Comments Add Comment

मेनुकापछि सारेगमपमा आयुष र प्रितमको उडान !

भारतीय टेलिभिजनमा नेपाली प्रतिभाको प्रस्फुटन

४ वैशाख, काठमाडौं । भारतीय टेलिभिजनको इतिहासमा सबैभन्दा पुरानो गायन रियालिटी शो सारेगमपको जुनियर संस्करणमा यतिबेला दुई नेपाली बालकले निकै वाहवाही बटुलिरहेका छन् । टप १४ मा स्थान बनाइसकेका यी दुईमध्ये इटहरी निवासी प्रितम आचार्यलाई उपाधिको दाबेदारका रुपमा हेरिएको छ ।

सारेगमपको मुम्बई अडिसनमा प्रितमले दिएको प्रस्तुतिले तहल्का पिटेको थियो । उनले गाएको ‘सन्देशे आते है’ को निर्णायकहरुले धेरै प्रशंसा गरेका थिए । र, उनलाई काँधमा बोकेका थिए । सो दृष्यलाई सारेगमप लिल च्याम्प्सको प्रोमोमा समावेश गरिएको थियो । त्यसयता हरेक प्रस्तुतिहरुमा प्रितम अब्बल देखिँदै आएका छन् । एउटालाई छोडेर हरेकमा उनले ग्रान्ड जुरीबाट सतप्रतिशत अंक पाएका छन् ।

सिन्धुपाल्चोकका आयुष केसी पनि पछाडि छैनन् । अघिल्लो एपिसोडमा उनले ‘जग घुमिया’ गाउँदा ग्रान्ड जुरीबाट सतप्रतिशत अंकसहित प्रमुख तीन निर्णायकको स्टान्डिङ अभेसन पाएका थिए ।

त्यसो त रियालिटी शोमा जजहरुले गर्ने वाहवाहीले कुनै गायक कति क्षमतावान भन्ने सही परीक्षण नगर्न सक्छ । यस्तो वाहवाही कतिपय सन्दर्भमा रणनीतिक वा नक्कली पनि हुने गरेको पाइन्छ । उनीहरुले नेपालमा आफ्नो कार्यक्रमको प्रभाव र लोकप्रियता बढाउन नेपाली प्रतिस्पर्धीलाई बढ्ता महत्व दिइएको कतिपयको बुझाइ छ ।

प्रितम र आयुष भने वास्तविक प्रशंसा लायक छन् । अन्य प्रतिस्पर्धिसँग तुलना गर्दा उनीहरुको प्रस्तुति कम देखिँदैन । दुवैले नेपाली टोपी ढल्काउँदै गीत गाउँछन्, हिन्दी उच्चारणमा कुनै अशुद्धता नछोडी । त्यसले पनि निर्णायकहरुलाई प्रभावित बनाएको छ ।

सारेगममपले पहिलो चरणमा भिडियो अडिसन लिएको थियो । तीनवटा हिन्दी गीत गाएको भिडियो पठाएपछि आयुष र प्रितम दुबैलाई सिधै दोस्रो लेभलका लागि दिल्ली बोलाइयो । दिल्लीमा अन्य आठजना नेपाली बालबालिकाले प्रतिस्पर्धा गरे पनि लेभल २ बाट आयुष र प्रितम छानिए । त्यसपछि मुम्बईमा भएको कलिङ राउन्ड र मेगा अडिसनमा छानिएर उनीहरु टप ३० मा पुगेका हुन् ।

गत फेबु्रअरी ९ बाट शनिबार र आइतबार राति ९ बजे प्रशारण हुन थालेको सारेगमप लिल च्याम्प्समा अरमान मल्लिक, रिचा शर्मा र सान निर्णायक छन् भने ३० जनाको ग्रान्ड जुरी छ । अरमान, रिचा र सान तीनैजना चर्चित गायक–गायिका हुन् ।

को हुन् प्रितम र आयुष ?

सुनसरीको इटहरी उपमहानगरपालिका ११ वर्षीय प्रितम र भक्तपुरको नयाँ ठिमीमा बस्दै आएका सिन्धुपाल्चोकका १२ वर्षीय आयुष काठमाडौंको सुरसाला म्युजिक एकेडमेमीमा साथी हुन् । प्रितम कक्षा ६ र आयुष कक्षा ७ मा पढ्छन् ।

तीन वर्षअघि नेपाली टेलिभिजनमा प्रशारित सुरशाला जुनियर आइडलमा आयुष पहिलो र प्रितम दोस्रो भएका थिए । त्यसपछि उनीहरुले सुरशालामा प्रशिक्षणको अवसर पाएका हुन् । सुरशाला कै समन्वयमा उनीहरु अहिले सारेगमप प्रतिस्पर्धामा छन् । डिजिटल राउन्ड, नेपाल अडिसन, मेगा अडिसन हुँदै उनीहरु उत्कृष्ट १६ मा छानिएका थिए ।

सामान्य परिवारमा जन्मेका प्रितम बाबुआमाका दोस्रो सन्तान हुन् । उनका दिदी प्रिया, आमा राधिका र बुबा काशीसहित ४ जनाको परिवार छ । उनका बुवा काशी इटहरीस्थित टाटा मोटर्स कम्पनीको सिप्रदी ट्रेडिङमा काम गर्छन् । आमा गृहिणी हुन् । प्रितम इटहरीको विश्व आदर्श एकेडेमीमा पढ्छन् । उनी गायक उदितनारायण झाका ठूला फ्यान हुन् । प्रितमले धेरै वटा गीत रेकर्ड गराइसकेका छन्, कभर गीतहरु पनि गाएका छन् ।

५ वर्षको उमेरदेखि उनले गीत गाउन थालेका थिए । परिवारले उनलाई थप प्रेरित गरे । इटहरीबाट प्रशारण हुने एरिना टेलिभिजनले ३ वर्षअघि प्रशारण गरेको पूर्वाञ्चल स्कुल आइडलमा प्रितम सहभागी भएका थिए । त्यसमा राम्रो प्रतिक्रिया पाए पनि पुरस्कार जित्न सकेनन् । सुरशाला जुनियर आइडलमा फस्ट रनरअप भएपछि उनको गायन चम्किएको हो ।

आयुषको परिवारचाहिँ ०७२ सालको महाभूकम्पपछि सिन्धुपाल्चोकबाट भक्तपुर आएको हो । उनी भक्तपुरको मोर्डन स्कुलमा पढ्छन् ।

रीता र रामकृष्ण केसीका कान्छो सन्तान आयुषका दुई दिदी आयुषा र आयूश्मा पनि संगतिमा रुची राख्छन् । पारिवारिक माहोलले नै उनलाई संगीतमा लाग्न प्रेरित गरेको थियो । आयुषले ३ वर्षको उमेरदेखि गीत गाउन थालेको आमा रीता बताउँछिन् । अमृत क्षेत्री र राज सिग्देलले उनलाई संगीत सिकाएका हुन् ।

आयुषले केही गीत रेकर्ड पनि गराइसकेका छन् । ‘सीमानाका पिल्लरहरु’, ‘पुण्य गरे पुण्य मिल्छ’ जस्ता गीतहरुले यूट्यूवमा राम्रै प्रतिक्रिया पाएका छन् ।

जित्ने सम्भावना कति ?

सारेगमप (सिनियर) को अघिल्लो संस्करणमा नेपालकी दृष्टिविहीन गायिका मेनुका पौडेल सहभागी थिइन् । सुरुमा जजहरुले उनलाई पनि अहिले प्रितमलाई गरिरहेको जस्तै वाहवाही गरेका थिए । तर, भोटिङ राउन्ड सुरु हुनुभन्दा ठिक अगाडि उनलाई टप ११ बाट आउट गरिदिए ।

नेपाल फर्केपछि अनलाइनखबरसँग मेनुकाले भनेकी थिइन्, ‘म राम्रो नगाएर आउट भएकी होइन, ‘फेक न्यूज’को शिकार भएकी हुँ ।’

त्यतिबेला ‘मेनुका पौडेलले भारतसँग नाकाबन्दीको बदला लिने’ भन्नेखालका हेडलाइनहरु फेसबुकमा आएका थिए । त्यसले आफूलाई असर पारेको मेनुकाको भनाई थियो ।

सारेगमपको जज राउन्ड एकदमै ‘फेयर’ हुन्छ भन्न सकिँदैन । मेनुकाको पछिल्लो प्रस्तुति पनि उनलाई अर्को राउन्डमा लैजान नसक्ने गरी कमजोर थिएन । भोटिङ राउन्डमा प्रवेश पाएको भए उपाधिमा उनको दावेदारी बलियो बन्थ्यो, किनकी अनलाइन भोटिङमा नेपालीहरु विश्वस्तरमै अगाडि छन् । यो कुरा बुझेका सारेगमपका आयोजकले सुरुमै उनलाई पन्छाएका हुन् कि भन्ने आशंका कतिपयको छ ।

प्रतिक र आयुष चाहिँ अलि फरक परिस्थितिमा देखिन्छन् । उनीहरुले भोटिङ राउन्डमा पुग्नै लामो यात्रा गर्नुपर्ने छ । अहिले टप १४ को प्रतिस्पर्धा चलिरहेको छ । भोटिङ राउन्ड सम्भतः टप ८ पछि सुरु हुन सक्छ । जीटीभीले यसको आधिकारिक जानकारी दिएको छैन ।

अर्को कुरा, गायन रियालिटी शोहरुमा बिसुद्व गायन कला मात्र हेरिँदैन । प्रतिस्पर्धीको व्यक्तित्व, स्टाइल, अनुशासन, कन्फिडेन्स, धेरै थोक जाँचिन्छ । विजेता भएमा उसले भोली टाइटलको गरिमा कायम राख्न सक्छ भन्नेमा आयोजक ढुक्क हुन चाहन्छन् । प्रितम र आयुष दुवै स्मार्ट छन् र अनुशासित पनि । मुख्यतः सुर–तालमा दुवैको राम्रो पकड छ ।

उनीहरु दुवै भोटिङ राउन्डमा प्रवेश गरे भने नेपालीहरुको भोट बाँडिनेछ । त्यसबाट भारतीय प्रतिस्पर्धीलाई फाइदा पुग्न सक्छ । गायनको हिसाबले चाहिँ उनीहरु दुवै भोटिङ राउन्डमा पुग्ने सम्भावना देखिन्छ । त्यसपछिको यात्रा पब्लिकको हातमा हुन्छ ।

मेनुका पौडेल भन्छिन्ः दुवैलाई टप ३ मा हेर्न चाहन्छु

सारेगमपमा भाग लिइरहेका दुवैभाइ मसित नजिक छन् । उनीहरुसँग अहिले पनि इन्टनरनेटमा नियमित कुरा हुन्छ । उनीहरुले हरेकपटक गीत गाउँदाको अनुभव सेयर गर्छन् ।

मैले उनीहरुको सबै प्रस्तुति हेर्न भ्याएको छैन । जति हेरेकी छु उनीहरुले निकै राम्रो गायन कला प्रस्तुत गरेका छन् । हरेक प्रस्तुतिमा उनीहरु खारिँदै गएजस्तो लाग्छ ।

सारेगमप आफैंमा ठूलो प्लेट फर्म हो । त्यसमा छनोट हुन पनि लाखौंसँग प्रतिस्पर्धा गर्नुपर्छ । त्यसैले त्यहाँ पुग्नु नै ठूलो कुरा हो । अब माथि उक्लने कुरा उनीहरुकै हातमा छ । भोटिङ राउन्ड अघि उनीहरुले जजहरुकै मन जित्नुपर्ने हुन्छ ।

जजहरुले प्रतियोगिको गायन कला मात्रै हेर्छन् भन्ने मलाई लाग्दैन । उनीहरु सबै पक्षको मूल्यांकन गरिरहेका हुन्छन् । आनीबानी, व्यवहार, अनुशासन, गीत गाउँदाको हाउभाउ आदि सबै पक्ष हेरिरहेका हुन्छन् । दुवैलाई मैले यी कुराहरु बताइरहेकी छु । भोटिङ राउन्डमा त उनीहरुलाई सम्पूर्ण नेपालीको सहयोग हुने नै छ । त्यहाँसम्म पुग्ने चुनौति छ ।

म उनीहरुमध्ये को राम्रो भनेर तुलना गर्न चाहन्न । दुवैको गायकी अब्बल छ । सबै प्रकारका गीत गाउन सक्छन् । भर्सटाइल हुनुको पनि रियालिटी शोमा धेरै फाइदा हुन्छ ।

मैले सारेगमपमा भाग लिँदा व्यक्तिगत रुपमा धेरै फाइदा भयो । टप ११ बाट बाहिरिनुपरे पनि धेरै कुरा सिकेँ । भाइहरुलाई म कम्तिमा टप ३ मा पुगेको हेर्न चाहन्छु । यो कठिन त छ, तर असम्भव छैन ।

हटाइए आदित्य नारायण

सारेगामप लिल च्याम्पसको अघिल्लो संस्करण नेपाली गायक उदित नारायणका छोरा आदित्यनारायण होस्ट थिए । यसपाली उनको स्थानमा टीभी अभिनेता रवि दुवेलाई ल्याइएको छ ।

आदित्य सारेगमपमा १२ वर्षदेखि आवद्ध छन् । यसपालिको सिनियर संस्करण उनैले होस्ट गरेका थिए । जुनियर प्रतियोगितामा आयोजकले उनको विकल्प खोजेका छन् ।

अर्को च्यानलको गायन रियालिटी शो राइजिङ स्टारको तेस्रो संस्करणमा आदित्यले दुवेलाई प्रतिस्थापन गरेका छन् । अर्थात्, दुई रियालिटी शोमा उद्घाषक साटफेर भएका छन् । राइजिङ स्टार कलर्स टीभीमा प्रशारण हुन्छ ।

सारेगमपमा टप ३० पछि टप १६ छानिन्छ । त्यसपछि प्रत्येक हप्ता एक–एक प्रतियोगी आउट हुन्छन् । ६ जना फाइनलमा पुग्छन्, जसमा पब्लिक भोटिङ नै निर्णायक हुन्छ ।

भारतीय टेलिभिजनमा नेपाली

भारतीय टेलिभिजनमा आयोजना हुने विभिन्न रियालिटी शोमा नेपालीहरुले भाग लिने क्रम बढेको छ । यसअघि रुपन्देहीकी तेरिया मगरले सन् २०१४ मा जीटीभीको डान्स इन्डिया डान्स लिल मास्टर्स उपाधि र २०१७ मा कलर्स टीभीको ‘झलक दिखला जा’ को उपाधि जितेकी थिइन् ।

कलर्स टीभीको चर्चित रियालिटी शो बिग बोसमा भाग लिएकी नेपालकी निहिता विश्वास चाँडै आउट भइन् । उनी नेपालकाे जेलमा रहेका कुख्यात अपराधी चार्ल्स सोभराजकी प्रेमीका हुन् ।

विदेशी नागरिकले भाग लिन नपाउने भारतको सर्वाधिक चर्चित रियालिटी शो इन्डियन आइडल (सन् २००७) भने दार्जिलिङका नेपालीभाषी प्रशान्त तामाङले जितेका थिए । उनको बिजयमा नेपालीहरुले गरेको रकम संकलन र भोटिङ अभियान निर्णायक बनेको थियो ।

पाँच वर्षीय बालक पनि प्रतिस्पर्धामा

सारेगमप लिल च्याम्प्सको यस संस्करणमा पाँच वर्षका बालक जयस कुमार पनि सहभागी छन् । उनका कारणले पनि कार्यक्रमको टीआरपी बढेको छ ।

जयस फरक–फरक प्रकृतिका गीत रमाइलो तरिकाले गाउँछन् । कार्यक्रममा उनलाई सबैले ‘छोटे भगवान’ भन्ने गरेका छन् । दिल्लीको अमेटी ग्लोवर स्कुलमा कक्षा एकमा पढ्दै गरेको जयस आफ्नो उमेर अनुसार निकै चुल्बुले छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment