Comments Add Comment

भूकम्पपछिको पुनर्निर्माण : अनुदानको २१ करोड प्राधिकरणमै फिर्ता

२६ फागुन, काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले दिएको अनुदान मध्ये २१ करोडभन्दा बढी रकम फिर्ता आएको छ ।

दोहोरो भुक्तानी लिने देखि स्वेच्छाले फिर्ता गर्नेहरुबाट हालसम्म २१ करोड ४२ लाख ५४ लाख रुपैयाँ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा फिर्ता आएको हो ।

पहिचान भएका लाभग्राहीका नाममा गएको रकम समेत फ्रिज भएर फिर्ता आएको छ । पुनर्निर्माण प्राधिकरणका परियोजना प्रमुख गणेशराज वस्तीका अनुसार पुनर्निर्माण कार्यक्रम शुरुभएयता दोहोरो भुक्तानी लिनेहरुबाट २० करोड ८ लाख ४ हजार रुपैयाँ फिर्ता भएको छ ।

यस्तै स्वेच्छाले फिर्ता गर्नेहरुबाट ७१ लाख ५० हजार रकम प्राधिकरणमा फर्किएको छ भने तोकिएको समयमा भुक्तानी लिन नआएपछि ६३ लाख रुपैयाँ फिर्ता आएको छ ।

सबभन्दा बढी सिन्धुपाल्चोकबाट १४ करोड ४ लाख ५० रुपैयाँ अनुदानको रकम फिर्ता गरिएको छ ।  यस्तै दोलखाबाट २ करोड ६० लाख ५० हजार, नुवाकोटाबाट २ करोड ४ लाख, ललितपुरबाट १ करोड २६ लाख र गोरखाबाट ५९ लाख रुपैयाँ फिर्ता आएको परियोजना प्रमुख वस्तीले अनलाइनखबरलाई जानकारी दिए ।

प्राधिकरणले नक्कली भूकम्प पीडितबाट अनुदानको पैसा फिर्ता गराउन छानविन थालेको थियो ।  त्यसक्रममा दोहोरो भुक्तानी लिएकादेखि स्वेच्छाले नै फिर्ता गर्नेहरुसम्मबाट करोडौं रकम फिर्ता गराइएको छ ।

अन्यत्र घर हुँदाहुँदै र घरमा क्षति नपुगेकाले पनि झुटो विवरण पेश गरेर लाभग्राही बन्ने, दोहोरो भुक्तानी लिनेमाथि छानविन गर्दै आएको प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले बताए । भूकम्पले सबभन्दा बढी प्रभावित १४ जिल्लामा निगरानी बढाइएको उनको भनाइ छ ।

०७२ बैशाख १२ को भूकम्पका कारण ८ लाख भन्दा बढी घर भत्किएका थिए । प्राधिकरणले अनुदान लिन योग्य ८ लाख ८४ हजार ८ सय लाभग्राही पहिचान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment