Comments Add Comment

अन्तरीक्षमा चीनको ५ सफलता, जसले बनाउँदैछ महाशक्ति

काठमाडौं । चीनले हालै पृथ्वीबाट नदेखिने चन्द्रमाको सतहमा पहिलोपटक रोबोट अन्तरीक्षयानको सफल अवतरण गराएको छ ।

चिनिया रोबोट यान चांग ए फोर चन्द्रमाको दक्षिणी ध्रुवस्थित एटकेन बेसिनमा उत्रिएको छ । उक्त यानले चन्द्रमाको त्यस सतहका तस्वीर मात्र पठाउने होइन सुक्ष्म परीक्षण पनि गर्नेछ ।

चिनिया मिडियाहरुका अनुसार चन्द्रमामा अवतरित उक्त यानलाई अन्तरीक्ष अनुसन्धानको क्षेत्रमा एउटा कोशेढुंगाको रुपमा रहेको छ ।

चीनको अन्तरीक्ष कार्यक्रमको सुरुवात केवल डेढ दशक अघिमात्र भएको हो । यति छोटो समयमै चीनले यस क्षेत्रमा निकै महत्वपूर्ण सफलता हात पारेको छ ।

सन् २००३ मा चीनले पहिलोपटक अन्तरीक्षमा मानव पठाउन सफल भएको थियो । त्यो सँगै तत्कालीन शोभियत युनियन र अमेरिका पछाडि चीन अन्तरीक्षमा मानिस पठाउने तेश्रो मुलुक बनेको थियो ।

आगामी ५ वर्षका लागि अन्तरीक्ष विज्ञानको क्षेत्रमा चीनले निकै महत्वाकांक्षी लक्ष्य लिएको छ । विश्वको सबैभन्दा ठूलो अन्तरीक्ष दूरविन, सबैभन्दा वजनदार रकेट तथा स्पेस स्टेसन लञ्च गर्ने योजना चीनले बनाइरहेको छ । यी सबै कुरामा सफलता हात लागेमा चीन विश्वको अन्तरीक्ष सुपर पावर बन्नेछ ।

यद्यपि चीनले यसअघि नै अन्तरीक्षको क्षेत्रमा धेरै महत्वपूर्ण सफलता हात पारिसकेको छ । जसमध्ये मुख्य ५ सफलता यस्ता छन्ः

१. चन्द्रमामा सफलता

चांग ए कार्यक्रमको नाम चिनिया धार्मिक मान्यता अन्तरर्गत ती देवीको नाममा राखिएको छ जो किम्बदन्ती अनुसार चन्द्रमामा गएकी थिइन् ।

सन् २००३ मा सुरु भएको अन्तरीक्ष मिसनकै एउटा हिस्सा हो यो । जसको लक्ष्य भनेको सन् २०३६ सम्ममा चन्द्रमामा मानिस उतार्नु हो ।

चीनको चांग ए -४ मिसन निकै कठीन तथा खतरनाक छ । किनकी यसमा अन्तरीक्ष यानलाई चन्द्रमाको त्यस स्थानमा अवतरण गराउनु थियो जो अहिलेसम्म पृथ्वीबाट देखिएको थिएन ।

चन्द्रमाको उक्त भागलाई पृथ्वीसँग सिधा सम्पर्क बनाइराख्नु सजिलो छैन । किनकी चन्द्रमाको वातावरणले नै सम्पर्क टुटाइदिन्छ । त्यस समस्याको समाधानका लागि चीनले पृथ्वी र चन्द्रमाको बीचमा एक विशेष स्याटेलाइट लञ्च गर्यो जसले अन्तरीक्षयान र चांग ए फोरमार्फत सम्पर्क कायम राख्न सहयोग गर्दछ ।

चांग ए फोरले चन्द्रमाको सतहको अध्ययन अनुसन्धान गर्नेछ । साथै यसले चन्द्रमाको सतहमा आलू तथा अन्य वनस्पतीका बिउ पनि छर्नेछ । साथै रेशम किराको अण्डामाथि पनि परीक्षण गर्नेछ ।

अहिलेसम्म हामीले पृथ्वीबाट चन्द्रमाको चम्किलो भागमात्र देख्दै आएका छौँ । किनकी चन्द्रमाले आफ्नो अक्षमा घुम्न र पृथ्वीलाई परिक्रमा गर्नका लागि समान समय लगाउने भएकाले सधै एउटै भाग मात्र हामीले देख्न सक्दछौँ ।

२. सबैभन्दा धेरै रकेट लञ्च

सन् २०१८ मा चीनले अन्य देशको तुलनामा अन्तरीक्षमा सबैभन्दा धेरै रकेट लञ्च गर्यो । चीनले गरेका ३९ रकेट लञ्चमा केवल एउटा मात्र असफल भयो । सन् २०१६ मा चीनले २२ वटा रकेट अन्तरीक्षमा लञ्च गरेको थियो । जबकी अमेरिकाले सन् २०१८ मा ३४ वटा र रुसले २० वटा रकेट अन्तरीक्षमा लञ्च गरे । सन् २०१६ मा अमेरिकाले अन्तरीक्ष कार्यक्रमका लागि ३६ अर्ब डलर खर्चेको थियो । जबकी चीनले सन् २०१८ मा जम्मा ५ अर्ब डलर खर्चियो । धेरै भन्दा धेरै स्याटेलाइट लञ्च गर्नका लागि चीनले वजनदार रकेट बनाइरहेको छ, जसलाई पुनः प्रयोग गर्न सकिन्छ । अमेरिकाका कैयन् प्राइभेट कम्पनीहरुले सस्तो मूल्यका रकेटहरु बनाइरहेका छन् । तथापि चीनका प्राइभेट कम्पनीको पहिलो रकेट आफ्नो अभियानमा असफल रह्यो ।

३. स्पेस स्टेशन

चीनले सन् २०११मा स्पेश स्टेशन कार्यक्रमको सुरुवात गर्यो । उक्त अन्तरीक्ष स्टेसन सानो थियो, जहाँ अन्तरीक्ष वैज्ञानिकहरु निकै कम दिनमात्र रहन सक्दथे ।

सन् २०१६ मा उक्त स्पेस स्टेसनले काम गर्न छाड्यो । चीनले गत वर्ष मात्रै उक्त स्पेस स्टेसन द तियांगोंग-१० सँग सम्पर्क विच्छेद भएको पुष्टि गरेको थियो । गत अपि्रलमा उक्त बिग्रिएको स्पेस स्टेसनको फोहोर दक्षिणी प्रशान्त महासागरमा खस्यो ।

चीनको अर्को स्पेस स्टेसन तियांगोंग-२ अहिलेपनि चालू अवस्थामा छ । सन् २०२२ सम्म अन्तरीक्षमा मानव सहितको स्पेस स्टेसन लञ्च गर्ने चीनले योजना बनाएको छ ।

४. स्याटेलाइट प्रतिरोधी मिसाइल परीक्षण

सन् २००७ मा रुस तथा अमेरिकापछि चीन यस्तो देश बन्यो जसले अन्तरीक्षमा कुनैपनि स्याटेलाइट ध्वस्त पार्न सक्छ ।

चीनले एउटा मध्यम रेन्जको मिसाइलको परीक्षण स्याटेलाइट ध्वस्त पार्नका लागि गरेको थियो । उक्त स्याटेलाइन सन् १९९९ मा प्रक्षेपण गरिएको थियो ।

स्याटेलाइट ध्वस्त पार्ने मिसाइलको परीक्षण गरेको खबर आएसँगै अन्तराष्ट्रिय स्तरमा चीनको आलोचना भयो । तत् पश्चात् चीनले आफु अन्तरीक्षमा कुनैपनि खाले सशस्त्रीकरणको विपक्षमा रहेको र हतियारको दौडमा नरहेको प्रष्टिकरण दिएको थियो ।

सन् २०१६ मा चीनले अन्तरीक्षमा फैलिरहेका फोहोरका टुक्राहरुलाई संकलन गर्नसक्ने अलोंग-१ यानको प्रक्षेपण गर्यो । चिनिया अधिकारीहरुका अनुसार यो विश्वकै पहिलो यस्तो स्याटेलाइट हो जसले अन्तरीक्षमा घुमिरहेका फोहोरलाई संकलन गर्दछ र पृथ्वीमा खस्नबाट रोक्दछ ।

नासाका अनुसार अन्तरीक्षमा लाखौँ फोहोरका टुक्रा घुमिरहेका छन् । त्यस्ता फोहोरका टुक्राहरु स्याटेलाइट तथा पृथ्वी दुबैका लागि खतरनाक सावित हुन सक्दछन् ।

तर अन्तराष्ट्रिय स्तरमा एउटा चिन्ता यस्तो पनि गरिँदैछ कि चीनले फोहोर बटुल्ने यस्ता स्याटेलाइट लगायतका प्रविधिको प्रयोग युद्धको समयमा शत्रु राष्ट्रका स्याटेलाइटहरु ध्वस्त गर्न प्रयोग गर्न सक्दछ ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गतवर्ष अमेरिकी सेनालाई छैटौँ शाखाको रुपमा स्पेस फोर्स गठन गरी विकास गर्न आदेश दिएका थिए ।

५.सुरक्षित सञ्चार

जब साइबर स्पेसको कुरा हुन्छ तब सूचनालाई सुरक्षित राख्ने कुरालाई ठूलो चुनौतिको रुपमा लिइन्छ । चीनले यो मामिलामा सन् २०१६ मा एउटा ठूलो सफलता हात पार्यो । चीनले एउटा यस्तो स्याटेलाइट लञ्च गर्यो जसले गोप्य रुपमा निरन्तर सुरक्षित सूचना प्रदान गर्न सक्दछ ।

यसलाई क्वान्टम कम्युनिकेसन पनि भनिन्छ । जसमा दुई पक्षले गोप्य सूचनाहरुको आदानप्रदान गर्न सक्दछन् । अनि त्यसको अरु कसैले भेउ पाउन सक्दैन ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment