Comments Add Comment

दुर्गेशले ‘तिहार गीत’ युट्यूबबाट हटाए

गायक दुर्गेश थापाको विवादित ‘तिहार गीत’ अन्ततः यूट्यूवबाट हटाइएको छ । प्रहरीको अनुरोधमा गीत हटाउन आफू तयार भएको थापाले अनलाइनखबरलाई बताए ।

थापाको गीतका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । जिप्रकाले महानगरीय प्रहरी अपराध महाशाखा टेकुलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा आजै महाशाखाले गोंगबुबाट थापालाई पक्राउ गरेको छ । थापा अहिले पनि महाशाखामा नै छन् ।

‘म अहिले उहाँहरुसँग छलफलमै छु, उहाँहरुले हटाउनुपर्छ भनेपछि यूट्यूवबाट हटाइएको छ,’ थापाले भने । गीत हटाएपछि प्रहरीले आफूलाई छाड्ने उनले आशा गरे ।

थापाको गीतले देउसीलाई विकृत तरिकाले प्रस्तुत गरेको र संस्कृति विगारेको आरोप लागेको छ । साथै गीतमा वीयरको प्रचार पनि गरिएको छ । यूट्यूवमा राम्रो भ्यूज बटुले पनि अत्यधिक आलोचना भएको थियो । आलोचनाका कारण थापाले कमेन्ट बक्स नै खाली गरिदिएका थिए ।

‘बीच्च बीच्चमा’ बोलको तिजगीतबाट चर्चामा आएका थापा यसअघि चलचित्र ‘छ माया छपक्कै’ को प्रवर्द्धनात्मक गीत गाउँदा समेत विवादमा मुछिएका थिए ।

थापाको च्यानलबाट गीत हटे पनि अन्य व्यक्तिहरुले कपि गरेर यूट्यूबमा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment