Comments Add Comment

हायात व्यवस्थापन भन्छ – श्रमिकले माफी नमागेसम्म होटल खुल्दैन

३ असार, काठमाडाैं । आन्दोलनरत कर्मचारीले माफी नमागेसम्म होटलको सेवा सुचारु नहुनेे हायात होटल व्यवस्थापनले अडान लिएको छ । कर्मचारीले भने होटल व्यवस्थापनबाट आफूहरुमाथि गैरमानवीय व्यवहार भएको आरोप लगाएका छन् ।

सेवा सुबिधा कटौती गरिएको बिरोधमा कर्मचारीले ६ दिनदेखि आन्दोलन थालेका थिए । यसले होटलको सम्पूर्ण सेवा बन्द भएको छ । होटलका पाहुनाहरुलाई त्यहाँबाट स्थानान्तरण गरिएको छ ।

होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले अनलाइनखबरसँग कुरा गर्दै व्यवस्थापनलाई जानकारी नदिइ काममा नआएका कर्मचारीलाई स्पष्टीकरणमार्फत सचेत गराउन खोज्दा मजदुर संठगनले हस्तक्षेप गरेर आन्दोलन चर्काएको आरोप लगाए ।

निर्देशक परियार भन्छन्, ‘कर्मचारीको अवरोधले होटल ठप्प छ, तीन पटकसम्म सूचना निकालेर आन्दोलनकारीलाई काममा फर्किन भनेका छौं उनीहरु काममा नआएसम्म होटल सञ्चालन हुन सक्दैन ।’

यता आन्दोलनरत श्रमिकहरुका नेताले भने होटल व्यवस्थापनले नेपाली कर्मचारीलाई निकालेर भारतीय भर्ति गर्ने षडयन्त्र रचेको बताएका छन् । अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघ हायात होटलका अध्यक्ष मुक्ति दाहालले नेपाली कामदारहरु होटलबाट निकाल्नकै लागि सुविधा कटौति गरिएको बताए । व्यवस्थापनले श्रमिकको बिमा, सञ्चित बिदा, बिरामी बिदा बापतको रकम, तथा तालिमका अवसरहरु कटौती गरेपछि आन्दोलन थालिएको उनको भनाइ छ ।

अध्यक्ष दाहालका अनुसार श्रमिकको आवास कोषमा जम्मा भएको ५ करोड रुपैयाँ समेत होटल व्यवस्थापनले अपचलन गरेको छ । नेपाली श्रमिकलाई निरुत्साहित गर्न खाना, पानी र पोशाक सुबिधासमेत कटौती गरिएको श्रमिकहरुको गुनासो छ ।

होटलमा कार्यरत करिब ५ सय कर्मचारीमा आधी भन्दा बढी आन्दोलनमा नरहे पनि शेयर धनी डुबाउन होटल बन्द गरिएको भन्दै आन्दोलनकारीले यथार्थ छनबिन गर्न सरकारसँग माग गरे ।

‘होटलमा रहेका दुई सय भन्दा धेरै पर्यटकलाई व्यवस्थापकको नीजी स्वामित्वको एक याण्ड एतीमा सारेर गम्भिर षड्यन्त्र भइरहेको छ,’ आन्दोलनरत एक श्रमिकले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment