Comments Add Comment

‘मिस नेपाल’का विजेता के भन्छन् ? ताजको इज्जत राख्ने प्रतिवद्धता


बुधबार राती देशका फरक-फरक स्थानबाट आएका २५ जना सुन्दरीले आफ्नो सपनाको प्रतिस्पर्धामा भाग लिए । करिब ७ हप्ता लामो तालिमबाट खारिएका उनीहरु कोहीभन्दा कोही कम थिएनन् । तर, उनीहरुमध्ये ४ जनाको सपनाको ढोका खुलेको छ ।

काठमाडौंको अन्नपूर्ण होटलमा आयोजना भएको ‘मिस नेपाल वर्ल्ड’ को टाइटल श्रृङ्खला खतिवडाले जितिन् । यसैगरी, ‘मिस नेपाल इन्टरनेसनल’ रोनाली अमात्य, ‘मिस नेपाल अर्थ’ प्रिया सिग्देल र मिस नेपाल यूनिभर्स मनिता देवकोटा अब एउटा सामान्य युवतीबाट सेलिव्रेटी बनेका छन् । उनीहरुको जीवन अब बदलिएको छ ।

यी चार सुन्दरी आफूहरुले पाएको ताजको इज्जत र गरिमालाई गिर्न नदिने बताउँछन् । देशलाई विश्वमा चिनाउने उनीहरु चारै जनाको धोको छ । विगतका मिस नेपालहरुको तुलनामा यसपालीका सुन्दरीबाट बढि आशा गर्न सकिन्छ ।

उनीहरु कसरी यो टाइटलको विजेता बने ? अब उनीहरुको योजना के छ ? यो टाइटलको साख राख्नका लागि उनीहरुले के-कस्ता काम गर्छन् होला ? हामीले उनीहरुसँग एकसाथ कुराकानी गरेका छौ ।


सरकारले साथ दिए ताज चाडै नै नेपाल ल्याउँछौः
श्रृङ्खला खतिवडा(मिस नेपाल वर्ल्ड )

मिस नेपाल वल्र्डकी विजेता श्रृङ्खला खतिवडालाई हामीले सोध्यौ, तपाईंले मंगलबार बेलुकी के सपना देख्नुभएको थियो ? जसमा खतिवडाले भनिन्-‘म त निदाएर सपना देख्दिनँ । निदाएर देखिएका सपनाहरुको भर मलाई लाग्दैन ।’

आँखाले देखेको सपना र जिन्दगीको सपनामा के फरक हुने रहेछ ? श्रृङ्खला भन्छिन्-‘आँखाले देखेका सपना सपना मात्र हुन् । तर, जिन्दगीले देखेका सपनाहरुका लागि मिहिनेत गर्नुपर्छ । यो ताज जितौ भन्ने सपना जिन्दगीले देखेको थियो, त्यो पुरा भयो ।’

श्रृङ्खलाले अगाडि थप्दै भनिन्-‘हामी त यो ताज लगाएर सिंगो नेपाली महिलाहरुको प्रतिनिधित्व गर्दैछौ । हरेक महिलाहरुको प्रतिनिधित्व गर्दै हामी विदेशमा जाँदैछौ । हामी त उहाँहरुको प्रतिनिधी पात्र मात्र हौ ।’

तपाई २५ जनाकी सुन्दरी हो कि नेपालकै सुन्दरी ? श्रृङ्खलाले यो प्रश्नमा भनिन्-‘हेर्नुहोस्, २५ जना कसरी छानिए भन्ने मुख्य कुरा हो । हामी देशका विभिन्न ८ स्थानबाट अडिसन दिएर हामी आएका हौ ।’

तपाईंलाई किन आफूले यो टाइटल जिते भन्ने लाग्छ ? खतिवडा भन्छिन्-‘मैले जिन्दगीमा एउटा दायित्व लिएर आएकी हुँ । त्यो दायित्व पुरा गर्ने योग्यता ममा निणर्ायकहरुले देख्नुभएको होला । म आर्किटेकको विद्यार्थी पनि हुँ । म यो क्षेत्रमा काम गर्न चाहन्छु । सायद निणर्ायकलाई मेरो यो कुराले छोयो होला ।’

केही समय अगाडिसम्म कम्यूनिष्टहरुले ‘मिस नेपाल’को विरोध गर्थे, तर अहिले कम्यूनिष्टकी छोरी नै मिस नेपाल हुनुभयो । के कम्यूनिष्टहरु बदलिएका हुन् ?

श्रृङ्खला भन्छिन्-‘म त यसलाई सकारात्मक परिवर्तन मान्छु । मिस नेपाल भनेको बाहिरी सौन्दर्य होइन । मिस नेपालमा आएपछि हामीलाई धेरैले चिन्नुभयो । अहिले समाजका लागि जति कुरामा आवाज उठाउनुपर्ने छ, म त्यो कुरामा आवाज उठाउनेछु ।’

‘मिस नेपाल’का विजेतासँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः

श्रृङ्खलाले मिस नेपालमा आएर के परिवर्तन पाइन् ?

उनी भन्छिन्, ‘म पहिले एउटी सामान्य महिला थिएँ, अहिले नयाँ परिचय पाएकी छु । मिस नेपालले हामीलाई के सिकायो भने, हामी सबैको टाउकोमा ताज छ, मात्र आफूले आफूलाई चिन्न मात्र बाँकी छ । एउटा स्थान दियो, जसलाई संसारले हेर्‍यो ।’

नेपालले अहिलेसम्म कुनै पनि सौन्दर्य प्रतियोगीताको ताज वा टाइटल भित्राउन सकेको छैन । आखिर, यसको कारण के होला ?
मिस नेपाल वल्र्डले भनिन्-‘हामी आफूमा कमजोर भएर यो नजितेका होइनौ ।

नेपाल भन्ने देश नै छायाँमा परेको छ । हाम्रो पासपोर्ट पनि विदेशमा खासै महत्वका साथ हेरिदैन । यस्ता कुराले पनि निकै फरक पार्छ । फेरि, सरकारले पनि हामीलाई खासै ध्यान दिएको छैन । हामी त देशको प्रतिनिधित्व गर्ने राजदुत हौ । यसैले, सरकारले यसमा ध्यान दिएको खण्डमा हामी चाडै नै अन्तर्राष्ट्रिय ताज लिएर आउछौ ।

मिस नेपाल वर्ल्ड की विजेता श्रृङ्खलाको योजना के छ त ?

उनले भनिन्-‘म आर्किटेक्टको विद्यार्थी हुँ । विश्वले नै चिन्ने आर्किटेक्ट बन्ने रहर छ । म राजनीतिको पृष्ठभूमीबाट आए पनि यसमै लाग्छु भन्ने छैन । म राजनीतिको बारेमा जानकार छु । म तटस्थ बसेर हेर्छु । जुन पार्टीले गल्ती गर्छ, त्यसमा औला उठाउनेछु ।’

मैले आफ्नो क्षमता चिनेँ
मनिता देवकोटा (मिस नेपाल यूनिभर्स)

मनिताले मिस नेपालको बारेमा नकारात्मक कुरा धेरै सुनेकी थिइन् । तर, मिस नेपालमा आएर ७ हप्ता तालिम लिएर यो उपाधि जित्दै गर्दा ती कुरा भ्रम मात्र रहेछन् भन्ने वुझेको उनले बताइन् ।

उनले भनिन्-‘हामीले यहाँ आएर तालिम लिएर आफूलाई नयाँ ढंगले अगाडि बढाउँदै गर्दा बल्ल वुझ्यौ कि, मिस नेपाल एउटा यूवतीका लागि कति महत्वपूर्ण छ । हाम्रो सपना पुरा गर्नका लागि यो ढोका निकै महत्वपूर्ण छ ।’

मिस नेपालमा आएर तपाइले आफूमा के भिन्नता पाउनुभयो भन्ने प्रश्नमा मनिता भन्छिन्-‘हामीले यहाँ आएर आफ्नो क्षमता चिन्यौ । आफूलाई कसरी अगाडि लैजानुपर्छ भन्ने थाहा भयो ।’

मनिताको भविष्यको योजना के छ त ? उनले योजना सुनाउँदै भनिन्-‘म मेडिसिनको पृष्ठभूमिबाट आएकी हुँ । मैले मानव अधिकारको बिषयमा पनि काम गरिरहेकी छु । मलाई राजनीतिको बारेमा ज्ञान छ । तर, म राजनीतिमै लाग्नुपर्छ भन्ने ठान्दिनँ ।’

मनिताले आफूले मिस यूनिभर्सका लागि मिहिनेत गर्ने बताइन् । उनले भनिन्-‘मैले अब केही महिना निकै रिसर्च गर्नुछ । मिहिनेत गर्नुछ । जसले गर्दा यो ताज म नेपाल भित्राउन सकुँ ।’

अन्तर्राष्ट्रिय प्रतियोगिता जित्ने क्षमता छ
प्रिया सिग्देल, मिस नेपाल अर्थ

प्रिया सिग्देल मिस नेपाल प्रतियोगिताको अघिल्लो रात निकै ‘इमोसनल’ थिइन् । राति उनी मिस नेपालको तयारीसम्वन्धी पुस्तक छातिमा च्यापेर निदाइन् । र, राति सपना देखिन् त्यही किताब हावामा उडेको ।

‘मिस नेपाल अर्थको उपाधी जितेको भोलीपल्ट त्यो किताबलाई समातेर म्वाई खाएँ,’ उनले सुनाइन् ।  प्रियाले सामाजिक क्षेत्रमा काम गर्न थालेको पाँच वर्ष भयो । विशेषत महिला र बालबालिकाको क्षेत्रमा उनले काम गरिरहेकी छिन् ।

आफ्नो यही अनुभवले पनि मिस नेपाल अर्थको उपाधि जित्न सफल भएको उनी बताउँछिन् । आफूले यो उपाधी जितेपछि समाज सेवाको क्षेत्रमा काम गर्न थप बल पुग्ने उनको विश्वास छ ।

उनले राजनीतिमा लाग्ने सोचेकी छैनन् । तर, राजनीतिका बारेमा जानकार रहेको बताउँछिन् । साथै सबैलाई आग्रह गछिन्, राजनीतिक सबै नागरिकलाई छुने विषय भएकाले यसबारे सबैले जानकारी राख्नुपर्छ ।

मिस नेपालको चर्चा एक वर्ष व्यापक हुने र त्यसपछि बिस्तारै ओझेलमा पर्ने गरेको पाइन्छ । यो ट्रेन्डको विषयमा प्रश्न गर्दा पि्रया भन्छिन्, ‘त्यस्तो होइन, धेरै पूर्व मिस नेपालहरुले धेरै राम्रो काम गरिरहनु भएको छ । तीनको चर्चा नहुनु बेग्लै कुरा हो । हामीले अब परिवर्तनका लागि जीवनभर काम गर्ने हो ।’

मिस नेपालका बारेमा धेरै नकारात्मक चर्चाहरु पनि बाहिर हुने गर्छन् । पि्रयाले पनि यो सुनेकी छिन् । उनी मिस नेपाल प्रतियोगितालाई सँधै फलो गर्थिन् ।

‘जब मैले मिस नेपालमा भाग लिएँ, त्यतिबेला महसुस गरेँ कि बाहिर हुने गरेका नकारात्मक चर्चाहरु सबै बेकार रहेछन्,’ उनी भन्छिन् । तर, मिस नेपालको २३ वर्षको इतिहासमा यो नकारात्मक चर्चा धेरै कम भएको उनी बताउँछिन् ।

मिस नेपालमा भाग लिएयता आफूमा आएको परिवर्तनबारे उनी भन्छिन्, ‘मिस नेपालमा आउनुभन्दा अगाडि म संसार परिवर्तन गर्न चाहन्थे । तर, अब म आफूलाई पनि परिवर्तन गर्न चाहन्छु ।’

उनले नेपाली सुन्दरीहरुले पनि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको उपाधि जित्न सक्ने क्षमता राख्ने बताइन् ।

आफ्नो सोच बदल्न सफल भएँ
रोनाली अमात्य, मिस नेपाल इन्टरनेसनल

मिस नेपाल इन्टरनेसनल रोनाली अमात्य विजनेस म्यानेजमेन्टमा ग्राजुयट हुन् । उनको लक्ष्य सफल विजनेसवुमन बन्ने छ । मिस नेपालमा भाग लिएपछि आफूमा आएको परिवर्तनबारे उनी भन्छिन्, ‘सबैभन्दा महत्वपुर्ण कुरा पञ्चुअल हुन सिके । साथै आफ्नो सोच पनि बदल्न सफल भएकी छु । आवाजमा पावर आएको छ । खानेदेखि हिँड्नेसम्मका कुराहरु हामीलाई सिकाइएको छ । एउटै क्लासरुमभित्र हामीले यति धेरै पर्सनालिटी भेट्यौं । वास्तवमा केके सिक्यौं भनेर लेख्दै जाँदा सकिदैन ।’

मिस नेपालमा विजेताहरु आशातित रुपमा अगाडि बढ्न नसकेको चर्चा हुने गरेको छ । यस विषयमा रोनाली भन्छिन्, ‘हरेकले आफ्नो ठाउँमा काम गरिरहनु भएको छ । काम गरेपछि देखाउनैपर्छ भन्ने जस्तो लाग्दैन । देखाउन गरेको हो कि मनबाट गरेको हो भन्ने कुरा आउँछ ।’
मिस नेपालका विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदा सम्पूर्ण देशवासीको सपोर्ट चाहिने उनी बताउँछिन् ।

‘सबैको सपोर्टबिना आफ्नो देशलाई प्रतिनिधित्व गर्न गाह्रो हून्छ । सपोर्ट भयो भने बढि कन्पिmडेन्ट हुन्छौं । त्यसो भएमा हामीले अन्तर्राष्ट्रिय उपाधि जित्न असम्भव छैन,’ उनले भनिन् ।

रोनालीका मन पर्ने अभिनेता दयाहाङ राई हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment