Comments Add Comment

सशस्त्र प्रहरीद्वारा लागूऔषध ओसारप्रसारमा संलग्न ३४ जना पक्राउ

असार २५, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटमा चेकजाँचका क्रममा बुधबार सशस्त्र प्रहरीले ४ किलो लागूऔषध चरेशसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारत बेतिया थाना मझौलिया- ६ बस्ने ४४ वर्षीय मोहम्मद हसमुल्लाह अन्सारी पक्राउ परेका हुन् । नेपालबाट भारततर्फ जाँदै गरेका उनको साथबाट सशस्त्र प्रहरीले एक थान मोबाइलसमेत नियन्त्रणमा लिएको छ ।

लागूऔषध शीर्षकको मुद्धामा आवश्यक कारबाहीका लागि उनलाई सशस्त्र प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

पर्सा जिल्लामा नियमित जसो अवैध लागूऔषध सहित कहिले नेपाली त कहिले भारतीय नागरिक पक्राउ पर्ने गरेका छन् ।

गाजा, चरेश जस्ता लागूऔषध नेपालबाट भारततिर लगिन्छ भने सुई र ट्याबलेटको रुपमा पाइने लागूऔषध भारतबाट नेपालतर्फ ल्याउने गरिन्छ ।

ट्याबलेट र सिरिञ्जमार्फत प्रयोग गरिने लागूऔषध भारतीय सीमावर्ती बजार रक्सौलमा सजिलै पाउने गरेका कारण पर्सा जिल्ला मात्रै नभएर काठमाण्डु, मकवानपुर, चितवन, ललितपुरलगायतका जिल्लाबाट समेत आएर मानिसहरुले लैजाने गरेका छन् ।

शंकराचार्य गेट र वीरगञ्ज भन्सार कार्यालय अगाडि चेकजाँच गर्नुको साथै गस्तीसमेत गर्दै आएको सशस्त्र प्रहरीले चालु आर्थिक वर्षमा अवैध लागूऔषध ओसारप्रसारमा संलग्न ३४ जनालाई नियन्त्रणमा लिइसकेको छ ।

भन्सार कार्यालयको सुरक्षा र राजश्व चुहावट नियन्त्रणका लागि काम गर्दै आएको सशस्त्र प्रहरी बलको गुल्मले आर्थिक वर्ष ०७५/७६ मा ३४ जनालाई अवैध लागू औषधसहित नियन्त्रणमा लिएको हो ।

लागू औषधसहित पक्राउ परेकाहरुलाई कानुनी कारबाहीका लागि सशस्त्र प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाउने गरेको छ ।

रक्सौलतिरबाट डाईजेल्याब, नुरफिन, फेनारगन, कोरेक्स, अनरेक्स, नाईट्रोभेट, नाईट्रोपाईम विन सिरेक्स लगायतका लागूऔषध नेपाल ल्याउने गरिएको र नेपालबाट भारततर्फ गाजा, चरेश, ब्राउन सुगर लैजाने गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक तीलकबहादुर खड्काले जानकारी दिए ।

‘चेकजाँच र गस्तीका क्रममा भेटिएका लागु औषध ओसार प्रसारमा संलग्न मानिसलाई हामीले नियन्त्रणमा लिने गरेका छौं,’ डीएसपी खड्काले भने ‘उनीहरुलाई कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने गरेका छौं ।’

चालु आर्थिक वर्षमा कार्यालयले १ हजार ९ सय १२ वटा डाईजेल्याब, १ हजार ९ सय १ वटा नुरफिन, १ हजार, २ ग्राम ब्राउन सुगर, २७.५ किलो चरेश, १८.७ किलो गाजा, नाईट्राभेट ४१ ट्याबलेट, कारेक्स १८ बोतल, अनरेक्स ९८ बोतल, नाईट्रोपाईम ३ सय ५ वटा, विनसिरेक्स ८ लिटर, वालरेक्स २ बोतल, सिमप्लेक्स १५ ट्याबलेट, निट्राजेपान १८ ट्याबलेट र वीन सिरेक्स १ बोतल नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल गुल्म हेडक्वाटर पर्सा नम्बर १४ गुल्मले जनाएको छ ।

त्यसैगरी सशस्त्र प्रहरीले लागूऔषध ओसारप्रसारमा प्रयोग गरिएको एउटा स्र्कापियो गाडी, २ वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment