Comments Add Comment

दीपक बोहोरा, सुनिल थापा र विक्रम पाण्डे ‘डेन्जर जोन’ मा

राप्रपा प्रजातान्त्रिक पनि राष्ट्रिय पार्टी नबन्ने खतरा

२३ मंसिर, काठमाडौं । यसपालिको निर्वाचनमा नेपाली कांग्रेसलाई भन्दा ठूलो क्षति ऊसँग सहकार्य गरेको राप्रपा प्रजातान्त्रिकले व्यहोर्ने संकेत देखिएको छ । पार्टी अध्यक्ष पशुपतिसमशेर राणा सिन्धुपाल्चोक २ बाट पराजित भइसकेका छन् । अब राप्रपा प्रजातान्त्रिक राष्ट्रिय पार्टी नबन्ने अवस्थातिर उन्मूख भएको छ ।

राप्रपा प्रजातान्त्रिकका नेता सुनील थापा धनकुटामा फराकिलो मतान्तरले पछाडि छन् । त्यहाँ एमालेका राजेन्द्र राईले १९१४४ मत ल्याउँदा राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनीलबहादुर थापाले १२१४३ मत पाएका छन् ।

त्यसैगरी रुपन्देही ३ मा एमालेका घनश्याम भुसालले राप्रपा प्रजातान्त्रिकका दीपक बोहोरालाई पछि पारिरहेका छन् । त्यहाँ एमाले नेता भुसालले १४९९४ मत ल्याउँदा राप्रपा प्रजातान्त्रिकका नेता बोहोराले १३०२२ मत पाएका छन् ।

राप्रपा प्रजातान्त्रिकका अर्का नेता विक्रम पाण्डे चितवनमा प्रचण्डसँग चुनाव लडेका छन् । त्यहाँ पनि उनले अग्रता कायम गर्न सकेका छैनन् । माओवादी अध्यक्ष प्रचण्डले ५३४४ मत ल्याउँदा पाण्डेको पक्षमा ३१६८ मत खसेको छ ।

रोचक पक्ष के छ भने धनकुटा, चितवन र रुपन्देही तीनै ठाउँमा कांग्रेससँग तालमेल गरेर चुनाव लडिरहेका थापा, पाण्डे र बोहोरा तीनै जना ६४ सदस्यीय देउवा सरकारका मन्त्री हुन् ।

राष्ट्रिय पार्टी नबन्ने खतरा

राष्ट्रिय राजनीतिमा प्रभाव राखेर मन्त्री बन्दै आएका राप्रपाका नेताहरुले प्रत्यक्षतर्फको चुनाव जित्न सकेनन् भने यो दल राष्ट्रिय पार्टीको रिङबाट आउट हुनेछ । किनभने, राष्ट्रिय पार्टी बन्ने दलले प्रत्यक्षमा कम्तिमा एक सिट जित्नैपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment