Comments Add Comment

पर्यटन बोर्डको बजेट घट्यो, भ्रमण वर्षलाई ३५ करोड

२४ भदौ, काठमाडौं । नेपाल पर्यटन बोर्डको चालु आर्थिक वर्ष २०७६/७७ को बजेट पारित भएको छ । बोर्ड सञ्चालक समिति बैठकले सोमबार १ अर्ब ६३ करोड रुपैयाँको बजेट पारित गरेको हो ।

आर्थिक वर्ष २०७५/७६ मा बोर्डको बजेट १ अर्ब ७५ करोड रुपैयाँ थियो । टिम्स कार्डको बजेट घट्नु तथा बक्यौता कर तिर्नु परेको कारण गत आवको मौज्दात कम भएकाले यस वर्ष बजेट घटेको पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले बताए ।

बोर्डले बजेटबाट १० करोड रुपैयाँ सिधै नेपाल भ्रमण वर्षको सचिवालयलाई दिने भएको छ । त्यसबाहेक करीव २५ करोड रुपैयाँ पर्यटन बोर्ड आफैले भ्रमण वर्ष लक्षित प्रवद्र्धनात्मक कार्यक्रममा खर्च गर्ने गर्नेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले एक वर्षे कार्ययोजनामा समेटेका कुराहरुलाई समेत बजेटमा राखिएको छ ।

बोर्डले एक प्रदेश एक गन्तब्यको अवधारणा अघि सारेको छ । उक्त अवधारणा अन्तरगत प्रत्येक गन्तब्यका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसलाई अन्य निकायहरु समेतको सहभागितामा कार्यान्वयन गर्ने बोर्डको लक्ष्य छ । निजी क्षेत्र, प्रदेश तथा स्थानीय तहको समेत सहभागिता हुँदा उक्त गन्तब्य विकासमा उल्लेख्य बजेट जुट्ने अपेक्षा बोर्डले गरेको छ । यस्ता गन्तब्यमा लगातार तीन वर्षसम्म बजेट विनियोजन गरी त्यसलाई नमूना गन्तब्यका रुपमा स्थापित गराउने योजना समेटिएको छ ।

मोसफलमा मिनी मार्ट

बोर्डले काठमाडौंमा हिमालयन ट्राभल मार्ट र लुम्बिनी ट्राभल मार्ट जारी राख्दै मोफसलका विभिन्न गन्तब्यसम्म मार्ट आयोजनालाई बिस्तार गर्ने भएको छ ।

पोखरा एडभेन्चर टूरिजम मार्ट, पूर्वमा इस्ट ट्राभल मार्ट र पश्चिममा वेस्ट ट्राभल मार्ट आयोजना गरी लोकप्रिय गन्तब्यमा विदेशी पर्यटन व्यवसायी, विदेशी संचारकर्मी तथा ब्लगर बोलाएर मार्ट संचालन गर्ने र त्यसमार्फत पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ । पुराना प्रवद्र्धनात्मक कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।

सन् २०२० मा पर्यटनसँग सम्बन्धित केही ठूला कार्यक्रम नेपालमा आयोजना हुने भएका छन् । सीइओ जोशीका अनुसार ‘वल्र्ड ट्रेल नेटवर्क’ सन् २०२० मा नेपालमा आयोजना हुने भएको छ । यो संसारभरका ट्रेकिङ–ट्रेल व्यवसायीको वार्षिक कन्क्लेभ हो ।

यसबाहेक ‘वल्र्ड इको टूरिजम कन्क्लेभ’ समेत नेपालमा आयोजना गरिने भएको छ । फोटो र भिडियोलाई बढी भन्दा बढी प्राथमिकता दिने लक्ष्य राखेको छ । यस वर्ष काठमाडौं मिथिला फेस्टिवल आयोजना हुने भएको छ । देशभरका धामी झांक्रीलाई काठमाडौं बोलाएर एक ‘शो’ काठमाडौंमा आयोजना गर्ने कार्यक्रम समेत बजेटमा उल्लेख छ ।

प्रवर्द्धनमा नयाँ स्रोत खोजिने

मध्यपूर्वमा तीन/चार वटा नयाँ स्रोत बजारसम्म पुगेर प्रवद्र्धन गरिने योजना बजेटमा समावेश गरिएको छ । भियतनाम, म्यानमार, कम्बोडियाजस्ता मुलुकमा अब बोर्डले प्रवर्द्धनका कार्यक्रम लैजाने छ ।

खासगरी लुम्बिनीमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको संचालन र त्यसलाई पनि विजनेश उपलब्ध गराउने उद्देश्य अनुसार प्रवर्द्धनका कार्यक्रम लक्षित गरिएको हो । अफसिजन गतिविधिमा लक्षित गरी प्रवर्द्धनका कार्यक्रम आयोजना हुने सीइओ जोशीले जानकारी दिए । भारत र चीनलाई भने पहिला जस्तै प्राथमिकतामा राखेर प्रवर्द्धन गरिने भएको छ ।

पूर्वाधारमा सम्भाब्यता अध्ययन

यस वर्ष बोर्डले पूर्वाधारमा धेरै बजेट राखेको छैन । यस वर्ष सम्भावित स्थान छनोट गरी त्यहा सम्भाब्यता अध्ययन गर्ने र आगामी वर्षबाट पूर्वाधार निर्माणलाई प्राथमिकता दिने बताएको छ । इलाम, नारायणी तटजस्ता क्षेत्रको सम्भाब्यता अध्ययन गरी सम्भावित पूर्वाधार निर्माणको अध्ययन गरिने भएको छ । यसबाहेक विभिन्न स्थानमा बनाउन सकिने रिसोर्ट र अन्य पूर्वाधारको पनि अध्ययन हुने बोर्डको बजेटमा उल्लेख छ ।

मास मिडियाबाट प्रवर्द्धन

बोर्डले गन्तब्य प्रवद्र्धनका सिलसिलामा बीबीसी, सीएनएन जस्ता ठूला मिडियामा नेपालको विज्ञापन बजाउने कार्यक्रमलाई निरन्तरता दिएको छ । लोन्ली प्लानेट र ट्रीप एडभाइजरसँगको सहमति पनि निरन्तर जारी रहने भएको छ । भारत र चीनका विभिन्न संचारमाध्यममा पनि नेपालको विज्ञापन बजाउने कार्यक्रम निरन्तर रहने भएको छ ।

विभिन्न शहरमा चल्ने बसहरुका नेपालको पोस्टर टासी प्रवर्द्धन  गर्ने कार्यक्रमलाई समेत बजेटले निरन्तरता दिएको छ । विदेशस्थित दूतावासहरुसँगको सहकार्यलाई समेत जारी राख्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment