Comments Add Comment

समता अस्पतालमा ‘रहस्यमय मृत्यु’ प्रकरण : प्रहरीले जाहेरी लिन मानेन

विमलाको रहस्यमय मृत्युः हत्या वा आत्महत्या ?

Photo Credit : विमलाको आफन्तले गरेको प्रदर्शन ।

४ असार, काठमाडौं । बौद्धको समता अस्पतालमा झुण्डिएको अवस्थामा भेटिएकी विमला तामाङको आफन्तले दिएको जाहेरी दरखास्त लिन प्रहरीले आनाकानी गरेको छ ।

पर्याप्त प्रमाण नभएको भन्दै प्रहरीले जाहेरी लिन नमानेको हो । मृतकका आफन्त श्याम तामाङले अनलाइनखबरसँग भने, ‘हामीलाई एक जना प्रहरी निरीक्षकसँग राखेर पटकपटक छलफल पनि गराइयो । तर, जाहेरी दर्ता गर्न मानिएको छैन ।’

अस्पतालको सरसफाइमा काम गर्ने २७ वर्षीया तामाङ अस्पतालको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् ।

उनको गोजीमा अस्पतालका तीन कर्मचारीको नाम लेखिएको भेटिएको छ । जसमा दुई जना कामदारकै नाम छ भने एउटा अक्षर ‘म्याम’ मात्र लेखिएको छ ।

मृतकका आफन्तले ‘म्याम’ भनेर अस्पताल सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारीलाई संकेत गरिएको दाबी गर्छन् ।

तर, प्रहरीले हालसम्म अधिकारीलाई नियन्त्रणमा लिएको छैन । ‘दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएका छौं’, काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटी भन्छन्, ‘के मुद्दा चलाउने भन्नेबारे अहिल्यै निर्क्योल भइसकेको छैन ।’

अर्को शब्दको विषयमा चाहिँ कसलाई इंगित भएको भन्ने यकिन भइनसकेको उनले बताए ।

प्रहरीको प्रारम्भिक रिपोर्ट–आत्महत्या, आफन्त भन्छन्–हत्या !

विमलाको परिवारले अस्पताल प्रशासनले हत्या गरेर झुण्डाएको हुनसक्ने आशंका गरेको छ । तर, प्रहरीको प्रारम्भिक रिपोर्टले भने विमलाले आत्महत्या गरेको देखाएको छ ।

घटनाको अनुसन्धानमा संलग्न एक अधिकृतले अनलाइनखबरसँग सुनाए, ‘शवको प्रकृति हेर्दा अहिलेसम्म आत्महत्याकै लक्षण देखिएको छ ।’

फरेन्सिक चिकित्सकका अनुसार हत्यापछि झुण्ड्याइएको शवको घाँटीमा ‘डोब’ हुँदैन । तर, आत्महत्यामा ‘डोब’ हुने भएकाले हत्या वा आत्महत्या छुट्टयाउन सहज हुन्छ । यद्यपि यति मात्र आत्महत्या वा हत्या छुट्टयाउने कडी भने होइन ।

साथै, मुलुकी अपराध संहिताले आत्महत्या गर्न प्रोत्साहित गरेको प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुने व्यवस्था गरेको छ । यसमा पनि पीडितले मुद्दा दर्ता सक्ने प्रहरीको मुद्दा शाखाका अधिकृतहरु बताउँछन् ।

विमला–अस्पताल विवाद श्रृङ्खला

आफन्तका अनुसार रामेछापको दोरम्बाकी विमलाले वैशाखदेखि अस्पतालमा काम गर्न थालेकी थिइन् । उनका श्रीमान् विभिन्न पसलमा चामल र अन्य खाद्य सामग्री ओसार्ने काम गर्छन् । ‘विमलाले भर्खरै काम सिक्दै गरेकाले यति नै तलब दिने भन्ने निश्चित भएको थिएन’, आफन्त श्यामले सुनाए, ‘तर मासिक रुपमा रकम दिने चाहिँ समझदारी भएको थियो ।’

यद्यपि उनले अहिलेसम्म तलब नपाएको परिवारको दाबी छ । ‘भोलि दिन्छु, पर्सि दिन्छु भनेर झुलाएर राखेको हामीलाई सुनाएकी थिइन्’, उनले थपे । पछिल्लो समय विमलाले आफूलाई अस्पतालमा तनाव हुने गरेको पनि सुनाएकी थिइन् । ‘कर्मचारीले कपाल भुत्ल्याउने, काम गरेन भनेर दुःख दिने गर्छन्’, विमलालाई उदृत गर्दै एक आफन्तले सुनाए ।

उनका अनुसार विमलाले पछिल्लो समय तलब पाउने वित्तिकै जागिर छाड्ने बताउँदै आएकी थिइन् ।

सोमबार राति विमला घर आइनन् । श्यामसहित केही आफन्त हस्पिटल पुगेका थिए । तर दुई वटा कोठामा हेर्न नदिइएको श्यामको गुनासो छ । उनले भने, ‘हामीले ट्यांकीदेखि सबै कोठामा गएर हेर्‍यौं तर, दुई वटा कोठा चाहिँ हेर्न दिइएन ।’

विमलाको शव भेटिएको कोठामा पनि हेर्न नदिएको उनको दाबी छ । कर्मचारीले ‘मेडमको पर्सनल रुम’ भन्दै नखोलेको उनले बताए । मंगलबार बिहान भने त्यही कोठाको शौचालयमा झुण्डिएको अवस्थामा विमलाको शव भेटियो, जसले अस्पताल सञ्चालकमाथि शंका मात्र बढाएन, प्रहरी–आफन्तबीच ढुंगाहाना र तोडफोडको स्थिति पनि सिर्जना गर्‍यो ।

यो पनि पढ्नुहोस बौद्धको समता अस्पतालमा दिनभर तनाव, दुई कर्मचारी पक्राउ

चिट परीक्षणका लागि पठाइयो

घटनाको मुचुल्का तयार गर्ने क्रममा सिन अफ क्राइम (सोको) अफिसरले विमलाको गोजीमा एउटा कागजको चिर्कटो भेटेका हुन् ।

‘त्यहाँ तीन जना हस्पिटलकै मान्छेको नाम लेखिएको छ । घटनामा उनीहरुको संलग्न देखिने यो भन्दा बलियो प्रमाण अरु के हुन्छ ?’, श्याम प्रश्न गर्छन् ।

तर, प्रहरीले भने कागजको वैज्ञानिक परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा पठाएको छ । ‘अंग्रेजी अक्षरमा नाम लेखिएकाले भेरिफाइ गर्न पठाएका हौं’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘विमलाले त्यति मजाले अंग्रेजी लेख्न नसक्ने आफन्तसँग गरिएको बयानबाट खुलेको छ ।’

प्रयोगशालामा लिखत परीक्षणको नतिजा आउन एक हप्तासम्म लाग्न सक्छ ।

त्यसअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा हुने पोस्टमार्टमको रिपोर्टले पनि घटनाको निर्क्योल गर्न मद्दत पुर्‍याउने छ । ‘आफन्तले सञ्चालक र कर्मचारीलाई कारबाहीको माग गर्नु भएको छ’, डीएसपी बोगटी भन्छन्, ‘अब पोष्टमार्टम रिपोर्ट आएपछि थप केही बताउन सकिएला ।’

छोरालाई जीवनभर पढाउने सहमति

असपताल प्रशासन र मृतकका आफन्तलाई राखेर प्रहरीले छलफल समेत गराएको छ, जसमा तामाङका ५ वर्षीया छोराको शिक्षाका लागि सम्पूर्ण व्यवस्था हस्पिटलले गर्ने सहमति भएको थियो । सहमतिपछि आन्दोलन मथ्थर भएको थियो ।

तर, प्रशासनविरुद्ध जाहेरी दिने विषयमा आफन्त अडिग छन् ।

घटनाको थप अनुसन्धान काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय अपराध अनुसन्धान महाशाखाबाट भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment