Comments Add Comment

बजेटले सेयर लगानीकर्ता खुशी, बदलियो अर्थमन्त्रीको ‘अनुदार’ छवि

अब कता जाला बजार ?

२० जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवाडालाई सेयर लगानीकर्ताहरुले ‘बजारको दुश्मन’ कै रुपमा हेर्ने गरेका थिए । कतिपय लगानीकर्ता उनको राजीनामा माग्दै आमरण अनशनमा समेत उत्रिए । तर, आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गरेसँगै उनीहरु अर्थमन्त्रीको प्रशंसा गर्न थालेका छन् ।

बजेट भाषणले सेयर बजारका लगानीकर्ताहरुमा एक किसिमको खुशियाली छाएको छ । बिगतमा सरकारले समेट्न नसकेका लगानीकर्ताहरुको माग यसपाली बजेटमार्फत सरकारले समेटेको भन्दै उनीहरु खुसी भएका हुन् ।

अर्थमन्त्री डा. युवराज खतिवडामाथि यसअघि सेयर बजारप्रति अनुदार मानिन्थे । तर, यसपालीको बजेटमा उनले पुँजीगत लाभकर घटाएर आफ्नो छवि बदल्न खोजेका छन् ।

व्यक्तिगत सेयर लगानीकर्ताले हाल सेयर बिक्रीबाट भएको नाफाबाट साढे ७ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन् । तर बजेटले यो दरलाई घटाएर ५ प्रतिशत बनाएको छ । अघिल्लो बजेटमार्फत ५ प्रतिशतमा रहेको पुँजीगत लाभकर ७ प्रतिशत पुर्‍याइएको थियो ।

कता जाला बजार ?

बजेटपछि अब सेयर बजारले गति कस्तो होला ? आइतबार बजारमा दोहोरो अंकले गिरावट आयो । तर, बजेटको प्रभावका कारण यो गिरावट नआएको विज्ञहरुले बताएका छन् । केही विश्लेषकहरुले बजार अझै घट्ने पूर्वानुमान गरेका छन् ।

सेयर बजारका विश्लेषक विष्णबावु बस्यालले नेप्से परिसूचक १२५० को हाराहारी झर्ने दावी गरे । साताको पहिलो दिन १३ अंकले ओरालो लागेर १३०५ मा झरेको नेप्से परिसूचक अझै घट्ने उनले बताए ।

अनलाइनखबरसँगको कुराकानीमा बस्यालले भने, ‘बजार १२५० मा झरेर त्यसपछि उकालो लाग्ने क्रम शुरु हुन्छ ।’ आइतबार बजार घट्नुको विशेष कारण नभएको उनको भनाइ थियो ।

सेयर बजारबारे जानकार जेबी थापा करको दरको विषयमा केही अन्योल रहेको बताउँछन् । ५ प्रतिशत उल्लेख भएको कर तलमाथि भए १ सय अंकको गिरावट आउने उनको अनुमान छ ।

बजेट भाषणपछिको पहिलो कारोबार दिन बिहीबार नेप्से परिसूचक ५.५८ अंकले बढेर १ हजार ३ सय १९.४७ विन्दुमा पुगेको थियो । बजार खुलेको पहिलो ३० मिनेटमा नेप्से ३४ अंकले बढेर १ हजार ३ सय ४९.३८ विन्दुसम्म पुग्यो । त्यसपछि बजारको वृद्धिदर घट्न थाल्यो । अन्त्यमा करिब साढे ५ अंकको वृद्धिसहित नेप्से बन्द भएको थियो । कारोबार रकम भने डेढ अर्ब नाघेको थियो ।

आइतबार भने नेप्से परिसूचक १३.७९ अंकले घटेर १३०७.६८ बिन्दूमा झरेको छ । यस दिन ७५ करोड ३२ लाख ५७ हजार २०९ रुपैयाँको शेयर कारोबार भएको छ । आइतबार कारोबारमा आएका समूहमध्ये होटल र उत्पादन समूहबाहेक सबै समूह खस्केका छन् ।

पूर्व बैंकर अनलराज भट्ट सेयर बजार अब ह्वात्तै बढ्ने वा घट्ने सम्भावना नरहेको बताउँछन् । आइतबार घटेको बजारलाई पनि सामान्य रुपमा लिनुपर्ने उनको मत छ ।

बजेटमा भएका केही व्यवस्थाले सेयर बजारलाई सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै भट्टले भने, ‘आइतबार दोहारो अंकले बजार घट्नुको कारण सेलिङ प्रेसर हो । यो नर्मल करेक्सन भएकाले सामान्य रुपमा लिनुपर्छ ।’

बिग मर्जरको विषय समेटिनु तथा पुँजीगत लाभकर ७ बाट ५ प्रतिशतमा झार्ने बजेटको घोषणाका कारण बजारलाई फाइदा पुग्ने पूर्व बैंकर भट्टराईले बताए । लामो समयपछि बजार बढेका कारण पनि मान्छे बेच्न हौसिएका कारण सेलिङ प्रेसर परेको उनको भनाइ छ ।

अर्कोतर्फ आर्थिक वर्ष सकिनै लागेका कारण हिसाब मिलान, बैंकको ब्याज भुक्तानी लगायतका कारण मानिसहरुलाई पैसा चाहिएकाले पनि सेयर बेचेको उनको दावी छ ।

बैंकहरु मर्जरमा गए लगानीकर्ताहरुका लागि थप राम्रो हुने भट्टराई बताउँछन् । बैंकहरुको वोनस सेयर अझै आउने भन्दै उनले लगानीको प्रतिफल राम्रो मिल्ने अपेक्षा व्यक्त गरे ।

‘बजार पस्ने समय’

सेयर बजारमा प्रवेश गर्ने लगानीकर्ताहरुका लागि यतिबेला अति उत्तम समय भएको पूर्व बैंकर भट्टराई बताउछन् । केही समयअघि ११ सयको विन्दुभन्दा तल झरेको बजार १३ सय नाघिसकेको छ ।

अब विगतको जस्तो हृवात्तै तल झर्ने सम्भावना नभएका कारण पनि नयाँ लगानीकर्ताहरुले प्रवेश गर्ने उत्तम समय आइपुगेको उनले बताए ।

‘बजार अब हृवात्तै घट्ने सम्भावना छँदै छैन, बरु विस्तारै माथि उक्सन्छ’ भट्टराईले भने, ‘बढेर अहिले नै १८००/१९०० मा पुग्ने त होइन, तर जे होस बजारले विस्तारै आफ्नो गति समात्छ ।’

सेयर विश्लेष बस्याल भने अब लगानीका लागि १०/१५ दिन जति कुर्नु पर्ने बताउँछन् । बजार केही दिन अझै घट्ने सम्भावना भएको उनको अनुमान छ ।

‘बजार १२५० को हाराहारीमा आउँछ,’ बस्यालले भने, ‘लगानीका लागि १०/१५ दिन कुरेको राम्रो हुन्छ ।’

सेयर बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताहरुका लागि कुन क्षेत्रमा लगानी गरौं भन्ने द्विविधा हुनसक्छ । सेयर बजारबारे जानकार व्यक्तिहरुले भने लगानीका लागि वाणिज्य बैंक उत्तम हुने बताएका छन् ।

‘वाणिज्य बैंकहरुको सेयर मूल्य अण्डर भ्यालू छ, अब धेरै बैंकहरुको बोनस सेयर आउँछ । पुँजी वृद्धिका लागि बोनस सेयर नै दिनुपर्ने हुन्छ,’ पूर्ब बैंकर भट्टराई भन्छन्, ‘लगानकिा लागि अन्य क्षेत्रहरु भन्दा वाणिज्य बैंक नै उपयुक्त हुन्छ ।’

सेयर बजारमा प्रवेश गर्दा आज किनेर भोलि नै बेचिहाल्छु भन्ने सोच भने राख्न नहुने उनको भनाइ छ । वाणिज्य बैंकमा लगानी राम्रो भएको उल्लेख गर्दै उनले कम्तिमा ५/६ महिना होल्ड गर्न सकेमात्रै पनि राम्रो प्रतिफल आउने बताए ।

सेयर विश्लेषक बस्यालले पनि अन्य क्षेत्रहरु भन्दा वाणिज्य बैंक नै लगानीका लागि सबैभन्दा बउत्तम भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment