Comments Add Comment

राजेन्द्र महतोलाई ओलीले मविरुद्ध लड्न पठाएका हुन्ः विमलेन्द्र निधि

‘महतो हेभीवेट हैनन्, ओलीसँग उनको साँठगाँठ छ’

१५ मंसिर, जनकपुरधाम । प्रतिस्पर्धी राजेन्द्र महतो आक्रामक रुपमा टोलटोलमा घरदैलो गरिरहेका बेला कांग्रेस नेता विमलेन्द्र निधि भने बिहीबार दिनभरि जनकपुरको मिल्स एरियास्थित निधिनिवासमै थिए ।

एक साताभन्दा लामो समय उपचारका क्रममा काठमाडौंको ओम अस्पतालमा बसेका निधि बुधवार जनकपुर आएदेखि घरबाट खासै बाहिर निस्किएका छैनन् । उनले घरबाटै रणनीतिक भेटघाट गरेर चुनाव जित्ने परम्परागत शैली अपनाइरहेको बुझ्न सकिन्छ ।

कांग्रेस नेता निधिलाई भेट्न उनको निवास पुग्दा ठूलै भिडभाड थियो । अनलाइनखबरकर्मीसँगको भेटको शुरुमै उनले भने, ‘राजेन्द्र महतोका लागि मेरो उम्मेदवारी फिर्ता भएको र निधि राष्ट्रिसभामा जाने भन्ने कुनै साप्ताहिक पत्रिकाको न्युज अनलाइनले किन दिएको ?’

यसैबाट शुरु भएको कुराकानी राजेन्द्र महतोले उनीमाथि लगाएका आरोपसम्म पुग्दा निकै उत्तेजक बन्यो । महतोले आफूलाई ‘एक नम्बर मधेशविरोधी’ भनेर लगाएको आरोपको प्रतिवाद गर्दै निधिले महतो केपी ओलीबाट परिचालित भएको आरोप लगाए ।

कुनैबेला केपी ओलीलाई राजपा नेता राजेन्द्र महतोले मधेशको एक नम्बर विरोधी भन्ने गरेकाले निधिले सोही निशाना महतोतिर फर्काएका हुन सक्छन् ।

मिडियाले राजेन्द्र महतोलाई ‘हेभीवेट उम्मेदवार’ भनेकोमा पनि निधिको असन्तुष्टि रहेछ ।

‘निर्वाचन आयोगमा एक सयभन्दा बढी पार्टी दर्ता भएका छन्, अध्यक्ष हुँदैमा हेभीवेट हुन्छ ? मिडियाले अनावश्यकरुपमा राजेन्द्र महतोलाई हेभीवेट भनेर प्रचार गरेको मलाई ठीक लागेको छैन, उनी त अण्डरवेट पनि होइनन्,’ कांग्रेस नेता निधिले कुराकानीको शुरुवात यसरी गरे ।

तर, हामीले भने उनको स्वास्थ्य अवस्थाबाट कुराकानी थाल्यौं ।

चुनाव प्रचारको मध्यतिर तपाईं बिरामी परेर लामै समय अस्पताल बस्नुपर्‍यो, त्यो अवधिको क्षतिपूर्ति कसरी गर्दै हुनुहुन्छ ?

त्यस्तो क्षतिपूर्ति गर्नुपर्ने अवस्था छैन । मेरो त यो जन्मस्थान हो । राजनीतिक कर्मथलो हो । विद्यार्थी राजनीति यहीँबाट गरेँ । यहीँकै जनताको माया पाएको मान्छे । मलाई सबैले चिन्छन्, म सबैलाई चिन्छु । म घरदैलोमा भोट माग्न गइरहनुपर्दैन । कार्यकर्ता परिचालन भएका छन् ।

फेरि, यो मैलेमात्र चुनाव लड्ने होइन । संगठनले चुनाव लड्ने हो । मेरो क्षेत्रमा ३८ वडा पर्छन् । शहरमा १५ वटा वडा छन्, अरु गाउँतिर छन् । चुनाव प्रचार समिति क्षेत्रीय तहका, पालिका तहका, वडा तहका र मतदान केन्द्र तहसम्मका बनाएका छौं । ७६ वटा मतदान केन्द्र तहसम्मै चुनाव व्यवस्थापन समिति बनाएकाले सबै ठाउँमा म गइरहनुपर्दैन ।

तर, यसपटक राजपाका अध्यक्ष राजेन्द्र महतो नै प्रतिस्पर्धामा आएकाले दबाव महशुस गर्नुभएको हो कि जस्तो देखियो नि ? आखिर तपाईहरु दुईजनाकै कारण लोकतान्त्रिक गठबन्धन बन्न सकेन होइन त ?

विल्कुल दबाव महसुस गरेको छैन । चुनावी तालमेल हुन सकेन, त्यो ठीक हो । जसको नाम तपाईले भन्नुभएको छ, उहाँको घर सर्लाही हो । मेरै क्षेत्रमा उहाँ चुनाव लड्न जिद्धि गरेपछि तालमेल भएन र हाम्रो गठबन्धन बन्न सकेन ।

उसकोविरुद्ध म लडेको हो र ? मेरो विरुद्धमा पो राजेन्द्र महतो लडेको हो । यो क्षेत्र मेरो हो नि । सर्लाही ४ दिन तयार थियौं, उहाँले मान्नुभएन ।

उहाँ किन आउनुभयो मलाई थाहा छैन । उहाँलाई यो क्षेत्रप्रति कुनै माया मोह पनि छैन । उहाँ यहाँको मान्छे पनि होइन, चुनाव लड्न आउनुभएको छ, ठिकै छ । तर, यो क्षेत्रसँग उहाँको कुनै सम्बन्ध नै छैन भनेपछि मैले किन दबाव महशुस गर्ने ? मलाई त यहाँका जनताले जिम्मेवारी दिएका छन् ।

तर, प्रतिस्पर्धा त कडा नै हुने भयो नि हैन ? महतो नभए को हो त तपाईको मुख्य प्रतिस्पर्धी ?

मैले कसैलाई प्रतिस्पर्धी देखिरहेको छैन । सामान्यतः दुई उम्मेदवार छन्, रामसिंह यादव र राजेन्द्र महतो । कोही पनि हेभीवेट होइनन्, उनीहरु दुवै अण्डरवेट हुन् ।

तर, राजेन्द्र महतो पनि त त्यतिकै यहाँ आएका त होइनन् होला नि ?

अध्यक्ष हुँदैमा हेभीवेट हुन्छ भन्ने छैन । उहाँले बाटो बिराएर आउनुभएको छ । उहाँले गल्ती गर्नुभएको छ । उहाँको चुनाव प्रचार अभियान मेरोविरुद्ध केन्द्रित छ । यही एउटा प्रमाण हो, यो क्षेत्रप्रति उहाँको कुनै जिम्मेवारी छैन, माया छैन, यसको विकास गर्ने गरी आएको होइन ।

तर उहाँले त हम भागेवाला नही छी, भगावेवाला छी भन्दै हुनुहुन्छ नि ?

त्यही त । उहाँ आउनुभएको छ, मलाई भगाउनका लागि । उहाँको उद्देश्य मलाई भगाउनु हो । मेरो उद्देश्य जनताको सेवा गर्नु हो । मैले राजर्षी जनक विश्वविद्यालय स्थापना गरेँ । जनकपुरसम्म ६ लेनको सडक बनाउन शुरु गरेँ । यो जनकपुरलाई प्रदेशको राजधानी बनाउनु छ । मेरो उद्देश्य जनकपुरको विकास गर्नु छ । उहाँको उद्देश्य मलाई भगाउनु छ । उहाँले यहाँका मतदातालाई स्कूल बनाउने, बाटो बनाउने, विश्वविद्यालय बनाउने कुरा त गर्नुभएको छैन ।

तर, उहाँले मधेसी जनतालाई अधिकार दिलाउँछु भन्नुभएको छ होइन र ?

केको अधिकार दिलाउनुहुन्छ ? कसलाई अधिकार दिलाउनुभयो ? सोध्नुस् न । कतिपटक जेल जानुभयो ? राजनीतिक गरेको कति भयो ? बकवास कुरा गरेर हुदैन । उहाँ मधेसीका लागि लड्नुभएको छैन, आफ्ना लागि लड्नुभएको छ ।

तर, धनुषा ३ मा कस्तो देखियो भने उता काठमाडौंबाट हेर्दा तपाई मधेशवादीजस्तो देखिने, यता आउँदा तपाईलाई एक नम्बर मधेशविरोधी भनिएको छ, मधेशीको टाउकोमा गोली हान्ने विमलेन्द्र निधि नै हो भनिँदोरहेछ नि ? तपाईंलाई चेपुवामा परेजस्तो लाग्दैन ?

हो । म त्यही त भन्दैछु । यो कुरा तपाई लेख्दिनुस् । मैले त पहाडबाट पनि गाली खाएँ । राजविराज घटना केपी ओली र राजेन्द्र महतो मिलेर गराएको हो । गोली चलाउने आदेश मैले दिएको थिइनँ । म त्योबेला कैलालीमा थिएँ ।

गोली चलाउने आदेश कसले दिएको हो भनेर मैले सोधेँ । मैले त्यतिबेलै ती मान्छेलाई कारवाही गरेको छु । मृतकहरुलाई शहीद घोषणा गरेको छु, घाइतेको उपचार गराएको छ । त्यहाँ त मधेसवादीहरुको आन्दोलन पनि थिएन, एमालेको मेची महाकाली जागरण अभियान थियो । तर, उनीहरुले एकाएक अतिवादी घुसाएर दुर्घटना गराउन लगाएको हो । आन्दोलन त अरु ठाउँमा भएको थियो । राजविराज घटनालाई लिएर मैले मधेसी मारेको भन्ने आरोप लगाउने राजेन्द्र महतोले नै त्यो हत्या गराएको हो ।

जहाँसम्म म मधेसवादी कि बिरोधी भन्ने कुरा छ, मैले संविधान बनाउन लाग्दा मधेसको एजेण्डालाई राजनीतिक एजेण्डामा समाहित गरेको छु । संविधानमा संघीयताका लागि सीमाना चाहिन्छ भन्ने म हुँ । सीमांकन त उपेन्द्र, राजेन्द्र महतोहरुले छाडिसक्नुभएको थियो । मैले नै सीमांकनसहितको संघीयता दिलाएको हुँ ।

अहिले आएर राजेन्द्र महतोलाई तपाईहरु भाउ दिइरहनुभएको छ । एउटा पार्टीको अध्यक्ष हुँदैमा हेभीवेट हुन्छ र ? सीपी मैनाली पनि अध्यक्ष हो । तपाईहरु पनि अतिरञ्जित विशेषण प्रयोग गर्नुहुन्छ, पत्रकारहरुमाथि मेरो आरोप छ ।

तर, हिजो केपी ओलीमाथि लाग्ने आरोप त आज मधेशमा तपाईंमाथि लागिरहेको देखियो नि ? यसले तपाईलाई चुनावमा अप्ठ्यारो पार्दैन ?

यही प्रमाण हो, केपी ओली र राजेन्द्र महतोको साँठगाँठ छ । त्यसैले त मैले भनेको छु, राजेन्द्र महतोजी केपी ओलीले पठाएर यहाँ आउनुभएको हो । मविरुद्ध चुनाव लड्न केपी ओलीले पठाएको हो । तर, पनि मलाई कुनै चिन्ता छैन । केपीले पठाएर आएको भए पनि, आफैं आएको भए पनि कुनै मतलब छैन । मलाई जनताले माया गरेका छन् ।

एकाएक हिजोको तपाईकै दुश्मन सञ्जय साहले तपाईलाई जेलभित्रैबाट समर्थन गर्नाले जनकपुरमा खैलाबैला मच्चियो नि होइन ?

मेरो दुश्मनी कोहीसँग छैन । उसले (सञ्जय साह) यही क्षेत्रबाट दुईपटक चुनाव जितेको हो । उसको कार्यशैली र मेरो कार्यशैली फरक छ । उसले मलाई समर्थन गर्छ भने म के गरौं ?

सञ्जय साहको अस्ति अन्तर्वार्ता आएको थियो, राजेन्द्र महतोले नै उसलाई समात्न लगाएको हो रे । मलाई राजेन्द्र महतोले केही गरेन । मलाई बरिष्ठ उपाध्यक्षबाट जेलमै रहेका बेला हटाइदियो भनिरहेको छ ।

यस्तो गैरजिम्मेवार नेतालाई हराउन को सक्छन् भनेर पत्रकारले सोध्दा रामसिंह यादवले सक्दैन, बिमलेन्द्र निधिलाई समर्थन गर्छु भनेको छ । अब चुनावका बेला मलाई समर्थन गर्नेलाई समर्थन नगर भनौं म ? चुनावमा समर्थन लिन खोज्नु अपराध होइन ।

ऊ उपराधी हो, होइन भन्ने कुरा अदालतले हेर्ने कुरा हो । उसँग मतदाता, समर्थक छन्, उनीहरुले मलाई समर्थन गरेका छन् यो राम्रो कुरा हो ।

उसोभए सञ्जयलाई काठमाडौंबाट सिराहा जेल सार्नुमा पनि तपाईकै हात हो ?

जेल कहिले कहाँबाट सारियो त्यो मलाई थाहा छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment