Comments Add Comment

तमसुक : अमेरिकादेखि खाडीसम्मको भोगाइ

प्रवासी नेपालीहरु पनि राम्रो साहित्य सिर्जना गर्न सक्छन् भन्ने उदाहरण गएको वर्ष नीलम निहारिकाको कृतिले मदन पुरस्कार प्राप्त गर्नु र यसपटक एउटा पुस्तक मदन पुरस्कार गुठीको सूचीमा पर्नुले पनि प्रस्ट पारेको छ । प्रवासी साहित्यिक संगठनले प्रवासी नेपालीहरुलाई साहित्य सिर्जनामा सहयोग गर्दै आएकाले पछिल्लो समय प्रवासी साहित्यकारको छवि सङ्लिँदै गएको छ ।

साहित्य कर्म र साहित्यिक संगठन भिन्न हो । एउटा सांगठनिक व्यक्तिको साहित्यिक व्यक्तित्व पनि त्यही उचाइमा हुनुपर्छ कि पर्दैन भन्ने बहस चल्छ र चलाउनु पनि पर्छ । राजनीतिक संगठनमा वीपी कोइराला र साहित्यमा विश्वेश्वरप्रसाद कोइराला उत्तिकै सफल हुन सक्छन् भने साहित्यिक संगठनमा लागेको मानिसले लेखेको कृतिको चर्चा हुनुपर्छ ।

यायद यही अभिप्रयाले डायस्पोराका कुशल साहित्यिक संगठन पदम विश्वकर्माले कथा सङ्ग्रह ‘तमसुक’ हालै बजारमा ल्याएका छन् । र, यहाँ सोही कृतिको संक्षिप्त समीक्षा गर्ने प्रयास गरिएको छ ।

लमजुङको धमिलीकुवा–३ स्थायी वतन भएका पदम विश्वकर्मा अमेरिकाको कोलोराडोमा बसोवास गर्छन् । त्रिभुवन विश्वविद्यालय काठमाण्डौंबाट नेपाली साहित्यमा स्नातक र समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका उनले डा. अम्वेडकर अन्तराष्ट्रिय पुरस्कार–२०१८ लगायत केही विशिष्ट पुरस्कार तथा सम्मानहरु प्राप्त गरिसकेका छन् ।

विगतमा नेपाल रेडक्रस सोसाइटीमा आवद्ध रहिसकेका उनले १० वर्ष लामो जागिरे जीवनको अनुभव पनि बटुलेका छन् । उनी हाल नासो कम्युनिटी र ब्लड डोनर्स अफ अमेरिका गरी दुईवटा निकायको सल्लाहकारका रुपमा तथा जातीय भेदभाव विरुद्ध विश्वमञ्चको वरिष्ठ उपाध्यक्षसमेत छन् ।

किरण पौडेल

यति अनुभवी व्यक्तित्वले सिर्जना गरेको कथा सङ्ग्रह ‘तमसुक’ लाई पाठकले सुरुमा त्यही स्तरमा लिन सक्छन् । उनको कथा सङ्ग्रहले जातीय विभेद, नेपाली राजनीतिको विद्रूप रुप र विश्वब्यापी दर्शनका कुरा पस्कनुपर्छ भन्ने अपेक्षा स्वभाविक रुपमा हुन्छ । तर, पुस्तकले यी कुनै पनि कुरा उठाउँदैन । बरु पुस्तकमा लेखकले यसअघि नै सर्वस्वीकृत विषयमै कलम चलाएका छन् ।

पुस्तकले प्रेम, यौवन, प्रकृति, मानवीय स्वाभाव, प्रवासी नेपालीहरुले विदेशमा भोग्ने गरेका दुःखहरुलाई आफ्नो पुस्तकमा समेटेका छन् । पुस्तकले मूलरुपमा डायस्पोरिक साहित्यले उठाउने विषयलाई जोड दिएको छ ।

सुरुमै भन्न सकिन्छ, विद्वान व्यक्तित्व बनाएका विश्वकर्माको व्यक्तित्व र कथाका विषयमा मेल खाँदैनन् । उनले पुस्तकलाई आफ्नो विद्व्वता प्रदर्शन गर्न र कुनै सिद्धान्तको पक्षपोषण गर्न होइन, शुद्ध मानवीय भाव अभिव्यक्त गर्न पुस्तक प्रकाशन गरेको देखिन्छ । अथवा फुर्सदमा प्रवासी नेपालीहरुको दुःख–सुख अनुभव गरेका बेला डायरीमा टिपिएको कुराहरुलाई पुर्नलेखन गरिएको हुन सक्छ ।

पुस्तकको शुरुवातमा नेपाली साहित्यको चिन्तन र मननमा लाग्ने व्यक्तित्व माया ठकुरीले ‘तमसुक’ लाई शुभकामना दिएकी छन् । साथै मदन पुरस्कारप्राप्त लेखक निलम कार्की निहारिकाले अन्तराष्ट्रिय नेपाली साहित्य समाजमा पदम विश्वकर्माको कुशलतापूर्ण जिम्मेवारीको प्रशंसा गरेकी छन् । समीक्षक ज्ञानु अधिकारीले पछिल्ला लेखक तथा पाठकमा आख्यानप्रति रुचि र आकर्षण बढ्नु नेपाली साहित्यको सुखद पक्षको रुपमा औंल्याएकी छन् । उनले विश्वकर्मालाई समाजका यथार्थलाई टपक्क टिपेर कथामा उन्न सिपालु कथाकार ठहर्‍याएकी छन् ।

पुस्तक ‘अधुरो सपना’ नामक कथाबाट अघि बढ्छ । कथामा डीभी परेका छोरा बुहारीको अमेरिकाको संघर्ष र नेपालमा उनीहरुबाट गरिएको आर्थिक अपेक्षालाई गम्भीर तवरले अघि बढाइएको छ । पैसाका आशामा छोराबुहारीले साप्ताहिकरुपमा खोलिने चिठ्ठाको प्रसङ्ग र अचानक ठूलो रकमको चिठ्ठा पर्दाको अवस्थाले कथामा स्याम ब्यङ्ग्य निर्माण गरेको छ ।

डीभी परेर अमेरिका पुगेका विभिन्न वर्गलाई कथा सङ्ग्रहले समेटेको छ । नेपालमा उच्च सरकारी जागीरेको अमेरिकाको अवस्था, गाडी चलाउन नजान्दा हुने ठूला दुर्घटना र विभिन्न अनैतिक सम्बन्धलाई पनि यो कथाले समेटेको छ । केही कथाहरुले जातीय विभेदमाथि पनि ब्यङ्ग्य प्रहार गरेका छन् । नेपालमा कहलिएका बुद्धिजीवीहरुले विकसित देशमा आएर पनि जातभातको कुप्रथालाई र सोचलाई छोड्न नसकेको विषयलाई उठान गरिएको छ ।

धेरैजसो कथाहरु भने यौन मनोविज्ञानमा आधारित छन् । पुस्तकमा भएका कथाहरु मध्ये ‘मिठाईमा भुलेको जीवन’, ‘बाईबाई अस्मिता’, ‘सुषुप्त यौन’, ‘आइका’, ‘फेसबुके प्रेम’ र ‘हुनेवाला ज्वाइँ’ पूर्णरुपमा यौनमनोविज्ञानमा आधारित छन् । यी कथाहरुको पृष्ठभूमिमा धेरैजसो नेपाली परिवेश छ भने केही अमेरिकी परिवेश पनि आएको छ ।

त्यसै गरी फरक क्षमताका बोल्न र हिँड्न नसक्ने ब्यक्तिको प्रेम र यौनको पीडालाई कथाकारले सटिक ढंगले उजागर गरेका छन् । त्यसै गरी फेसबुके प्रेमले निम्त्याएको दुःखद घटनालाई पनि कथाकारले सुन्दर रुप दिएका छन् । विदेशमा बस्ने नेपालीले नेपालका सामान्य युवतीलाई कसरी आफ्नो जालमा पार्छन् र केही पैसाको भरमा जीवनभर दुःख बोक्न बाध्य हुन्छन् भन्ने कुरालाई पनि उनले कथामा उतारेका छन् ।

किड्स ड्याड कथामा सौतेलो बालाई छोराछोरीहरुले समेत स्वीकार गरेको देखिन्छ । जोन जसिका र जेकव कथामा जसिका भन्ने महिला पात्रले पार्टीहरुमा जाँदा कोकोसँग कतिपटक सहवास भयो भन्ने यकिन हुन नसकेकाले जन्मेकी छोरीको बाउ पत्ता लाग्न नसकेको अवस्था चित्रण गरिएको छ ।

लाहुरेहरुले आफ्नो ज्यानको बाजी लगाएर विदेशी भूमिमा दुख गरी कमाएको पैसालाई छोराहरुले दुरुपयोग गरेको विषय पनि तमसुकमा आएको छ ।

खाडी बसाइको मूल्य शीर्षकको कथामा राजेश र राजन नामक पात्रहरु खाडी मुलुकतिर सोझिएका हुन्छन् । विहे गरेर श्रीमतीहरुलाई शहरमा कोठामा राखेर विदेश गएका दुवैजना स्वदेश फर्कंदा न त सम्पति वाँकी रहन्छ, न त श्रीमती नै ।

यी कथाहरु पढ्दा विश्वकर्माको उद्देश्य सरलरुपमा सामायिक विषय उठान गर्ने देखिन्छ । सामान्य तर धेरै पाठकसम्म पुग्ने र विवादित विषय सकेसम्म नउठाउने उद्देश्यका कारण पुस्तकले कुनै साहित्य आन्दोलनको भने नेतृत्व गर्दैन

यसअघि कविता सङ्ग्रह प्रकाशन गरेका पदम विश्वकर्माको यो मध्यमस्तरको कथा सङ्ग्रह हो । यद्यपि विदेशको व्यस्त जीवन र संगठनका कामका बीचमा पनि यो स्तरको सङ्ग्रह आउनु नेपाली साहित्यका लागि उपलब्धि मान्नुपर्छ ।

(समीक्षक पौडेल पेसाले सशस्त्र प्रहरीका डीएसपी हुन् । नेपाली साहित्यमा उनी गीतकारका रुपमा चिनिएका छन् । यद्यपि उनी समालोचनामा रुची राख्छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment