Comments Add Comment

निजगढ विमानस्थलः तुरुन्तै बन्चरो लिएर जंगल पस्ने होइन

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रुख कटानलाई लिएर बहस सुरु भएको छ । आवश्यकताभन्दा बढी रुख मास्न खोजिएको भन्दै केहीले विरोध गरेका छन् भने पर्यटन मन्त्रालय र सम्बद्ध निकायले बचाउ गरेका छन् । यसबारे स्पष्टीकरण दिन नागरिक उड्डयन प्राधिकरणले शनिबार गरेको कार्यक्रममा प्राधिकरणका महानिर्देशक गौतमले राखेको विचारको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । निजगढ विमानस्थलबारे अगामी श्रृंखलाहरुमा अरु विचारलाई पनि समेट्ने छौं-सम्पादक  

नेपालमा हवाई यात्रुहरु निरन्तर बढ्दै गएका छन् । नेपालीहरुको क्रयशक्ति बढ्दै जाँदा विदेश घुम्न जानेहरु धेरै छन् । नेपाल आउने पर्यटक पनि बढिरहेका छन् । हवाई यात्रुको वृद्धिदर पछिल्लो १० वर्षमा औषत ९ प्रतिशत छ । तर, गत वर्ष वृद्धिदर ३३ प्रतिशत पुगेको छ ।

देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलले ४० लाख अन्तर्राष्ट्रिय र ३५ लाख आन्तरिक हवाई यात्रु धानिरहेको छ । यस विमानस्थलको क्षमता लगभग उच्चतम बिन्दुमा पुगेको छ । त्यसैले नयाँ एयरलाइन्सलाई काठमाडौं आउने अनुमति दिन अब सजिलो छैन ।

भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०१९ मा सञ्चालनमा आउने लक्ष्य छ । त्यसैगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२१ को जुलाईमा चलाइसक्ने भनेका छौं । भैरहवा विमानस्थल बनेपछि त्यसले वर्षमा १० लाख र पोखरा विमानस्थलले ५ लाख यात्रु थेग्न सक्छ । तर, दुवै क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल मात्रै हुन् । पूर्णरुपमा अन्तर्राष्ट्रिय विमानस्थल हैनन् ।

अब कुरा आउँछ निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको । धेरै अघिदेखि यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा चर्चामा छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा यसलाई प्रस्तुत गरिएको हो ।

नेपालको भौगोलिक बनोटको आधारमा अन्तर्राष्ट्रिय विमानस्थलका लागि विभिन्न स्थानहरुको अध्ययन गरेर यसलाई छनोट गरिएको थियो । यो विमानस्थलका लागि धेरै रुख कटान गर्नुपर्ने अवस्थामा यसले वातावरणमा असर पुर्‍याउन सक्ने टिप्पणीहरु सञ्चारमाध्यममा आइरहेका छन् ।

काठमाडौंमा जतिसुकै खर्च गरेपनि वार्षिक १ करोड प्यासेन्जर ह्याण्डल गर्न सकिने अवस्था छैन । भैरहवा र पोखरामा बनिरहेको विमानस्थलमा पनि ‘फूल फ्लेज’ रुपमा समानान्तर ३-४ वटा रन-वे बनाउन नसकिने अवस्था छ । यो जटिलताबीच निजगढमा बन्ने विमानस्थल आईकाओको ‘क्याटेगोरी फोर एफ’ अन्तरगत फूल फ्लेजमा बनाएर ट्रान्जिट हवका रुपमा पनि प्रयोग गर्न सकिन्छ

नेपिको नामक कम्पनीले सन् ११९५ मा वैकल्पिक विमानस्थलबारे अध्ययन गरेको थियो, जसमा सम्भाब्य ८ वटा स्थानहरु पहिचान भएका थिए । ८ स्थानमध्ये जग्गाको विशेषता, टेरेन फिचर्स, रन-वे ओरियन्टेसन, डिस्ट्यान्स फ्रम द वाइल्डलाइफ सेन्चुरी, मुख्य शहरसँगको दूरी, विस्थापित हुनेको पुनःस्थापना लगायतका आधारमा निजगढलाई छनोट गरिएको थियो ।

निजगढमा विमानस्थल बनाउने घोषणा गरेको नै २३ वर्ष बितिसक्यो । लामो समयसम्म कागजमै सीमित रह्यो । २०६६ सालको फागुन १३ गते बल्ल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ल्याण्डमार्क वर्ल्डवाइडबीच निजगढ विमानस्थलको विस्तृत सम्भाब्यता अध्ययन गर्ने सम्झौता भयो । १८ श्रावण २०६८ मा मन्त्रालयसमक्ष सम्भाब्यता अध्ययनको अन्तिम प्रतिवेदन पेश भयो, जुन ११ भाग र ४ वटा अनुसूचीमा विभाजित छ ।

२०७१ चैत २९ को मन्त्रिपरिषद् बैठकले निर्णय गरेबमोजिम चार किल्ला निर्धारण गरिएको छ । उत्तरतर्फ महेन्द्र राजमार्गको पसाह खोलादेखि बकैया नदीसम्म, पूर्वतर्फ बकैया नदीको पुलबाट नदी हुँदै ८ किलोमिटर दक्षिणसम्म, पश्चिमतर्फ राजमार्गको पसाह खोलाको पुलबाट खोला हुँदै ६ किलोमिटर दक्षिण सिमांकन तोकिएको छ ।

यो विमानस्थलको विरोध गर्नुअघि बुझ्नुपर्ने केही तथ्यहरु छन् । काठमाडौंको त्रिभुवन विमानस्थल रहेको स्थानको भौगोलिक अवस्था जटिल छ । यो विमानस्थल शहरको बीचमा छ । यसमा समानान्तर रन-वे बनाउन सकिँदैन ।

यी सबै कारणले गर्दा हामीले काठमाडौंमा जतिसुकै खर्च गरेपनि वार्षिक १ करोड प्यासेन्जर ह्याण्डल गर्न सकिने अवस्था छैन । यो हाम्रो बाध्यता हो । भैरहवा र पोखरामा बनिरहेको विमानस्थलमा पनि ‘फूल फ्लेज’ रुपमा समानान्तर ३-४ वटा रन-वे बनाउन नसकिने अवस्था छ ।

यो जटिलताबीच निजगढमा बन्ने विमानस्थल आईकाओको ‘क्याटेगोरी फोर एफ’ अन्तरगत फूल फ्लेजमा बनाएर ट्रान्जिट हवका रुपमा पनि प्रयोग गर्न सकिन्छ । निजगढ विमानस्थलमा एयरबस ३८० सम्मका ठूला विमान अवतरण गर्न सकिन्छ । यहाँ अन्तर्राष्ट्रिय विमानहरु ट्रान्जिट गर्न सकिन्छ । यसले यहाँ पर्यटन र रोजगारीको सम्भावनालाई बढाउँछ ।

त्यसैअनुसार हामीले योजना बनाएका हौं । ट्राफिक रुटलाई पनि व्यवस्थापन गर्न योभन्दा उपयुक्त स्थान हामीसँग थिएन । हामीले यसलाई ट्रान्जिट विमानस्थलका रुपमा पनि विकास गरेर देशको समृद्धिसँग जोड्न चाहेका छौं ।

अहिलेको सन्दर्भमा एसिया प्यासेफिक क्षेत्र विश्वकै सबैभन्दा उच्च दरमा हवाई यात्रु वृद्धि गरिरहेको बजार हो । अहिले विश्वभर ४.१ अर्ब हवाई यात्रुमध्ये १.५ अर्ब यात्रु एसिया प्यासेफिक क्षेत्रमा यात्रा गर्दैछन् ।

एसिया प्यासेफिक भन्नाले अफगानिस्तान र पाकिस्तानबाट पूर्वी क्षेत्र मात्रै हो । यसमा मध्यपूर्वको गणना हुँदैन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले विभिन्न क्षेत्रहरु छुट्याएको छ, जसमा एसिया प्यासेफिक रिजन भनेर पाकिस्तान र अफगानिस्तानको पूर्वी क्षेत्रलाई मात्रै राखेको छ ।

आर्थिक विकासका लागि आवश्यक पर्ने कार्गो परिवहनको लागि समेत निजगढ विमानस्थल आवश्यक छ । संघीय शासन प्रणाली र विकेन्द्रीकरणको दृष्टिकोणले समेत निजगढमा बन्ने एयपोर्टको महत्व छ । यो विमानस्थल बने सिंगो देशको आर्थिक विकासको आधार बन्न सक्छ

आगामी १८ वर्ष अर्थात् सन् २०३५ सम्म ७.८ अर्ब हवाई यात्रुमध्ये ३.५ अर्ब एसिया प्रशान्त क्षेत्रकै हुने अनुमानित तथ्यांक छ । त्यसमध्ये भारत र चीन विश्वकै सबैभन्दा ठूलो बजार हुनेछन् । चीन २०३५ सम्म विश्वकै सबैभन्दा ठूलो बजार बन्ने अध्ययनहरुले देखाइसकेका छन् ।

अब यो वृद्धिदरलाई टेवा दिनका लागि विश्वभर १.१ खर्ब अमेरिकी डलर विमानस्थलसँग सम्बन्धित निर्माण कार्यमा खर्चिनुपर्छ । यो भनेको विमानस्थलको निर्माण मात्रै हैन, एयर नेभिगेशन लगायतका सिस्टमहरुमा हुने खर्च हो । विमानस्थलमा मात्रै २१.७ अर्ब अमेरिकी डलर खर्चिनुपर्ने हुन्छ ।

त्यसैले एसिया प्रशान्त क्षेत्रमा देखिएको सम्भावनालाई हामीले पनि उपयोग गर्नु आवश्यक छ । हाम्रो मुख्य आम्दानीको स्रोत रोजगारी र पर्यटन हो । पर्यटनको विकासको लागि एक्सिसिबिलिटी चाहिन्छ र, भविश्यका लागि जति पर्यटकहरु हामीले प्रक्षेपण गरेका छौं, त्यसका लागि यस्ता एयरपोर्ट आवश्यक छ ।

सन् २०२० मा नै २० लाख पर्यटक ल्याउने लक्ष्यका साथ हामी अघि बढिहरहेका छांै । त्यो अरु वर्षहरुमा अझै बढ्दै जानेछ ।  त्यसलाई धान्न पनि निजगढमा स्तरीय विमानस्थल आवश्यक छ ।

अहिले लामो दूरीमा चल्ने हवाइजहाज हामी त्रिभुवन विमानस्थलमा अवतरण गर्न सक्दैनौं । एयरबस ३३० र बोइङ ७७७-२०० विमान मात्रै हामीले यहाँ ल्याउन सक्छौं ।

आर्थिक विकासका लागि आवश्यक पर्ने कार्गो परिवहनको लागि समेत निजगढ विमानस्थल आवश्यक छ । संघीय शासन प्रणाली र विकेन्द्रीकरणको दृष्टिकोणले समेत निजगढमा बन्ने एयपोर्टको महत्व छ । यो विमानस्थल बने सिंगो देशको आर्थिक विकासको आधार बन्न सक्छ ।

तर, यसमा विविध चुनौती विद्यमान छन् । निजगढ विमानस्थलको निर्माण हुने ९० प्रतिशत क्षेत्र जंगलले घेरिएको छ । विमानस्थल निर्माणका लागि कुनै पनि डेभलपरलाई बोलाउनुभन्दा पहिला त्यो स्थानमा कुनै पनि सामाजिक, वातावरणीय समस्या नहुने सुनिश्चित गर्नुपर्छ । त्यसको साथै त्यहाँ आवश्यक पर्ने न्युनतम पूर्वाधार पनि निर्माण हुनु आवश्यक छ ।

विमानस्थलको बातारणीय प्रभाव मूल्यांकन (ईआईए) हामीले गरिसकेका छौं । वन तथा वातावरण मन्त्रालयबाट जेठ ९ गते यो स्वीकृत पनि भएको छ । मूल्यांकन प्रतिवेदनअनुसार विमानस्थलले ८०४५.७९ हेक्टर क्षेत्रफल ओगट्छ । यो क्षेत्रफलमा ठूला रुख ५ लाख ८५ हजार ९ सय छन् । यसैगरी पोल साइजका रुख १८ लाख ८ सय १ वटा छन् । विमानस्थल बनाउन १ हजार ४ सय ९४ घरपरिवारलाई पुःस्थापना पनि गर्नुपर्नेछ ।

यो क्षेत्रमा ११० बिगाह जमिन अधिग्रहण गर्नुपर्ने हुन्छ । यहाँको चलनचल्तीको मूल्यअनुसार अधिग्रहणको प्रक्रिया थालिसकेका छौं । अहिलेसम्म ५५ बिगाह १२ कठ्ठा जग्गा नागरिक उड्डयन प्राधिकरणको नाममा आइसकेको छ ।

अब प्रथम चरणमा विमानस्थल निर्माणका लागि २५ सय हेक्टर जंगल क्लियर गर्ने प्रक्रिया अघि बढाइएको छ । त्यसबाट प्राप्त हुने काठहरु र स्रोतहरुलाई राष्ट्रिय धनका रुपमा उपयोग गर्नका लागि नेपाल आर्मीसँग एमओयू गरेका छौं । एमओयूमा विमानस्थलको वरिपरी बाटो निर्माण र रुख कटानको जिम्मेवारी सेनालाई दिइने उल्लेख छ । २०७४ को साउन १९ गते एमओयू भएको हो ।

वनजंगल, पानीको बहाव लगायतका पक्षमा जुन किसिमको विनासको सम्भावना देखाएको छ, त्यसको वैकल्पिक संरक्षण योजना नबनाई रुख काट्दैनौं । हामीले प्रस्ताव गरेको पहिलो चरणको बिमानस्थल निर्माणको योजना अनुसार क्लियर हुनुपर्ने क्षेत्र २५९३.९५ हेक्टर मात्रै हो । यसका लागि १ लाख ९४ हजार ठूला रुख काट्नुपर्छ । पोल साइजका ५ लाख ६९ हजार मात्रै काट्ने हो ।

हामीले रेन वे ३६००×६० मिटर र ३६००×४५ मिटर बनाउने हो । पहिलो चरणमा कस्तो विमानस्थल बनाउने भनेर हामीले खाका तयार गरिसकेका छौं । विमानस्थल बनाउँदा कटानमा पर्ने एउटा रुख बराबर २५ वटा रोप्छौं । हामी यसमा प्रतिवद्ध छौं । स्पष्ट योजना र बजेट नभई हामी जंगलमा पस्दैनौं ।

अन्तर्राष्ट्रिय तथ्य पनि यहाँ जान्न जरुरी छ । अमेरिकामा एउटा रुख काट्दा ६ वटा रुख रोप्ने व्यवस्था छ । भारतमा काटिएका रुखको राजश्वलाई एकै ठाउँमा राखेर त्यसलाई आवश्यक स्थानमा वृक्षरोपणमा खर्च गर्ने व्यवस्था छ । हामी एउटा रुखको सट्टामा २५ वटा रुख हुर्काउँछौं । संसारमा धेरै रुख काट्ने भनेको कागज उद्योगले हो । उनीहरु एउटा रुख काट्दा १० वटा रुख रोप्छन् । हामी २५ वटा रोप्दैछौं ।

अब विश्वका केही अन्तर्राष्ट्रिय विमानस्थलबारे कुरा गरौं । साउदीमा सबैभन्दा ठूलो विमानस्थल छ । यो ७ सय ८० स्क्वायर किलोमिटरमा फैलिएको छ ।  त्यहाँ अरु थुप्रै ठूला विमानस्थलहरु छन् ।

हामी एउटा रुखको सट्टामा २५ वटा रुख हुर्काउँछौं । संसारमा धेरै रुख काट्ने भनेको कागज उद्योगले हो । उनीहरु एउटा रुख काट्दा १० वटा रुख रोप्छन् । हामी २५ वटा रोप्दैछौं

बेइजिङमा अहिले नयाँ विमानस्थल बन्दैछ । त्यसमा ७ वटा रन-वे छन् । उक्त विमानस्थलका लागि १२.६ बिलियन डलर खर्च गर्दैर्छ चीनले । मुम्बईमा सिंगल रनवेकै विमानस्थलको ह्याण्डलिङबारे चर्चा अहिले सुनिएको छ । तर, थाहा पाउनुपर्ने कुरा के हो भने मुम्बईको नाभीमा पनि अर्को विमानस्थल बन्दैछ, जुन २०१९ मा तयार भइसक्छ । पहिलो फेजमा १ करोड यात्रु, दोस्रो फेजमा २ करोड ५० र अन्त्यमा ६ करोड यात्रु ह्याण्डल गर्ने गरी यो बनिरहेको छ । हङकङको विमानस्थल सानो छ । तर, त्यहाँ ६ करोड यात्रु ह्याण्डल भइरहेको छ ।

अहिले हामीलाई धेरै ठूलो विमानस्थल किन चाहियो भन्ने प्रश्न उठेको छ । तर, विमानस्थल भनेको क्षमता विकास भएसँगै बनाउने हो । भएभरको जमिन सबै खाली गर्ने अनि पहिलो चरणमा विमानस्थल बनाउने भन्ने सिद्धान्त विश्वभर छैन । हाम्रो निजगढमा पनि त्यो लागू हुने हैन । हामी पहिलो चरणमा २५ सय हेक्टरमा मात्रै विमानस्थल बनाउँदैछौं ।

अहिले वातावरणको लागि सबैभन्दा धेरै कराउने युरोपियन युनियन हो । २०१३ मा युरोपियन युनियनले वातावरण विनास अत्यधिक गर्ने देशले यूनियनलाई क्षतिपूर्ति तिर्नुपर्ने प्रस्ताव ल्याएको थियो । त्यतिबेला एसिया प्रशान्त क्षेत्र, अफ्रिकाका दुई क्षेत्र र दक्षिण अमेरिकी क्षेत्रले विरोध गरेपछि त्यो प्रस्ताव तुहियो । २०१६ मा त्यो प्रस्ताव पास भएको छ । र, यसमा २०३५ सम्म विमानस्थल बनाउँदा हामी जस्ता मुलुकलाई कुनै पनि भार नलाग्ने भनिएको छ ।

अबको २० वर्षमा विमानस्थल बनाउन विश्वभर ७ खर्ब २१ अर्ब अमेरिकी डलर  खर्च गरिँदैछ । यत्रो रकम खर्च गरिँदा युरोपमा भने एउटै विमानस्थल बनाउनुपर्ने अवस्था छैन । उनीहरुले पहिले नै सेटल गरिसके ।

अबको २० वर्षमा विश्वभर बढ्ने हवाई यात्रुको २० प्रतिशत हिस्सा मात्रै युरोपले सम्हाल्ने हो । बाँकी सबै अन्य क्षेत्रको लागि अवसरका रुपमा छ ।

युरोपमा अहिले दुईवटा मात्रै मेगा प्रोजेक्ट छन्, जसमध्ये एउटा टर्कीको इस्तानबुल हो । त्यहाँ पनि नेपालको जस्तै २५ लाख काटिँदैछन् । यो विश्वकै सबैभन्दा ठूलो विमानस्थल बन्दैछ ।

अहिले हामीले पहिलो चरणमा बनाउन लागेको विमानस्थल भनेको १ करोड ५० लाख यात्रु क्षमताको हो । त्यसका लागि २५ स्क्वायर किलोमिटर क्षेत्र आवश्यक छ । त्यो एरियाका लागि नेपाल सरकारको स्वीकृति अनुसार ईआईएले स्पष्ट रुपमा भनेको छ, वातावरणीय संरक्षणका काम नगरी रुख काट्नै मिल्दैन । हामी जैविक विविधताको संरक्षण, काटिएका रुखको प्रतिस्थापन र स्थानीय क्षेत्रमा सिँचाइ प्रवन्धमा सुनिश्चितता गराएर मात्रै काम गर्छौं ।

अहिले एयर स्पेसको प्रश्न पनि उठेको छ । हामी भारतसँग नयाँ रुटका लागि कुराकानी गरिरहेका छौं । संसारभर कसैैले एयर स्पेस नदिने भन्ने हुँदैन । आईकाओको सदस्य राष्ट्रहरुले एयर स्पेस दिनैपर्छ । हामी इन्ट्री प्वाइन्टबारे छलफल गर्न तत्कालै भारत जाँदैछौं । त्यसैले निजगढका लागि एयर स्पेसको समस्या पर्दैन ।

कुनै पनि विमानस्थल अहिलेको ट्राफिक के छ भन्दा पनि भविष्यमा आउने ट्राफिकको आकलन गरेर बनाइन्छ । विमानस्थल निर्माण गरेपछि विस्तारका लागि आवश्यक पर्ने जग्गाहरु अहिलेदेखि नै जगेर्ना गर्न आवश्यक छ । जग्गा प्राप्त हुनासाथै त्यसमा विनाश गरिहाल्नुपर्छ भन्ने पटक्कै होइन ।

हामी रुख काट्नुअघि नै रुख रोप्ने स्थानको पहिचान गर्छौं । रुख रोप्ने ठाउँको पहिचान नभई रुख काटिँदैन । सरकारले रुख काट्ने निर्णय गर्नासाथै भोलिपल्टै बञ्चरो लिएर जंगल पस्ने होइन ।

हामीलाई सबै प्रक्रिया टुंगिएपछि साइट क्लियर गर्न दुई वर्ष जति लाग्छ । त्यसपछि हामी ५ वर्षभित्र विमानस्थल पूर्ण रुपमा निर्माण गर्ने गरी योजना बनाएका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment