
८ वैशाख, जनकपुर । मलेसिया जान लागेका सिराहा नगरपालिकाका मनिष महराले ‘एजेन्ट’लाई ३० हजार रुपैयाँ दिए । रकम दिएको एक बर्ष नाघिसक्दा पनि उनी विदेश जान पाएनन् । न त रकम नै फिर्ता पाए ।
जनकपुरधाम-२५, लोहनाका चनरदीपले पनि विदेश जान भन्दै ‘एजेन्ट’लाई ३० हजार रुपैयाँ बुझाए । तर, उनी पनि अहिलेसम्म विदेश जान पाएका छैनन् ।
महरा र चनरदीपले सबैला नगरपालिका वडा नमबर १३, धनुषाका ‘एजेन्ट’ मनोज मेहतालाई रकम बुझाएका हुन् । पैसा गयो । तर, दुबैले विदेश जान पाएनन् ।
मेहताले मोटो रकम लिने तर विदेश नपठाउने गरेको यी दुईजनासँग मात्रै होइन । उनले ८० जनाभन्दा बढीसँग वैदेशिक रोजगारीका नाममा रकम ठगी गरेको र असुल-उपर गराइदिन भन्दै जनकपुरस्थित सूचना परामर्श केन्द्रमा उजुरी परेको छ । मेहता जनही कम्तिमा ३० हजार रुपैयाँ ठगेर बेपत्ता भएका छन् ।
केन्द्रका संयोजक रामकुमार कर्णले महतोविरुद्व ८० जनाले उजुरी दिएको जानकारी दिए । ‘मेहताले अरु व्यक्तिसँग पनि रकम ठगेको हुन सक्छ’ कर्ण भन्छन् ।
महोत्तरी, भ्रमरपुराका महेन्द्र मण्डल खत्वे (४८) पनि दलालबाट ठगिएका छन् । आठ वर्ष साउदीमा बसेर दुई वर्षअघि नेपाल फर्केका मण्डलले कतारका लागि भन्दै ‘एजेन्ट’लाई एक लाख १० हजार रुपैयाँ दिए । तर, उनी कतार जान पाएका छैनन् । महरा-चनरदीपको जस्तै मण्डलको पनि पैसा फिर्ता भएको छैन ।
‘तीन छोरीको बिहे गर्दा एक लाख ४५ हजार ऋण लाग्यो । छोरीहरूको विहे गर्दा लागेको ऋण तिर्न विदेश जान खोज्दा उनी एजेन्टको चँगुलमा फसे । उनी भन्छन्, ‘एजेन्टले गर्दा ऋणमाथि ऋण थपियो ।’
दलालका झुठैझुठ
दुईपटक दुबई बसेर फर्केका कर्जन्हा-८, सिराहाका जिवछ पासवान (२९) को विदेश अनुभव मीठो छैन । प्रमाणपत्र तहसम्मको अध्ययन गरेका उनले मुस्किलले ३० हजार रुपैयाँ -एक हजार कतारी रियाल) पाउँथे ।
एजेन्टले आफूलाई आकर्षक पारिश्रमिक दिन्छ भनेर फसाएको पासवान बताउँछन् । उनी भन्छन्, ‘ऋण लिएर विदेश गएको थिएँ । तर, दलालले फसाइदियो, तलव समयमा दिएन ।’
थलहाका पुरुषोत्तम पासवान १९ वर्षको उमेरमा पहिलोपटक मलेसिया गएका थिए । त्यहाँ फोहोर सोहोरेर दुई वर्षपछि फर्किए । त्यसपछि उनी साउदी पुगे । तर, एक वर्षमै घर र्फकन बाध्य भएँ । पासवान भन्छन्, ‘दलालले सुपरमार्केटमा काम लगाइदिन्छु भनेको थियो, आलु गोदाममा पारिदियो, एक हजार रियाल तलव भनेकोमा सात सय मात्र पाइयो ।’
त्यसपछि नेपाल आएर उनी कतारका लागि प्रयासरत छन् । तर, जान सकेका छैनन् । एसएलसी पास गरेका उनी अहिले २६ वर्षका भए । पटक-पटक काठमाडौं आउँछन् अनि निराश भएर घर फर्कन्छन् ।

पुरुषोत्तम भन्छन्, ‘एजेन्टले झुलाउँदा झुलाउँदै कर्जा नै ६-७ लाख रुपैयाँ पुगिसक्यो ।’
पासवानद्वयकै गाउँका दिपेन्द्र राउत (३१) दश वर्ष पहिले एक लाख पाँच हजार रुपैँया एजेन्टलाई बुझाएर कतार उडे । त्यसको दुई वर्षपछि ७० हजार तिरेर मलेसिया गए । दुई महिना पहिले साउदी अरबबाट फर्किएका उनी पछिल्लोपटक एक लाख ५० हजार तिरेर विदेशिएका थिए ।
तीन अलग-अलग एजेन्टमार्फत विदेश पुगेका राउतले तीन देशमा काम गर्दाका दुईवटा साझा अनुभव सुनाए, ‘तीनवटै देशमा दलालले भनेजति तलब दिइएन । एउटा कामका लागि भनेर लगे, अर्कै काममा लगाए ।’
अपराध गर्ने एजेन्ट, दोष जति भाग्यलाई
अचम्मलाग्दो के छ भने ठगिनेमध्ये धेरैले एजेन्टलाई होइन, भाग्यलाई दोष दिइरहेका छन् । ‘ठगिएकाहरू भाग्यले साथ दिएन भन्ने गर्छन्’ कर्णले भने, “जान्ने, बुझ्ने व्यक्ति मात्रै न्यायका लागि अगाडि आउने गरेको देखिएको छ ।”
‘एजेन्टले उनीहरूलाई तिम्रै भाग्य नभएर भिसा नआएको हो भनेर कन्भिन्स गर्दो रहेछ’, केन्द्रका एक अधिकारी भन्छन् ।
ठग्ने धेरैजसो आफन्त नै हुन्छन् । कर्णका अनुसार काका, मामा, इष्टमित्र र आफन्तहरुले नै ठगेको पाइएको छ । आफ्नै व्यक्तिले रकम माग्दा सहजताका साथ दिने गरेको र रकम लिएर कुनै काम नगरी रकम समेत फिर्ता नगरेको देखिन्छ ।
उजुरीका चाङ
सूचना परामर्श केन्द्रमा १४ सय ८ वटा उजुरी परेका छन् । पछिल्लो चार वर्षयता वैदेशिक रोजगारीका नाममा ठगिएकाहरुको उजुरी हो यो ।
यसबाहेक काम फरक, कम्पनी फरक, तलव फरक परेर ठगिएकाहरु बढी मात्रामा आउने गरेको केन्द्रले जनाएको छ । यस्तै पासपोर्ट फिर्ता नगरेको र विदेशमा अलपत्र पर्दा उद्वार गराइदिन र कसैको मृत्यु हुँदा शवहरु पनि झिकाइदिन उजुरीहरु आउने गरेको छ केन्द्रमा ।
उजुरी त प्रहरीमा पनि आउँछ वैदेशिक रोजगारसम्बन्धी । तर, वैदेशिक रोजगारसम्बन्धी उजुरीलाई लेनदेनकै उजुरीमा मिसाएर राखिएको छ ।
प्रहरीले वैदेशिक रोजगारीको तथ्यांक व्यवस्थित गरेन, त्यो आफ्नो ठाउँमा होला । तर यस्तो उजुरी आए पनि प्रहरीले केही गर्नै सक्दैन् । किनभने वैदेशिक रोजगार सम्बन्धी आउने उजुरी, गुनासो हेर्ने जिम्मेबारी एक मात्रै श्रम विभागलाई छ ।
‘यहाँ आउने सबै उजुरी हामी विभागमै पठाउँछौं’ धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी रामेश्वर कार्कीले भने, “हामीलाई हेर्ने अधिकारै दिइएको छैन् ।”
पैसा जान्छ, प्रमाण हुँदैन
स्थानीयस्तरमा वैदेशिक रोजगार सम्बन्धी ठगीमा परेकाहरुलाई न्याय दिने निकाय छैन् । जिल्ला प्रशासन कार्यालय, प्रहरी र न्यायीक समिति कसैले यस्तो उजुरी नलिँदा ठगी गर्नेहरुको मनोबल बढ्दै गएको देखिन्छ । ठगिनेहरु प्रहरीमा जाँदा पनि न्याय नपाउँदा सूचना परामर्श केन्द्रमै बढी उजुरी दिने गरेका छन् । यसको कारण छ, सामाजिक मध्यस्थताबाट भएपनि ठगिएको रकम फिर्ता गराउने काम केन्द्रले गरिरहेको छ ।
सानादेखि ठूला रकमको ठगीमा पर्नेहरु छन् । ठूला रकम गुमाएकाहरु काठमाडौंसम्म जान सक्छन, तर ३० देखि ४० हजारको ठगीमा परेकाहरु काठमाडौं धाउनु पुनः त्यत्ति खर्च गर्नुपर्ने भएका कारण काठमाडौं जाँदैनन् । र, केन्द्रमै उजुरी दिने गर्छन् । ‘हामीकहाँ ३० हजारदेखि एक लाख रुपैयाँसम्म ठगीमा परेकाहरुले उजुरी दिएका छन्’ केन्द्रका संयोजक कर्णले भने, “यस्ता केशहरुमा हामी कानुनभन्दा पनि सामाजिक मध्यस्थताको आधारमा मिलाउने काम गरिरहेका छौं ।”

उजुरी दिनेमध्ये अधिकांसको कागजात र प्रमाणहरु केही हुँदैन् । उजुरी दिएकामध्ये ५ देखि ७ प्रतिशतको मात्रै कागजात र प्रमाण रहेको भन्दै उनले तैपनि समाजमै बसेर धेरैको मुद्दा टुँग्याएर रकम फिर्ता दिलाएको बताए ।
केन्द्रमा आएका मध्ये ४ सय ८१ वटा स्थानीयस्तरमा बाँकी श्रम विभाग, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सहयोग लिएर समाधान गरेको कर्ण बताउँछन् । आठ सय ५० वटा उजुरी समाधान हुँदा पीडितको १५ करोड ५ लाख ८६ हजार फिर्ता भएको उनको भनाइ छ ।
सामाजिक मध्यस्थता गर्ने क्रममा बदमासी गर्ने एजेन्टलाई प्रहरीको डर, त्रास देखाइएको र यसमा राजनीतिक दलका नेताहरुले पनि सहयोग गरेको कर्णले बताए ।
भिसा फ्री, मोटो रकम असुली
प्रदेश सरकारले भने वैदेशिक रोजगारीमा पठाउने कम्पनीको टाढा हुँदा एजेन्टहरूको हालीमुहाली चलेको निश्कर्ष निकालेको छ । प्रदेश दुईका सामाजिक विकास मन्त्री नोवलकिशोर साह (सुडी) काठमाडौंसम्म पहुँच नभएका कामदारलाई एजेन्टले सजिलै भ्रममा पारेर ठगी गर्ने गरेको बताउँछन् ।
एजेन्टले पैसा लिएको बिल दिनै खोज्दैन । मागीहाले पनि लाखौं रुपैयाँ लिएर १० हजार रुपैयाँको बिल बनाउने गर्छन् । प्रमाण नै नभएपछि ठगहरूलाई कारवाही गर्न पनि गाह्रो हुन्छ ।
२६ जेठ ०७२ मा सरकारले मलेसिया, कतार, साउदी अरेविया, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन र ओमानमा रोजगारीका लागि जाने कामदारहरुलाई निःशुल्क भिसा तथा टिकटको व्यवस्था गर्यो । प्रदेश दुईका अधिकांश कामदारको रोजाई पनि यिनै ७ देश हुने गरेको छ ।
तर, निःशुल्क भिसा र टिकटमा जानुपर्ने कामदारसँग पनि एजेन्टले मनपरी रकम असुल्ने गरेका छन् । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षण अनुसार निःशुल्क भिसा र टिकटमा जानु पर्ने मध्ये ६६ प्रतिशत भन्दा बढीले एजेन्टलाई पैसा बुझाएका छन् ।
गत जेठमा गरिएको सर्वेक्षण अनुसार निःशुल्क जानुपर्ने मध्ये करिब ३३ प्रतिशतले ५० हजारभन्दा बढी रकम बुझाएका छन् । प्रदेश २ सरकारका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा प्रदेश दुईबाट वैदेशिक रोजगारीमा पठाउने म्यान पावर कम्पनीले अनिवार्य रुपमा प्रदेश शाखा खोल्नैपर्ने व्यवस्था गर्न लागिएको बताउँछन् ।
तस्वीरहरूः शंकर गिरी/अनलाइनखबर
यो पनि पढ्नुहोस् :
प्रतिक्रिया 4