Comments Add Comment

लभ स्टेसनः बासी कथामा कनीकुथी फिल्म

फिल्म समीक्षा

चालु बर्षले बिट मार्ने तरखर गरिरहँदा सिनेमा हलले धमाधम माया-पिरतीको कथा भनिरहेका छन् । अघिल्लो हप्ता प्रदर्शनमा आएको साँइली, शुभ लभ र यसपाली लभ स्टेसन यसैको सिलसिला हुन् ।

सत्य के भने, माया-पिरती सर्वाधिक विकाउ कन्टेन्ट हुन् । तितो के भने, माया पिरतीका कथामा स्पन्दन भर्ने नेपाली फिल्ममेकर्सको ल्याकत र ताकत माथि सन्देह गर्नुपर्ने हुन्छ ।

हाम्रा फिल्ममेकर्स अक्सर विदेशी फिल्मको कथा पैंचो लिएर छायांकनस्थलमा जाने हिम्मत गर्छन् । आयतित कथा मात्र होइन, संवाद, दृश्य पनि हु-बहु उतार्ने यत्न गर्छन् । नतिजा, फिल्म बिचित्र र बेढंगको बन्न पुग्छ ।

न यसमा आफ्नोपनको मिठास पाइन्छ, न पराईको जस्तो स्तर । फिल्म, ठिमाह बन्छ । यस्तै ठिमाह फिल्म हो, लभ स्टेसन ।

उज्जव घिमिरे कुनै सिकारु निर्देशक होइनन् । सन्तान, जिन्दगानी, किस्मत, छाडीगए पाप लाग्ला, वडा नम्बर-६ जस्ता अनगिन्ती फिल्म निर्देशन गरिसकेका उनीसँग स्क्रिप्ट राइटरको चिनारी पनि छ । उनकै कप्तानीमा निर्माण भएको फिल्म हो, यो ।

प्रदीप खड्का जस्ता जल्दाबल्दा स्टार, जसिता गुरुङ जस्ता चम्किला अभिनेत्री लिएर बनाइएको फिल्मबाट दर्शकले केही अपेक्षा गर्छ नै । तर, यसले दर्शकको अपेक्षा पुरा गर्छ त ?

कस्तो छ कथा ?

कथामा कुनै नविनता छैन । लभ स्टोरी फिल्मको पुरानै कथा र दृश्यहरु यसमा पुनरावृत्ति भएका छन् ।

श्रीमतीले माइत पक्षबाट पाएको अथाह सम्पति आफ्नो हातबाट उम्कने भएपछि एक व्यक्ति (रमेश बुढाथोकी)ले कुनै ग्रामिण वस्तीबाट नवजात शिशुको अपहरण गर्छ । तिनै अपहरित बच्चालाई छोरीको रुपमा हुर्काउँछन् । यसरी पराई छोरीलाई आफ्नो बनाएर हुर्काउनुपर्ने उनीसँग केही बाध्यता छन् ।

अतः छोरीको विवाह गरिदिएर उनलाई पन्छाएपछि आफु सम्पूर्ण सम्पतिको स्वमी हुने दाउपेच रच्छन् । अब मस्त जवान छोरी रानी (जसिता गुरुङ) को अर्जुन (प्रकाश शाह)सँग विवाह गराइदिने तयारी हुन्छ । यहाँसम्म सबैकुरा ठिकठाक छ ।

तर, हुनेवाला दुलहा अर्जुन व्याचलर्स पार्टी मनाउँछन् र एक युवतीसँग मस्ती गरिरहेको अवस्थामा रंगेहात पक्राउ पर्छन् । रानीको मन टुट्छ । उनी यस्ता धोकेवाजसँग जीवन विताउने पक्षमा छैनन् । ठिक यही बेला इन्ट्री हुन्छ, सागर (प्रदीप खड्का) को ।

अब कथामा कस्तो मोड आउँछ ? यसका लागि भने तपाईंले सिनेमा घरमा २ घण्टा धैर्य गर्नुपर्नेछ ।

कहाँ चिप्लियो फिल्म ?

उज्वल घिमिरेले अरु विदेशी फिल्मबाट हु-बहु कथा, प्रसंग, संवाद एवं दृश्यहरु कनीकुथी मिलाएर नेपालीकरण नगरेको भए फिल्म यति बेढंगको, यति बिचित्रको बन्ने थिएन ।

यो फिल्मलाई उनले अरु विदेशी फिल्मबाट दुरुस्त उतार्ने प्रयास गरेका छन्, असफल प्रयास । चल्तीका लभस्टोरी फिल्मबाट आयत गरिएका प्लट र दृश्यहरुलाई समेत राम्ररी खिप्न नसक्दा फिल्म अत्यान्तै नाटकिय एवं बनावटी बनेको छ । सोझै भन्नुपर्दा, निर्देशकिय दृष्टिबाट यो कुनै फिल्मको स्तरमा गनिने फिल्म होइन ।

आयतित कथालाई निर्देशकले इलाम र दार्जिलिङको पृष्टभूमीमा जोडेर दर्शकलाई ‘मुर्गा बनाउने’ यत्न गरेका छन् ।

तर, निर्देशक घिमिरेलाई कतिसम्म हेक्का छैन भने, दार्जिलिङको ठाँट, लवज, शैली केही भिन्न छ । उनका पात्रहरुले बोल्ने जस्तो लवज न दार्जिलिङमा बोलिन्छ, न त्यहाँ उनले देखाए जस्तो रहनससन छ । कम्तिमा एक हप्तामात्र उनले दार्जिलिङको परिवेश नियालेका भए चोरीकै कथामा भएपनि केही आफ्नोपन दिन सक्थे ।

ड्रोन उडाएर इलाम र दार्जिलिङको रहरलाग्दो दृश्य त देखाइएको छ तर जुन जगबाट कथाको उठान हुन्छ, त्यहाँको धरातलिय हावापानी, रहनसहन, बोलीचाली, संस्कृति उपेक्षा नगरिएको भए केही मेहनत आवश्य देखिन्थ्यो ।

पहाडी जिल्ला इलामको गाउँमा दैनिक कामकाजको लागि साइकल प्रयोग हुँदैन । भारतिय नम्बर प्लेटको गाडी सहजै नेपालमा आउजाउ गर्न छुट छैन । ‘इलामै शहर’ गाउँदै चिया टिपेको, घाँस काटेको, साइकलमा चिनी किन्न गएको जस्ता दृश्यहरु अमिल्दो छ ।

सम्पतिको नाममा अनेकन षड्यन्त्र हुने, फर्जी कागजात बनाउने, नक्कली पिता बन्ने, सम्पति हड्प्ने दाउपेचमा नवजात शिशु अपहरित हुने, ‘बर्थ मार्क’कै आधारमा उनको पहिचान हुने बासी कथाले दर्शकमा खास रोमाञ्चकता पैदा गर्दैन । त्यसमाथि यो कथाको तनाबानामा बुनिएका प्रसंग र त्यसमा चक्कर लगाउने पात्रहरु कम्ता अस्वभाविक छैन ।

गोप्य ढंगले षड्यन्त्र गरिरहँदा दोस्रो पात्रको हठात् उपस्थिती हुने, अभिनेता/अभिनेत्री संकटमा परेको बेला दैवी शक्ति प्रकट भए झै कोही रक्षाका लागि आइपुग्ने, कथाको रहस्य खोल्दै लाग्दा गुण्डाहरु आएर विथोलिदिने, बर्षौंदेखि गुमनाम आफ्ना सन्तान अप्रत्यासित आँखा अगाडि आइपुग्दा हर्ष-विभोर हुने जस्ता दृश्यहरु यसै त अपत्यारिलो हुन्छन्, त्यसमाथि स्वभाविक ढंगले प्रस्तुत गर्न नसक्दा अर्को जात्रा बन्छ ।

कम्तीमा उज्वल घिमिरे जत्तिका निर्देशकले यति हचुवाको भरमा फिल्मलाई नबुझेको भए घरेलु दर्शक भड्कने भय कम हुन्थ्यो ।

फिल्मः लभ स्टेसन

निर्देशकः उज्वल घिमिरे

कलाकारः प्रदिप खड्का, जसिता गुरुङआदि

जनराः लभ स्टोरी

अवधिः २ घण्टा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment