Comments Add Comment

भरतपुरमा चुनावमा मतपत्र च्यात्ने माओवादी कार्यकर्ता दोषी ठहर

३१, जेठ, चितवन । भरतपुर महानगरपालिकाको निर्वाचनमा मतपत्र च्यात्ने दुई जना तत्कालीन माओवादी कार्यकर्तालाई जिल्ला अदालतले दोषी ठहर गरेको छ ।

निर्वाचन कसुरसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले २ वर्षपछि फैसला गरेको हो । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना अन्तिम चरणमा पुगेको बेला मतपत्र च्यात्ने कामका आरोपीहरु द्रोणबाबु शिवाकोटी र मधु न्यौपानेलाई अदालतले दोषी ठहर गरेको हो ।

विहीबार जिल्ला अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले ०७४ जेठ १४ गते राति मतपत्र च्यातेको आरोपमा मुद्दा चलेका दुई व्यक्तिलाई कसुर निर्धारण गर्ने गरी फैसला गरेको छ ।

निर्वाचन कसुर तथा सजायँ ऐन ०७३ अनुसार सजायँ तोकिन लागेको चितवन अदालतले जनाएको छ । २६ औं पटकको पेशीमा चितवन अदालतको सो निर्णय लिएको हो ।

तत्कालीन समयमा भरतपुर महानगरको निर्वाचनमा मेयर पदमा प्रतिस्पर्धी रेनु दाहाल र देवी ज्ञवालीबीच मतान्तरको विषयमा रेनु दाहाल पक्षका मत गणनामा सलंग्नहरुले मत पत्र च्यातेका थिए ।

उनीहरुलाई कति कारर्वाही हुने भन्ने बारेमा आगामी असार ५ गते अर्को फैसला हुने अदालत स्रोतले जानकारी दिएको छ ।

सिवाकोटी र न्यौपानेको तर्फबाट बहस गरेका अधिवक्ता गोपीलाल देवकोटाका अनुसार यो मुद्दामा सरकार पक्षले एक लाख रुपैयाँ जरिवाना र दुई वर्ष कैदको सजायँ माग गरेको छ ।

निर्वाचन कसुर तथा सजाय ऐन ०७३ को दफा १६ को उपदफा एकको कसुर अनुसार उपदफा २ मा व्यवस्था भएको सजायँ माग भएको उनले जानकारी दिए । घटना लगत्तै पक्राउ परेका यी दुई जना एक/एक लाख धरौटीमा रिहा भएका थिए ।

भरतपुर महानगरपालिकाको मतगणना अन्तिम हुँदै गर्दा ०७४ सालको जेठ १४ गते मध्यरातमा मतपत्रहरु च्यातिएका थिए । कुल २९ वटा वडाहरु रहेको भरतपुरमा वडा नं. १९ को मत गनेर लगभग सकिन लागेको थियो । गन्न बाँकी वडा नम्वर २० मात्रै थियो ।

मतपत्र च्यातिएपछि भरतपुर–१९ मा साउन २० मतदान भएर परिणाम घोषणा गर्नु परेको थियो । सो निर्वाचनमा कांग्रेस माओवादी केन्द्र गठवन्धनकी उम्मेदवार रहेकी रेनु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई २०३ मतले हराएर मेयर निर्वाचित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment