Comments Add Comment

लापरवाही आरोपमा दुर्व्यवहार बढेपछि कार्यशैली बदल्दै चिकित्सकहरु

शल्यक्रियाअघि सबैखाले परीक्षणका लागि बिरामीलाई बाध्य बनाइँदै

८ कात्तिक, काठमाडौं । अस्पतालमा हुने बिरामीको मृत्युलाई लिएर आफन्तजनले गर्ने हातपात नरोकिएपछि चिकित्सकहरुले कार्यशैली बदलेका छन् ।

शल्यक्रियाअघि सबैखाले परीक्षणमा बिरामीलाई पठाउनेदेखि एनेस्थेसिया चिकित्सकलाई भेटेरै परामर्श लिन सुझाउन थालेका छन् ।

शल्यक्रिया गर्नुअघि एनेस्थेसियामार्फत् बिरामीलाई बेहोस बनाउने सामान्य प्रक्रिया हो । यसअघि एनेस्थेसिया विशेषज्ञसँग बिरामीलाई अलग्गै भेट गराइँदैनथ्यो । लापरवाहीको आरोपबाट बच्न चिकित्सकहरुले अहिले एनेस्थेसिया विशेषज्ञहरुसँग पनि बिरामीलाई परामर्श लिन सुझाउन थालेका छन् ।

शल्यक्रियाअघिका अन्य स्वास्थ्य परीक्षण गराउन पनि बिरामीलाई परामर्श दिइन थालेको छ ।

‘शल्यक्रियाअघि एनेस्थेसिया चिकित्सकले जाँच गर्नु सामान्य कुरा हो । तर, यो व्यवहारमा उतारिएको थिएन,’ नेपाल मेडिकल काउन्सिलको आचारसंहिता बोर्डका अध्यक्ष डा. ढुण्डीराज पौडेलले भने ।

उनका अनुसार चिकित्सकमाथि हातपात र अस्पताल तोडफोड रोक्न शल्यक्रियाअघिका सबै जाँच गराउने उपाय निकालिएको हो । ‘यो कुरा पहिले पनि चिकित्सकको आचारसंहितामा उल्लेख थियो । विरामीको अवस्था हेरेर यस्ता जाँच हुँदै पनि आएको हो । तर, सबै ठाउँका लागि आवश्यक थिएन,’ पौडेलले भने, ‘अहिले अनिवार्य गरिएको छ ।’

बिरामीका आफन्तबाट त्रास बढेपछि चिकित्सकहरु पहिलेभन्दा संवेदनशील र त्रसित बनेको अवस्था अन्त्य गर्ने प्रयास गरिएको उनको भनाइ छ ।

‘चिकित्सकहरु त्रासको वातावरणमा बढी संवेदनशील हुँदा गम्भीर प्रकृतिका उपचारमा कमि आउने डर उत्पन्न भएको छ,’ पौडेलले भने । त्रासमा काम गर्दा चिकित्सकहरुले आफ्नो ज्ञान र सीप पनि उपयोग गर्न सक्दैनन् । राम्रो गर्दागर्दै लापरवाहीका कारण ज्यान गएको प्रचार हुने कुराले उनीहरुको मनोबल खस्किन्छ ।

कतिपय अवस्थामा अस्पताल व्यवस्थापनको दबाबका कारण चिकित्सकले अनावश्यक परीक्षण गराउनुपथ्र्यो । तर, उनीहरुले बिरामी र परिवारलाई अनावश्यक आर्थिक भार नपरोस् भनेर त्यस्ता परीक्षणमा जोड दिँदैनथे ।

तर, त्यसको नकारात्मक परिणाम प्राप्त हुन थालेपछि चिकित्सकहरु सबैखाले परीक्षण गराउन बाध्य बनेका हुन् । ‘पहिले विरामीलाई आर्थिक भार नपरोस् र सुविधा होस् भन्नेमा हामी सचेत थियौं । त्यसैले आवश्यक परेको बेला मात्र हामी विरामीको स्वास्थ्य अवस्था जाँच गर्न जान्थ्यौं,’ एक चिकित्सकले भने, ‘तर, पछिल्लो समय हामीमाथि भएका व्यवहारले निराशा बढेको छ । र, सबैखाले जाँच गराउन बाध्य भएका छौं ।’

अहिले जुनसुकै बेला पनि बेडमा पुगेर बिरामी हेर्न थालिएको उनले बताए । भने, ‘यसअघि हामी विरामीको तर्फबाट सोच्थ्यौं । तर, अहिले परिस्थिति बदलिएको छ ।’

विशेषज्ञ चिकित्सकलाई जति पटक बिरामी जाँच्यो, त्यति नै आम्दानी हुन्छ । तर, यसअघि आम्दानीभन्दा आवश्यकताका हिसाबमा काम गर्थे, उनीहरु । आफूमाथि नै हातपात र अस्पताल तोडफोडका घटना बढेपछि जति पटक भन्यो, त्यति नै पटक बिरामी जाँच गर्न बेडमा पुग्न थालेका छन् । ‘जुन सही होइन,’ ती चिकित्सकले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment