Comments Add Comment

नराखौं भन्दाभन्दै संवैधानिक परिषदको बैठक राखियो : देउवा

हरेक क्षेत्रमा आफ्नो मान्छे राखेको देउवाको आरोप

२८ चैत, पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले उपस्थित हुन नभ्याउने जानकारी दिँदादिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएको भन्दै आपत्ति जनाएका छन् ।

पोखरामा भएको जिल्ला कोषाध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै देउवाले आउन पाउँदिन बैठक नराख्नुस् भन्दाभन्दै पनि बैठक राखिएको भन्दै विरोध जनाए ।

‘संवैधानिक परिषदमा काम परेर म आज आउन सक्दिन भन्दाभन्दै त्यही दिन मिटिङ राखियो,’ परिषद सदस्यसमेत रहेका देउवाले भने, ‘म यसको विरोध गर्छु । हरेक क्षेत्रमा हस्तक्षेप गर्ने काम सरकारले गरेको छ ।’

यसअघिका दुईवटा संवैधानिक परिषदको बैठक प्रमुख प्रतिपक्षी दलका नेता देउवाको उपस्थितिविनै बसेको थियो । उक्त बैठकले संविधानले हालै व्यवस्था गरेको विभिन्न संवैधानिक आयोग र निर्वाचन आयोगका प्रमुखको सिफारिस गरेको थियो । देउवाले ओली सरकारले संवैधानिक आयोगलगायत हरेक क्षेत्रमा आफ्ना मान्छे राख्ने काम गरेको समेत आरोप लगाए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक निकायका नियुक्ति कि निर्विवाद बनाउन सक्नुपर्ने कि प्रतिपक्षीलाई समकक्षीकै व्यवहार गर्नुपर्ने बताए । संवैधानिक परिषदमा समान पावर ब्यालेन्सको व्यवस्था भएको उनको भनाइ थियो ।

‘संवैधानिक परिषदबाटै हामी बाहिर बस्नुपर्ने कुनै आवश्यकता छैन, हुँदैन । त्यसले देशलाई, प्रजातन्त्रलाई ठूलो नोक्सान गर्न सक्छ,’ देउवातिर इंकित गर्दै पौडेलले भने, ‘कम्युनिस्टको नियत नै पक्षपात गर्ने हो । आयोगमा उनीहरुका मान्छे खोजीखोजी हाल्ने, जे भन्यो त्यही मान्ने मान्छे खोजीखोजी हाल्ने, निर्वाचन आयोगमा पनि उसले जे भन्यो त्यही मान्ने मान्छे हाल्ने हो भने यो देशको हालत के हुन्छ ?’

सरकारले एउटा पनि काम गरेन

ओली सरकार गठनको एक वर्षमा एउटा पनि राम्रो काम गर्न नसकेको देउवाले दावी गरेका छन् । ‘दुईतिहाइको यो सरकारले एउटा पनि काम गर्न सकेन,’ देउवाले भने, ‘उल्टो निर्मलाको हत्यारा तथा बलात्कारीलाई सरकारले बचाउने काम गरेको छ । हत्या, हिंसा बढेको बढ्यै छ ।’

नेपाली सेनामाथि पनि ओली सरकारले हस्तक्षेप गरेको भन्दै देउवाले आपत्ति जनाए । ‘संसारमा कहीँ पनि यस्तो हुँदैन । सेना परिचालन गर्ने संयन्त्र हुन्छ । परिषद हुन्छ,’ देउवाले भने ।

नेता कार्यकर्ताले जनतासम्म जाने कांग्रेसले कुनै कार्यक्रम नल्याएको भन्दै गुनासो गरेपछि गरेका देउवाले वैशाखबाटै देशैभर जागरण अभियानमा निक्लने बताए । ‘वैशाखदेखि नै देशभर जागरण अभियानमा निस्कने छौं,’ देउवाले भने ।

कार्यक्रममा बोल्ने अधिकांश बक्ताले पार्टीमा गटबन्दी ब्यस्त रहेको गुनासोलाई समेत देउवाले सम्बोधन गरे । पार्टी गुट उपगुटबाट मुक्त हुनुको विकल्प नभएको उनको भनाइ थियो । ‘बदमासी र पार्टीभित्रै गुटबन्दी गर्नेलाई, चुनावमा हराउन लाग्नेलाई कारबाही हुन्छ ,’ देउवाले भने, ‘यस्तो प्रवृतिले पार्टी बन्दैन, बन्दैन, बन्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment