Comments Add Comment

वीरगञ्जमा बसपार्क बन्दै छ कि वीरबलको खिचडी ?

२० वैशाख, वीरगञ्ज । सरोकारवालाले वीरगञ्जमा बसपार्क निर्माणको काम अन्तिम चरणमा पुग्यो भनेको ५ महिना पुगिसकेको छ । तर पनि बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन ।

मंसिर मसान्तभित्र सञ्चालनमा ल्याउने भनिए पनि त्यसो हुन नसकेपछि फागुन मसान्तमा सञ्चालनमा ल्याउने भनियो । फागुन पछिको चैत मात्रै होइन वैशाख वित्न लागिसकेको छ ।

निर्माण अन्तिम चरणमा पुगेको भनी सरोकारवालाले दावी गरेको ५ महिना वितिसक्दा वर्षपार्क सञ्चालनमा आउने कुनै छाँटकाट देखिएको छैन ।

पछिल्लो पटक थप गरिएको म्यादअनुसार बसपार्क गत पुस मसान्तभित्रै निर्माण भइसक्नुपर्ने हो । बसपार्क सञ्चालनमा नआउँदा बाईपास सडकको ट्राफिक व्यवस्था अस्तव्यस्त छ ।

यो पनि पढ्नुहोस वीरगञ्ज बसपार्क सञ्चालन गर्न फेरि अर्को भाका

बसपार्क सञ्चालनमा नआउँदा दिवा सेवाका बस, माइक्रो, टाटा सुमो बाईपास सडकबाट नै छुट्दै आएको छ भने रात्रि सेवाका बस घण्टाघर अगाडी रहेको विपी उद्यानको जग्गाबाट छुट्ने गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक राजकुमार सिंह लिंकरोड, बाईपास र सेकेन्ड वाईपास सडकको ट्राफिक व्यवस्थापन मिल्न बसपार्क सञ्चालन हुनुपर्ने बताउँछन् ।

‘बसपार्क सञ्चालनमा नआएका कारण लिंक रोड, वाईपास र सेकेन्ड बाईपासमा सडकमै सवारी पार्किङ हुने गरेको छ । घण्टाघरसम्म गाडी राखिदिन्छन्,’ उनले भने, ‘बसपार्क सञ्चालनमा आउँदा सडक अलि खुकुलो हुन्छ । एकै रुटबाट जाने आउने हुँदा ट्राफिक व्यवस्थापन सिस्टमेटिक हुन्छ ।’

जर्मन विकास बैंकको १७ करोड ७३ लाख ५० हजार रुपैयाँ ऋण सहयोगमा वीरगञ्ज नगर विकास कोषमार्फत बसपार्कको काम भईरहेको छ ।

साढे ४ विगाहा जग्गामा निर्माणाधीन वर्षपार्क १५ महिनाको कार्य अवधि सहित २०७१ फागुनमा ठेक्का लागेको थियो । निर्माणको जिम्मेवारी आशिष-पप्पु-रोशन जेभीले लिएको छ ।

निर्माणको काम ९८ प्रतिशतको हाराहरीमा सम्पन्न भइपनि सकेको छ । ठेकेदारले निर्माण सम्पन्न भएको भनी वीरगञ्ज महानगरपालिकालाई पत्र पनि पठाइसकेको छ ।

तर, वीरगञ्ज महानगरपलिकाले भने काम सम्पन्न भइनसकेको भन्दै सम्पन्न नभएको भन्दै ‘सम्पन्न भएको प्रमाणपत्र’ दिएको छैन ।

यो पनि पढ्नुहोस वीरगञ्ज बसपार्क निर्माणले गति लियो, मंसिरमै सञ्चालनमा ल्याउने तयारी

पछिल्लो पटक थप गरिएको म्याद पुस मसान्तमा सकिएपछि म्याद थप भने गरिएको छैन । म्याद थप्नतर्फ नलागी सूचना निकालेर बसपार्क ठेक्कामा दिने तयारीमा महानगरपालिका लागेको छ ।

बसपार्क हेर्ने जिम्मा पाएको वीरगञ्ज महानगरपालिकाबाट सेवा निवृत्त बरिष्ठ अधिकृत प्रकाश अमात्य बसपार्क निर्माणको काम लगभग सकिएकोले सञ्चालनसँगै व्यवस्थित रुपमा चलाउन ठेक्कामा दिन सूचना निकाल्ने तयारी भइरहेको बताए ।

किन सर्‍याे फागुन २७ को ‘डेट’

वीरगञ्ज महानगरपालिकाले फागुन २७ गतेतिर नै बसपार्क उद्घाटन गराएर सञ्चालनमा ल्याउने तयारी गरेको थियो । त्यसका लागि नगर प्रमुख विजयकुमार सरावगीले स्थानीय विकास मन्त्री स्तियाक राईसँग समय मिलाउन आग्रह पनि गरेका थिए ।

तर, निर्माण कम्पनीले काम सम्पन्न नगरेपछि त्यसो हुन नसकेको नाम उल्लेख नगर्ने शर्तमा नगरपालिकाका एक कर्मचारी बताउँछन् ।

‘बसपार्कको विल्डिङमा युपीभिसी जस्ता लगाउनुपर्ने थियो । आवश्यक मात्रामा पाईएन भन्दै ठेकेदार पक्षले केही भागमा मात्रै जस्ता लगायो । ‘ उनले भने, ‘मन्त्रीले बसपार्क उद्घाटन गर्ने भएपनि काम पूरा नभकोले त्यसले राम्रो सन्देश दिँदैन भनेर उद्घाटन रोकियो ।’

त्यसपछि चैत १७ गते आएको हावाहुरी र असिनाले पनि बसपार्कमा निर्माण गरिएका यात्रु प्रतिक्षालयका छानो उडाउनुको साथै भवनको सिसा फुटाएको छ ।

निर्माण कम्पनीले १५ देखि २० लाख मूल्य बराबरको क्षति भएको दावी गरेको छ भने वीरगञ्ज महानगरपालिकाका योजना महाशाखाका प्रमुख इन्जिनियर अखलाख सिद्धिकी ५ लाख भन्दा बढी क्षति नभएको दावी गर्छन् ।

उनले ठेकदारले इन्स्योरेन्स कम्पनीले आएर क्षतिको मूल्याङ्कन नगरेसम्म काम अघि नबढाउने बताउनने गरेको बताए ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले पनि चैत १७ गते आएको हावाहुरीका कारण बसपार्कमा क्षति पुगेकोले नै सञ्चालनमा आउन नसकेको बताए ।

‘चैत १७ गते आएको हावाहुरी र असिनाले बसपार्कमा पनि क्षति पुर्‍याएको छ ,’ उनले भने ‘मर्मतको काम चलिरहेको छ । केही दिनमा तयार हुन्छ होला त्यसपछि उद्घाटनको मिति तय गर्छौ ।’

यसअघि उनले अनलाइखबरसँग फागुन १० गते भित्र बसपार्क सञ्चालनमा आउने दावी गरेका थिए ।

निर्माण कम्पनीले महानगरपालिकामा पेश गरेको झण्डै ३ करोडको भुक्तानी बाँकी रहेको रोशन कन्स्ट्रक्सनका कन्स्ट्रक्सन म्यानेजमेन्ट ईन्जिनियर शैलेन्द्र चौधरी बताउँछन् ।

काम सम्पन्न भएपछि मात्रै अब अन्तिम भुक्तानी दिने वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment