Comments Add Comment

हिन्दू अहंकारवाद र क्रिश्चियन साम्राज्यवाद

देशको राजनीति, दर्शन, सिद्धान्त र संस्कृतिको लागि अहिले कैयौं काला बादलहरु मडारिएका छन् । त्यसका दुईवटा खतरनाक रुपहरु देखापरेका छन् । ती हुन्– हिन्दू अहंकारवाद र क्रिश्चियन साम्राज्यवाद ।

बेग्लाबेग्लै पक्षबाट कमल थापा र केपी ओलीले यी दुईवटा रुपको नेतृत्व गरिरहेका छन् । केपी ओलीले एसिया प्यासिफिक सम्मेलनको नाममा क्रिश्चियन साम्राज्यवादलाई परेड खेल्ने मौका प्रदान गरे । कमल थापाले ०६३ सालदेखि निरन्तर हिन्दू अहंकारवादको नेतृत्व गरिरहेका छन् ।

यद्यपि केपी ओलीले कहिलेकाहीं कथित आदित्यधाममा पुगेर नेपाल ऋषिमुनिहरुको देश हो भन्न पनि भ्याएका छन् । कमल थापाले देशव्यापी राजनीतिक कार्यक्रमको आडमा धेरै पटक धार्मिक रथयात्रा गरिसकेका छन् ।

कथित एसिया प्यासिफिक सम्मेलन देशको राष्ट्रियता, सार्वभौमसत्ता र संस्कृतिमाथिको हमला थियो । त्यो त्यति मात्रै थिएन, क्रिश्चियन साम्राज्यवादले नेपाली मौलिक संस्कृतिमाथि गरेको ठूलो हमलालाई राज्यले स्वीकृति प्रदान गरेको थियो । नेपालतर्फ त्यसको नेतृत्व केपी ओली र माधव नेपालले गरेका थिए । ती दुवै कम्युनिष्टको आवरणमा प्रकट भएका थिए र तिनीहरुले क्रिश्चियन साम्राज्यवादको सेवा गरेका थिए । नेपाललाई इशाईकरणको नेतृत्व गरेका एकनाथ ढकाल खुशीले गदगद थिए, नहुने कुरा पनि भएन ।

हिन्दू अहंकारवाद

देशको राजनीतिमा देखिएका अर्का खतरनाक पात्र कमल थापा हुन् । उनले देशमा हिन्दू अहंकारवादलाई निरन्तर प्रश्रय दिएका छन् । कमल थापाले हिन्दू धर्मका गुरुहरु, मन्दिरका पुजारीहरु, हिन्दू ज्योतिषीहरु, विभिन्न धार्मिक संघसंस्थाहरुको सहयोग लिएका छन् । राजावादीहरु कमल थापाले चलाइरहेका गतिविधिहरुमा निरन्तर क्रियाशील रहेका छन् । पूर्वराजा ज्ञानेन्द्रले देशभरका मठमन्दिरमा पूजाआजा गरिरहेका छन् । उनी त्यसरी पूजाआजा गर्न स्वतन्त्र छन्, तर त्यही आडमा दरबारियाहरुले हिन्दू राष्ट्रको माग गर्नु हिन्दू अहंकारवादको खतरनाक रुप हो ।

विमल पोखरेल

नेपालमा हिन्दू राज्य हुनुपर्दछ भन्ने ठूलो तप्का छ । तर, त्यो तप्का राजनीतिकरुपमा सचेत छैन । धर्मको भावनामा बगेर नै उसले हिन्दू राज्यको माग गरिरहेको छ । क्रिश्चियनहरुले निरन्तर धर्म परिवर्तन गराइरहँदा त्यो माग अझै चर्काे बन्दै जानेछ । त्यो अवस्थामा दुई धर्मको टकराव पैदा हुने खतरा रहनेछ ।

हिन्दू अहंकारवादले अन्य धर्महरुको स्वतन्त्र अस्तित्वलाई स्वीकार गर्दैन । तिनीहरुमाथि अहंकारवादी दमन गरेर आफ्नो शासन सञ्चालन गर्न चाहन्छ । तर, बुझ्नुपर्ने कुरा के हो भने देशका सबै धर्माबलम्बीहरुलाई समानता प्राप्त गर्ने अधिकार छ । तिनीहरुमाथि कुनै पनि प्रकारको भेदभाव गर्ने छुट संविधानले दिएको छैन ।

क्रिश्चियन साम्राज्यवाद

नेपालमा धर्म परिवर्तनका गतिविधि क्रिश्चियनहरुले गरेका छन् । धादिङका चेपाङ बस्ती, दाङका थारु बस्ती, पूर्वी पहाडका राई, लिम्बु बस्ती र अन्य धेरै दलित बस्तीमा उनीहरुले तीब्र गतिमा धर्म परिवर्तन गराएका छन् । ०७२ सालमा भूकम्प गएपछि धर्म परिवर्तन गर्नुपर्ने शर्तमा राहत सामाग्री वितरण गरिएका घटना सार्वजनिक भएका थिए । ती अहंकारवादी गतिविधि नभएर युरोपियन साम्राज्यवादी गतिविधि हुन् ।

धर्म परिवर्तन गराउनका लागि धेरै आइएनजीओ, एनजीओहरु सक्रिय भएर लागिरेहका छन् । तिनीहरुलाई पश्चिमी मुलुकहरुले अरबौं लगानी गरेका छन् । वास्तवमा क्रिश्यिचन धर्मको आडमा साम्राज्यवादीहरु नेपालमा परेड खेलिरहेका छन् । यति धेरै परेड खेल्दा पनि राज्यका निकायहरु बेखबर जस्तै देखिनु नेपालको भविष्यको लागि खतरनाक छ । पैसाको आडमा गरिएका धर्म परिवर्तनले नेपालका मौलिक संस्कार, संस्कृति, सामाजिक परम्पराहरु नष्ट हुनेछन् ।

संविधानतः दण्डनीय कार्य

हिन्दू अहंकारवादी र क्रिश्चियन साम्राज्यवादी गतिविधिहरु संविधानको भावनाको प्रतिकूल छन् । ती सबै गतिविधिहरु संविधानको धारा १७ को च को १, २, ३ र ४ को प्रतिकुल छन् । संविधानले कमल थापा र क्रिश्चियनहरुले गरिरहेका असहिष्णु गतिविधिमाथि कानुन बनाएर प्रतिबन्ध गर्न सक्छ, गर्नुपर्दछ ।

तिनीहरुले संविधानको धारा १७ को उपधारा २ को क, ख, ग र घ ले प्रदान गरेका अधिकारहरुको दुरुपयोग गरेका छन् । जाति वा धर्मप्रति खलल पुग्ने गरी कुनै पनि गतिविधि गर्न पाइँदैन । तिनीहरुले त्यही गरिरहेका छन् । ती गतिविधिप्रति रोक नलगाउनु र दोषीहरुमाथि कारवाही नगर्नु आश्चर्यको विषय हो । त्यो राज्यको लाचार व्यवहार हो ।

धर्मको आडमा ज्यादती

नेपालमा धर्म परिवर्तनको डरलाग्दो रुप देखापरेको छ । चर्चहरुले गरेका ज्यादतीहरु बेलाबखत चर्चामा आइरहेका छन् । केही समयपहिले इटहरीमा भएको घटनाको भिडियो बाहिरिएको थियो । त्यो घटनामा पुरुषलाई बन्ध्याकरण गराइएको र महिलालाई गर्भपतन गराइएको बताइएको थियो । बालबच्चा नहुँदै पुरुषको बन्ध्याकरण गरिनु र महिलालाई गर्भपतन गर्न लगाउनु गम्भीर अपराध हुन् । त्यसले चर्चहरु गम्भीर अपराधमा सामेल भइरहेका छन् भन्ने पुष्टि हुन्छ ।

कथित तपस्वी रामबहादुर बम्जनले केही व्यक्तिहरुको हत्या गरेको भन्दै किटानी जाहेरी दिइएको छ भने प्रशासनले तिनका गुम्बाहरुमाथि अनुसन्धान गरिरहेको छ । तर, धर्मको आवरणमा ती सबै कार्य भइरहेकाले प्रशासनले अनुसन्धानमा तत्काल हात हाल्न सकेको छैन । धर्म आफैंमा गम्भीर विषय भएकाले पनि प्रशासनले हत्पत्ति हात हाल्ने गरेको छैन । चर्च वा गुम्बाहरुमा भइरहेका शोषणहरुबारे प्रशासनले छानविन नगर्नु दुःखद छ ।

भिसाको चिन्ता

आफ्ना छोराछोरी र आफन्त भेट्न जानका लागि युरोप वा अमेरिकाको भिसा नलाग्ने चिन्ता, डर र भयको कारण क्रिश्चियन साम्राज्यवादको त्यो हमलालाई टुलुटुलु हेरेर बस्ने कम्युनिष्ट नेताहरुको ठूलो जमात देखियो । उक्त कार्य गलत र राष्ट्रिय सार्वभौमिकतामाथिको हमला हो भन्ने जान्दाजान्दै धेरै मान्छेहरु बोलेनन् । यद्यपि नेकपा नेता भीम रावलले त्यसका विरुद्ध कडा अभिव्यक्ति दिए भने राष्ट्रिय जनमोर्चाले विरोधसभाको आयोजना गरेर चित्रबहादुर केसीले कडा वक्तव्य दिए । भीम रावलले कडा अभिव्यक्ति मात्रै दिएनन् कि सम्पूर्ण जनतालाई क्रिश्चियन साम्राज्यवादको हमलाको बारेमा जानकारी गराए ।

नेपालमा जबर्जस्ती धर्म परिवर्तनका घटनाहरु बारम्बार दोहोरिएका छन् । कैयौं मान्छेहरु पक्राउ परेका छन् । एउटा कामका लागि भीसा लिएर धर्म परिवर्तनमा लागेका केही विदेशीहरुलाई देश निकाला गरिएको छ । तर, संसदमा त्यसबारे आवाज उठेको छैन । कानुन बनाएर थन्क्याइएका छन् । ती प्रयाप्त कार्यान्वयन भएका छैनन् । जे जति पक्राउ परेका छन्, त्यो ज्यादतीले चरमचुलीमा पुगेपछि मात्रै घटना सार्वजनिक भएका छन् ।

हान अहंकारवादका विरुद्ध चीन

चीन विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश हो । त्यति मात्रै होइन कि विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको जाति चीनको हान जाति हो । त्यहाँ हान जाति झण्डै ९४ प्रतिशत रहेको छ । हालसम्म चीनमा हान जातिको जनसंख्या १ अरब २० करोड पुगेको छ । कुनै पनि एउटै जातिको यति ठूलो जनसंख्या विश्वमा कहीँ कतै छैन ।

चीनको कम्युनिष्ट पार्टीमा हान अहंकारवादले जरा गाडेको थियो । कम्युनिष्ट पार्टी र त्यहाँको समाजमा हान अहंकारवाद चरमचुलीमा थियो । त्यसले त्यहाँको कम्युनिष्ट पार्टी र समाजमा पनि नकारात्मक प्रभाव पारिरहेका थियो । त्यसको विरुद्धमा चीनको कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङले पार्टीभित्र कडा संघर्ष गरेका थिए । उनले हान अहंकारका विरुद्ध लामो प्रशिक्षण सञ्चालन गरेका थिए । उनले त्यसबारेमा लेखहरुसमेत लेखेका छन् ।

माओले लेखेका छन् ‘विगत २ वा ३ वर्षमा अनेकौं ठाउँहरुमा प्रकाशमा आएका तथ्यहरुले के कुरा देखाएका छन् भने हान अहंकारवाद झण्डैजसो सर्वत्र विद्यमान छ ।’

चीनमा हान जनसंख्या धेरै भएकाले देशभरि हान अहंकारवाद विद्यमान थियो । माओले हान अहंकारवादलाई परास्त नभएमा ज्यादै खतरनाक हुने लेखेका छन् ‘हामीले बेलैमा शिक्षा दिएर पार्टीभित्र र जनताबीचमा हान अहंकारवादलाई दृढताका साथ परास्त गर्न नसकेको खण्डमा त्यो ज्यादै खतरनाक हुनेछ । थुप्रै ठाउँमा पार्टीभित्र र जनताका माझमा प्रकट हुने गरेका जातिहरुबीचका सम्बन्धहरुको समस्यामा रहेको हान अहंकारवाद केवल अवशेष रुपमा मात्रै नभइ गम्भीर मात्रामा रहेको छ ।’

कमल थापाहरुले खोजेको के हो ?

नेपालमा कमल थापाहरुले उठाउन खोजेको हिन्दू राष्ट्रको माग हिन्दू अहंकारवादको भद्दा रुप हो । राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य पञ्च पार्टीहरुले हिन्दू राज्यको वकालत गर्दै हिँडेका छन् । कुरा राप्रपामा मात्रै सीमित छैन । हिन्दू अहंकारवाद नेपाली कांग्रेसभित्र बलियो रुपमा रहेको छ । त्यो पार्टीभित्र मात्रै सीमित छैन कि आम जनतामा पनि हिन्दू अहंकारवाद छ ।

बाटोघाटो र चिया पसलमा पनि सुन्ने गरिन्छ कि ८० प्रतिशत हिन्दू भएको देशलाई धर्म निरपेक्ष बनाउने ? यिनीहरुले धर्मलाई बेचेर खाए । यस्तै–यस्तै धेरै कुराहरु सुन्न पाइन्छ । धर्मको सन्दर्भमा यो कुरा वास्तवमै अहंकारवाद हो ।

नेपालमा ८० प्रतिशत हिन्दू धर्माबलम्बी देखाएर सुरुमा हिन्दू राज्यको माग चर्काउने र त्यसपछि राजतन्त्रको पुनस्र्थापना नै कमल थापाका मागहरु हुन् ।

भारतीय जनता पार्टीले नेपालमा हिन्दू राज्यका लागि निरन्तर दवाब दिएको छ । संविधानमा हिन्दू राज्य नलेखिँदा नरेन्द्र मोदी सरकारले नेपालमाथि नाकाबन्दी लगाएको थियो ।

युरोपमा मध्ययुगमा चर्चहरुले शासन गरेका थिए । नेपालमा हिन्दू राज्य खडा गरेर राजतन्त्र पुनस्र्थापना गर्ने जुन प्रयत्न भइरहेका छन्, ती प्रतिगामी षड्यन्त्र हुन् र तिनलाई नेपाली जनताले परास्त गर्नुपर्छ ।

विदेशी हस्तक्षेप र स्वार्थपूर्तिको टुकडी

नेपालमा विदेशी हस्तक्षेप निम्त्याएर आफ्नो स्वार्थ पूर्ति गर्ने गिरोह छ । सुरुमा संयुक्त राष्ट्रसंघीय मिसन अनमिनमार्फत् राजनीतिक हस्तक्षेप निम्त्याएर राजनीतिक स्वार्थ पूरा गर्ने राजनीतिक गिरोह क्रियाशील थियो । मानवअधिकारका नाममा हस्तक्षेप निम्त्याएर स्वार्थपूर्ति गर्ने अर्काे गिरोह क्रियाशील छ । धर्मनिरपेक्षताको आडमा धर्म परिवर्तन गराएर आफ्नो स्वार्थ पूर्ति गर्ने गिरोहले तीब्र रुपमा आफ्ना गतिविधिहरु गरिरहेका छन् । विदेशीहरुले त नेपालमाथि हस्तक्षेप गर्छन्, गरिरहेका छन् । तर, ती कार्यमा नेपालका देशविरोधी तत्वहरु सामेल हुनु अत्यन्तै दुःखद पक्ष हो ।

नेपाली गिरोहको पहिचान गरेर त्यसलाई परास्त गर्नुपर्छ । त्यसको नेतृत्व राज्यले गर्नुपर्ने हो । तर, त्यसो हुन सकेको छैन । जनस्तरबाटै सबै प्रकारका विदेशी हस्तक्षेपको कडा प्रतिकार गरिनुपर्छ ।

अहंकारवाद र साम्राज्यवाद

हिन्दू अहंकारवादले नेपालमा रहेका मुसलमान, बौद्ध, किरात, शिखजस्ता अल्पसंख्यामा रहेका धर्माबलम्बीहरुमाथि दमनको नीति अंगीकार गर्छ । तर, क्रिश्चियनहरुमाथि त्यो कुरा लागुहुँदैन । किनभने पैसाको आडमा क्रिश्चियनहरुले जबर्जस्ती धर्म परिवर्तन गराउँदै हिँडेका छन् । उनीहरुको कार्य पनि संविधान विपरीत र दण्डनीय रहेको छ ।

मुसलमानहरुको संख्या थोरै भएता पनि देशको धेरै भूभागमा छरिएर रहेका छन् । बौद्ध धर्मावलम्बीहरु पनि छरिएरै रहेका छन् । केही शिखहरु पनि छन् । अन्य जे जति धर्महरु छन्, ती सबैको साझा राष्ट्र हो भन्ने भावनाको विकास राजनीतिले गराउनुपर्छ ।

देशमा देखिएको हिन्दू अहंकारवाद र क्रिश्चियन साम्राज्यवादलाई परास्त गर्नुपर्छ । धार्मिक आस्था जसको जहाँ छ, त्यहीँ रहन दिनुपर्छ । धर्मलाई राजनीतिकरण गर्ने वा अन्य धर्महरुलाई क्रिश्चियनकरण कार्य निन्दनीय, दण्डनीय र अपराधिक कार्यहरु हुन् । संसद र समाजका सबै पक्षले त्यसप्रकारका खराब पक्षलाई परास्त गर्नका लागि अभियान थाल्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment