Comments Add Comment

राजनारायणको भिडियो फुत्काउन माओवादीका विद्यार्थी नेताको प्रयोग !

१० फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान आयुक्त राजनारायण पाठकले घुस लिएको गोप्य भिडियो फुत्काउन प्रयोग भएका व्यक्ति अखिल क्रान्तिकारीका नेता भएको खुलेको छ ।

गए राति अनलाइनखबरले सार्वजनिक गरेको भिडियोमा देखिएका व्यक्ति रत्नराज्य लक्ष्मी क्याम्पस, काठमाडौंस्थित अखिल क्रान्तिकारी इकाइका पूर्वअध्यक्ष कैलाश मगर भएको खुलेको छ । यसअघि भक्तपुर इञ्जिनियङ कलेजको विवाद मिलाउने सर्तमा ७८ लाख रुपैयाँ घुस लिएको खुलासा भएपछि पाठकले अख्तियारबाट यसैसाता राजीनामा दिइसकेका छन् ।

उनले घुस लिने क्रममा बार्गेनिङ गरेको भिडियो एक खेलाडीले कैद गरेपछि त्यसलाई फुत्काउन क्रान्तिकारी नेता मगर प्रयोग भएका छन् । भिडियोबारे जानकारी पाएपछि तनावमा परेका पाठकले भिडियो जफत गर्नका लागि मगरलाई प्रयोग गरेका थिए ।

त्यसक्रममा मगरले ‘दीपेश’ र माओवादीका ‘बूढा’ भन्ने नाम लिएका छन् ।

यो पनि पढ्नुहोस दीपेशको ‘दूत’ बन्दै राजनारायणका लागि बार्गेनिङ गर्ने माओवादी को हुन् ? (भिडियोसहित)

को हुन् मगर ?

मगरका समकक्षीहरुका अनुसार रामेछाप घर भएका कैलाश पहिले तत्कालीन नेकपा एमाले निकट मगर संगठनसँग आवद्ध थिए । तर, माओवादी शान्ति प्रक्रियामा आएर मूलधारको राजनीतिमा फर्किएपछि उनी पनि त्यतै लागेका थिए ।

त्यसवेलाका अखिल क्रान्तिकारीका अर्का नेता राजेन्द्र बराललगायतले उनलाई माओवादी प्रवेश गराउन अस्वीकार समेत गरेका थिए । त्यसबारे उनले फेसबुकमा समेत लेखेका छन् ।
उनले भनेका छन्, ‘मैले सदस्यता दिन अस्विकार गरेको मान्छे माओवादी अनि समाज सेवाको स्रोत नि !’

तर, माओवादी प्रवेश गरेसँगै उनलाई विद्यार्थी संगठनमा महत्वपूर्ण जिम्मेवारी दिइएको थियो ।

त्यसवेलासम्म उनको जीवनशैली सामान्य थियो । तर, जब विस्तारै हालका उपराष्ट्रपति नन्दकिशोर पुनका पुत्रसमेत रहेका विद्यार्थी नेता दीपेश पुनसँग उनको घनिष्ठता बढ्यो, तब उनको जीवनशैली एकाएक फेरिन थाल्यो ।

त्यसयता उनको दीपेशसँग राम्रो सम्बन्ध रहेको स्रोत बताउँछ । हाल दिपेश पुन र कैलाश मगरको ललितपुरमा क्रसर उद्योगमा पनि लगानी रहेको स्रोत बताउँछ ।

अहिले गरिबी निवारण कोषमा रहेका कैलाशका दाजुले उर्जामन्त्री वर्षमान पुनकी भाञ्जीसँग विवाह गरेका छन् ।

निकटस्थलाई कैलाश भन्छन् – माओवादी हो भनेर ‘रिक्वेस्ट’ गर्न गएँ

पाठकको भिडियो फुत्काउन बिचौलियाको भूमिका खलेको आरोप लागेपछि कैलाशले आफू निकटस्थहरुलाई राजनारायणको भिडियो खिच्ने व्यक्ति माओवादीको हो भन्ने थाहा पाएपछि के रहेछ भनेर बुझ्न मात्रै गएको बताउने गरेका छन् । यद्यपि, उनी औपचारिक रुपमा सञ्चारमाध्यममा बोल्न चाहँदैनन् ।

‘बारम्बार पाठकलाई भिडियो देखाएर ह्यारेस गरेपछि हामीसमक्ष कुरा आइपुगेको थियो’, कैलाशको भनाइलाई उधृत गर्दै स्रोत भन्छ, ‘त्यसैले गएको हो ।’

त्यसो त कैलाशले भिडियो खिच्ने व्यक्तिले पनि राजनारायण पाठकबाट आर्थिक लाभ लिएको दाबी गर्ने गरेका छन् । यसको प्रमाण जुटाउन लागि परेको कैलाशले बताउने गरेका छन् ।

रञ्जित तामाङ भन्छन् – आन्तरिक छानविन हुन्छ

यसैवीच, भ्रष्टाचारीलाई जोगाउन बिचौलियाको भूमिका खेलेको सार्वजनिक भएपछि तत्कालीन अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आफूहरु यस विषयमा गम्भीर रहेको बताएका छन् । उनले यसबारे आन्तरिक छानविन हुने समेत बताएका छन् ।

‘मैले पनि भिडियो हेरेँ, क–कसको संलग्नता कति हो भन्ने विषयलाई तथ्य र प्रमाणले देखाए कारवाही हुन्छ’, उनले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘संगठनमा भएका व्यक्तिले पदीय वा व्यक्तिगतरुपमा होस्, कुनै पनि रुपमा जोडिएको आधार फेला परे कारवाही हुन्छ ।’

भिडियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment