Comments Add Comment

जीवनको आनन्द के हो ?

ओशो भन्छन्- सुख र दुःख अस्थायी हुन्

मानिसमा तीन प्रकारको अनुभूति हुन्छ । एक अनुभूति दुःखको हो, एक अनुभूती सुखको हो र एक अनुभूति आनन्दको हो ।

सुखको अनुभूति र दुःखको अनुभूति बाहिरबाट हुन्छ । जब बाहिर हामीले केही चाहन्छौं, प्राप्त गर्छौं तब सुख अनुभूत हुन्छ । हामीले जे चाहेका थियौं, त्यो पुरा भएन भने हामी दुःखी हुन्छौं । सुखी हुनु वा दुःखी हुन दुवै बाहिरी कुरामा निर्भर छ । बाहिरी जुन जगत छ त्यसको सम्बन्धमा हामीसँग दुई किसिमको अनुभूति हुन्छ, दुःखको वा सुखको ।

आनन्दको अनुभूति भने बाहिरबाट प्राप्त हुँदैन । भुलेर पनि आनन्दलाई सुख नसम्झनुहोस् । आनन्द र सुखमा फरक छ । सुख भनेको दुःखको अभाव हो । जहाँ दुःख छैन, त्यहाँ सुख छ । दुःख सुखको अभाव हो । जहाँ सुख छैन, त्यहाँ दुःख छ । आनन्द भनेको दुःख र सुख दुवैको अभाव हो, जहाँ दुःख र सुख दुवै हुँदैन । खासगरी चित्तको परिपूर्ण शान्त स्थिति नै आनन्दको स्थिति हो । आनन्दको अर्थ हो, जहाँ बाहिरको कुनै पनि आन्दोलनले हामीलाई प्रभावित नगरोस्, न दुःखको, न सुखको ।

सुख पनि एक संवेदना हो, दुःख पनि एक संवेदना हो । सुख पनि एक पीडा हो, दुःख पनि एक पीडा हो । सुखले हामीलाई वेचैन गराउँछ, दुःखले पनि । दुवै अशान्ति हो । यसलाई थोरै अनुभव गर्नुहोस्, सुख पनि अशान्ति, दुःख पनि अशान्ति । दुःखको अशान्ति अप्रीतिकर हुन्छ, सुखको अशान्ति प्रीतिकर हुन्छ । यद्यपि दुवै उद्विग्नता हो । दुवै चित्तको उद्विग्न, उत्तेजित अवस्था । सुखमा पनि तपाईं उत्तेजित हुनुहुन्छ । यदि तपाईं अत्यन्तै सुखी हुनुभयो भने मृत्युसम्म हुनसक्छ । जस्तो आकस्मिक सुखमा मान्छेको मृत्युसम्म हुने गर्छ । यत्तिको उत्तेजना दिन्छ सुखले ।

दुःख पनि उत्तेजना हो, सुख पनि उत्तेजना हो । अनुत्तेजना आनन्द हो । जहाँ कुनै उत्तेजना छैन, जहाँ चेतनामा बाहिरको कुनै कम्पन, प्रभाव छैन, जहाँ चेतन बाहिरबाट एकदमै पृथक र आफैमा विराजमान छन् । उत्तेजनाको अर्थ हो, स्वयंमा बाहिरसँग सम्बन्धित हुनु । उत्तेजनाको अर्थ हो, स्वयंभन्दा बाहिर विराजमान हुनु ।

जस्तो कि तालमा लहर उठ्छ, लहर तालमा उठ्दैन । लहर हावामा उठ्छ र तालमा कम्पित हुन्छ । हावाको प्रभावमा, हावाअनुसार तालमा लहर उठ्छ । लहर उठ्नुको अर्थ हो ताल स्वयंमा बाहिर कुनै चिजबाट प्रभावित छ ।

हाम्रो चित्त बाहिरबाट प्रभावित छ । लहर उठ्छ सुखको, दुःखको । हाम्रो चित्त बाहिरबाट प्रभावित नहुने अवस्था हो, आनन्द । सुख र दुःख भन्ने अनुभूति बाहिरबाट आएको हो । आनन्द त्यो अनुभूति हो, जो बाहिरबाट केही पनि आउँदैन । आनन्द बाहिरको अनुभव नभएर स्वयंको अनुभव हो ।

त्यसैले सुख र दुःख हराउन सक्छ । किनभने यी बाहिरी कुरा हुन् । बाहिरबाट आउने कुरा हुन् । कुनै व्यक्ति सुखी थियो, कुनै कारणले थियो । उक्त कारण हटाइदिएपछि उनी दुःखी हुनेछन् । आनन्द निःकारण छ । यसैले बाहिरी कुराले आनन्दलाई नष्ट गर्न सक्दैन । हटाउन वा हराउन सक्दैन । अर्थात् सुख अस्थायी हो, दुःख अस्थायी हो । आनन्द भने स्थायी हो ।

आनन्द नित्य हो । सुख पनि परतन्त्र हो, दुःख पनि परतन्त्र हो । किनभने यसमा अर्काको हात हुन्छ । आनन्द स्वतन्त्र हो । दुःख बन्धन हो, सुख पनि बन्धन हो । आनन्द मुक्ती हो ।

तब आनन्द मनुष्यको आफ्नो चैतन्यको स्थिति हुनेको नाम हो । सुख मिल्छ, दुःख मिल्छ । आनन्द मिल्दैन । आनन्द उपस्थित छ, केवल बुझ्नुपर्छ । सुख पाउने हो, दुःख पनि पाउने हो । तर, आनन्द पाउने होइन । केवल आविष्कार गर्नुपर्छ, केवल अन्वेषण गर्नुपर्छ । त्यो उपस्थित छ । बुझ्नुहोस् कि जुन चिज पाइन्छ, त्यो हराउँछ पनि । आनन्द हराउँदैन । किनभने यो पाइने कुरा होइन । आफैंभित्र रहेको कुरा हो ।

आनन्दको सम्बन्धमा दुई स्थिति छ, एक आनन्दप्रति ज्ञान र आनन्दप्रति अज्ञान ।

महावीरलाई, बुद्धलाई, क्राइस्टलाई जुन आनन्द मिल्यो त्यो आफैंभित्र उपस्थित थियो । हामीभित्र र उनीहरुभित्र बीचको आनन्द दृष्टिले भेद छैन । भेद ज्ञानको दृष्टिले हो । महावीरलाई जुन आनन्द मिल्यो, त्यो तपाईंभित्र पनि छ । तर, त्यो कुरा हामीलाई किन बोध भएन जुन महावीरलाई भयो ?

मान्छेले सुख र दुःखको बोध गर्छ, तर किन आनन्दको बोध गर्न सक्दैन ? किनभने सुख र दुःख बाहिरी हो । मान्छे बाहिरी कुरामा अल्झिएको छ । भित्र प्रवेश गर्ने फुर्सद नै छैन ।

जब सुखबाट हट्नुहुन्छ आनन्दमा प्रवेश गर्नुहुन्छ । त्यो साधना होइन, सामान्य चित्तको भाव हो । दुःखबाट हट्न चाहनु भनेको उनको आकंक्षा सुख हो । जो सुखबाट हट्न चाहन्छ उसले भने आनन्दमा प्रवेश गर्न सक्छ ।

– ओशोधारा ब्लगबाट भावानुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment