Comments Add Comment

संक्रमणकालको त्यो अन्तिम रात !

निर्वाचन सफल बनाउनु दलहरुको प्रतिष्ठासँग जोडिएको विषय हो

२० मंसिर, काठमाडौं । एकदशक लामो राजनीतिक संक्रमणकालको आज अन्तिम रात हो । भोलि बिहानको उज्यालोसँगै ४५ जिल्लाका १ करोड २२ लाख ३५ हजार ९ सय ९० मतदाताहरु निर्वाचनमा सहभागी हुनेछन् र देशले नयाँ संविधान अनुसार नयाँ संसद र नयाँ सरकार प्राप्त गर्ने बाटो खुल्नेछ ।

मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा मतदान सम्पन्न भइसकेको छ । भोलि बिहान ४५ जिल्लामा मतदान भएपछि अबको ५ वर्षसम्म देशमा चुनावी भाउँतो सकिने छ र मुलुकले राजनीतिक स्थायित्व पाउने अपेक्षा आम मतदाताहरुको छ । यस अर्थमा आजको रातलाई नेपाली राजनीतिक आकाशमा संक्रमणकालको अन्तिम रात मान्न सकिन्छ ।

निर्वाचन आयोगले दिएको समयसीमाका आधारमा के भन्न सकिन्छ भने मंसिर महिना सकिँदासम्म देशले केन्द्र र प्रदेशका जनप्रतिनिधिहरु पाइसक्नेछ

भोलि साँझसम्म मतदान कार्य जारी रहनेछ । सम्भवतः ५ बजिसकेपछि गोरखा, सिन्धुलाल्चोक, नुवाकोटलगायत पहिलो चरणमा चुनाव सम्पन्न भएका जिल्लाका मतपेटिकाहरु खोलिनेछन् । र, मतगणना सुरु हुनेछ ।

निर्वाचन आयोगले ४ दिनभित्र सबै अर्थात् १६५ क्षेत्रकै प्रतिनिधिसभाको मतगणना सकिनेछ र नतिजा आउनेछ । त्यससँगै प्रदेशसभाको पनि प्रत्यक्षतर्फको नतिजा ४ दिनमा आइसक्नेछ ।

समानुपातिकतर्फको नतिजा ८ दिनभित्र आइसक्ने निर्वाचन आयोगले बताएको छ ।

निर्वाचन आयोगले दिएको समयसीमाका आधारमा के भन्न सकिन्छ भने मंसिर महिना सकिँदासम्म देशले केन्द्र र प्रदेशका जनप्रतिनिधिहरु पाइसक्नेछ । मुलुकले स्थानीय तहका जनप्रतिनिधि पाइसक्नेछ ।

आउँदो पुस महिनामा नयाँ प्रधानमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति, मुख्यमन्त्री र प्रदेश सरकारहरु बनिसक्नेछन् ।

निर्वाचन निश्पक्षरुपमा सफल बनाउनु राजनीतिक दलहरुको इज्यत र प्रतिष्ठासँग जोडिएको विषय हो

संविधानले तोकेका यी संरचनाहरुको निर्माण भइसकेपछि राजनीतिक संक्रमणकाल विधिवतरुपमा सकिनेछ । र, यसको मुख्य जग भोलि हुन लागेको दोस्रो चरणको आम निर्वाचन नै हो ।

दलहरुको प्रतिष्ठामाथि प्रश्न

निर्वाचन लोकतन्त्रको धमनी हो । त्यसैले लोकतन्त्रको स्पन्दनका लागि निर्वाचनत निश्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण हुनुपर्छ ।
चुनाव निश्पक्ष र स्वतन्त्ररुपमा भएन भने राजनीतिक दलहरु र निर्वाचन गराउने निकायमाथि शंसय एवं प्रश्नहरु पैदा हुन सक्छन् । र, यसबाट जनतामा राजनीतिक दल अनि व्यवस्थाप्रति नै नैराश्यता उत्पन्न हुन सक्छ । अनि चुनावमा भाग लिने मतदाताहरुको संख्यामा समेत कमी आउन सक्छ । त्यसैले निर्वाचन निश्पक्षरुपमा सफल बनाउनु राजनीतिक दलहरुको इज्यत र प्रतिष्ठासँग जोडिएको विषय हो ।

चुनावमा आफूले जसरी पनि जित्नैपर्ने ढिपी कसैले पनि गर्नु हुँदैन । अब कसले जित्ने र कसले हार्ने भन्नेकुरा मतदाताकै जिम्मामा छाडिदिनुपर्छ र उम्मेदवारहरुले धैर्यतापूर्वक मतदाताको निर्णयलाई पर्खनुपर्छ, उनीहरुलाई भयरहित वातावरणमा मतदान गर्ने वातावरण निर्माण गरिदिनु राजनीतिक दल र तिनका उम्मेदवारहरुको दायित्व हो ।

त्यसैले संक्रमणकालको विधिवत रुपमै अन्त्य हुन लागेको यस घडीका सबैले शान्तिपूर्णरुपमा निर्वाचन सफल पार्न लागिपर्नु सरकार, दलहरु, सुरक्षा निकाय अनि आम जनताको पनि दायित्व हो भन्ने हामी सबैले ममन गर्न जरुरी छ ।

मतदानको पूर्वसन्ध्यासम्म आइपुग्दा छिटफुट घटनालाई अपवादमा छाड्ने हो भने खासै ठूला झडपका घटनाहरु भएनन्, यसले प्रमुख दलहरुमा विस्तारै लोकतान्त्रिक संस्कार विकास हुन थालेको सकारात्मक संकेत गरेको छ

अहिले भइरहेको निर्वाचन सामान्य चुनाव नभएर नेपालको युग परिवर्तनको कोसेढुंगा भएकाले यसलाई यसैगरी असामान्य परिघटना र अवसरका रुपमा सदुपयोग गर्न जरुरी छ ।

सरकारले तोकिएको समयमा चुनाव गराउन चाहिरहेको छैन कि भन्ने आम मानिसहरुमा शंका हुँदाहुँदै पनि छोटो तयारीमा सरकारले मुलुकमा निर्वाचन गराउने जुन अठोट गर्‍यो, त्यसलाई सकारात्मक रुपमा लिँदै हामी सबैले यसलाई निश्पक्ष र धाँधली रहित बनाउन अबका केही दिन मिहेनत गर्नुपरेको छ । सञ्चार क्षेत्रले समेत यसमा अन्तिम समसयसम्म खबरदारी गर्न आवश्यक देखिन्छ ।

मतदानको पूर्वसन्ध्यासम्म आइपुग्दा छिटफुट घटनालाई अपवादमा छाड्ने हो भने खासै ठूला झडपका घटनाहरु भएनन्, यसले प्रमुख दलहरुमा विस्तारै लोकतान्त्रिक संस्कार विकास हुन थालेको सकारात्मक संकेत गरेको छ ।

तर, विपक्षीलाई गाली गर्ने सवालमा निकै तुच्छ पदावलिहरु प्रयोग भए । यसका साथै भोज भतेर, आर्थिक चलखेल लगायतका अस्वस्थ प्रतिस्पर्धाहरु पनि देखा परे । आगामी दिनमा यस्ता विकृतिहरु कम गराउँदै लैजानुपर्ने हुन्छ ।

अब भोलि मतदान र त्यसपछिको मतगणना अनि विजयोत्सव मनाउने बेलामा पनि झडप र हिंसाका घटनाहरु नहुन् भन्नेतर्फ सबैले सचेतता अपनाउन जरुरी छ ।

चुनावका बेलामा निर्वाचन बहिस्कारको घोषणा गरेको विप्लव समूहले जुन ढंगले वम आतंक मच्चाउने काम गर्‍यो । विप्लव समूहको यस्तो आतंक नभइदिएको भए सम्भवतः अहिलेको निर्वाचन साँच्चैको शान्त र निर्भयपूर्ण हुने थियो ।

यो पनि पढ्नुहोस्

ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन अायोग

निर्वाचन विथोल्न खोज्नेमाथि सेनाले गोली चलाउन सक्छः रक्षामन्त्री प्रधान 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment