिना कुरा डा.केसीका माग होइनन्ः गैरे

केसीको आन्दोलनलाई सघाउँदै आएका मेडिसिन क्याम्पस स्ववियुका सभापति गैरेले भने यस्ता सानातिना विषयलाई डा. केसीले आफ्नो माग नबनाउने प्रतिक्रिया अनलाइनखबरलाई दिए ।

गुणस्तरीय मेडिकल शिक्षाका लागि भनेर पटक पटक अनसन बस्दै आएका डा.केसीको मागमा मेडिकल शिक्षाको प्रवेशद्वारमा हुने गरेको यति ठूलो सेटिङ प्रथामिकतामा नपर्नुले अझ धेरै शंका उत्पन्न भएको विद्यार्थीहरुले बताएका छन् ।

डा. केसीको माग बमोजिम नियुक्त भएका डीन जगदीश अग्रवाल र उनको अनसन श्रृंखलाका एक मुख्य अभियन्ता नविन शर्मा नै अनुसन्धानको घेरामा पर्दा प्रश्नपत्र आउट प्रकरणमा उनको मौनता रहस्यमय रहेको उनीहरुको भनाइ छ ।

प्रवेशद्वारमै माफियाः गुणस्तरीय मेडिकल शिक्षा ?

अपराध महाशाखामा भेटिएका एक विद्यार्थीले भने-मेडिकल शिक्षा गुणस्तरीय भएन भनेर गोविन्द केसी अनसन बसिरहेका छन् । तर, २५ लाख र ५० लाख तिरेर सेटिङमा प्रवेश परीक्षा पास गराउने गिरोह उनलाई अनसन राखेर आफ्नो ब्यापार चलाइरहेको छ । पैसा तिरेर प्रवेश परीक्षा पास हुने व्यक्ति भोलि कस्तो गुणस्तरको डाक्टर बन्ला ?

एमबीबीएसको प्रवेश परीक्षामा प्रश्नपत्र आउट भएको यो पहिलो पटक होइन । यसअघि पनि पटक-पटक यस्ता घटना भएका छन् । संयोग वा नियोजित जे भए पनि नामी र किष्ट कलेजबाट यसअघि पनि यस्तै घटना भएका छन् । तर, पनि त्यहीँ परीक्षा केन्द्र किन राखिन्छ ? यसमा पनि सेटिङको आशंका छ ।

कसरी हुन्छ प्रश्नपत्र लिक ?

आइओएमले परीक्षालाई मर्यादित बनाउन कडाइ गर्दै आए पनि प्रश्नपत्र आउट हुँदै अब त डिभाइसमार्फत बाहिरैबाट उत्तर टिपाउने र परीक्षार्थीले कानमा राखेको डिभाइसबाट सुनेर लेख्ने प्रबिधि समेत भेटिएको छ । अझ त्यस्तो डिभाइस आइओएमको होस्टेलबाटै बरामद हुनुले अनुसन्धान आइओमतिरै सोझिएको प्रहरी अधिकारीले बताएका छन् ।

स्ववियु सभापति गैरे भने प्रश्नपत्र परीक्षाकेन्द्रबाटै लिक भएको हुन सक्ने बताउँछन् । परीक्षार्थीको हातमा प्रश्नपत्र पुग्नुअघि खोल्नै नमिल्ने भएकाले आइओएमबाट लिक हुने सम्भवाना कम रहेको उनको भनाइ छ ।

गैरेले भने-प्रहरीले सभा नौ बजे एन्सर सिट खिचेर पठाएको छ । सम्भवतः प्रश्नपत्र विद्यार्थीलाई दिएपछि गार्डका रुपमा छिरेका व्यक्तिले फोटो खिचेर बाहिर तस्करलाई पठाएको हुनुपर्छ ।

आइओएमका कुनै व्यक्ति खराब निस्किएको खण्डमा प्रश्नपत्र लिक हुन सक्ने सम्भावना भने रहेको उनले स्वीकार गरे । कतिपय गार्ड बसेका व्यक्तिको कपडामा बटम क्यामेरा लगाएर प्रश्नपत्र हेर्ने निहुँमा बाहिर लिक हुने सम्भावना हुन्छ ।

यस्ता धेरै प्रकारका सेटिङ सञ्चालन गर्ने गिरोह टिचिङ अस्पतालदेखि पुतलीसडकको नेमसम्म फैलिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

२०७१ सालमा पनि प्रश्नपत्र अाउट भएकाे थियो । हेर्नुहाेस् त्यसबेला अनलाइनखबरमा प्रकाशित रिपाेर्ट-

यसरी वेचियो एमबीबीएस छात्रवृत्ति परीक्षाको प्रश्नपत्र

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment