Comments Add Comment

सकिन लाग्यो ‘कोड फर चेन्ज’, विद्यार्थीको उत्साहजनक सहभागिता

२२ चैत, काठमाडौं । विज्ञान र प्रविधि क्षेत्रका विद्यार्थीहरुलाई लक्षित गरी सञ्चालन गरिएको दोस्रो चरणको ‘कोड फर चेन्ज’ कार्यक्रम अन्तिम चरणमा पुगेको  छ ।  विज्ञान र प्रविधि पढाई हुने काठमाडौंका १५ कलेजमा सञ्चालन गर्ने तालिकाअनुसार अब पाँच वटा कलेजमा मात्र कार्यक्रम हुन बाँकी छ ।

पाटन संयुक्त क्याम्पसमा अध्ययनरत युवाहरुको संस्था ‘युथ इन सोसियल चेन्ज’ले गरेको कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको संयोजक निराजन क्षेत्रीले जानकारी दिए ।

पाटन संयुक्त क्याम्पसका क्याम्पस प्रमुख योगेन्द्र प्रसाद शाहले विद्यार्थीहरुलाई यो कार्यक्रम निकै नै उपलब्धीमुलक भएको बताए ।  उनले आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई सहयोग गर्दै जाने प्रतिवद्धतासमेत जनाएका छन् ।

‘हाम्रा कलेजका विद्यार्थीहरु पढाइ सँगसँगै यस्ता अतिरिक्त क्रियाकलापहरुमा सक्रिय छन्, र उनीहरुकै पहलमा यस्तो राम्रो कार्यक्रम भैरहेकोमा खुशी लागेको छ’, उनले भने ।

अर्किड इन्टरनेशनल कलेजका प्रिन्सीपल विदुर दाहालले पनि आफ्नो कलेज कार्यक्रमको सहआयोजक हुन पाउँदा र विद्यार्थीहरुले प्रोग्रामिङ सम्बन्धी थप सिक्ने अवसर पाएकोमा खुशी व्यक्त गरे ।

कोड फर चेन्ज कार्यक्रम अन्तर्गत पहिलो दिन वर्कसप र दोस्रो दिन प्रतिस्पर्धा गराइन्छ । प्रत्येक कलेजमा २ दिनसम्म कार्यक्रम हुँदै आएको छ । प्रतिस्पर्धाका आधारमा कार्यक्रममा सहभागी विद्यार्थीमध्येबाट उत्कृष्ठ ३ जनालाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिने कार्यक्रम संयोजक क्षेत्रीले बताए ।

सबै कलेजका गरी एक महिनासम्म हुने कार्यक्रममा १५ कलेजबाट छनोट भएका ५० भन्दा बढी उत्कृष्ट प्रोग्रामरहरुलाई एकैसाथमा राखेर ३ दिनको ‘लाइभ ह्याकाथन’ गराइन्छ ।

त्यहाँबाट पनि उत्कृष्ठ ३ जना छनोट गरी उनीहरुलाई काठमाडौंका प्रतिष्ठित आईटी कम्पनीहरुमा रोजगार तथा ईटर्नशीपको व्यवस्था गरिने आयोजकले जनाएको छ । उत्कृष्ट प्रतियोगीलाई १५ हजार रुपैयाँसम्मको पुरस्कारको पनि व्यवस्था गरिएको क्षेत्रीले जानकारी दिए ।

यस्तै उनीहरुले चाहेको ३० हजार रुपैयाँसम्मको कुनै पनि प्रोग्रामीङ कोर्सको ट्रेनिङ्ग पनि निःशुल्क उपलब्ध गराइने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment