Comments Add Comment
टिप्पणी :

प्रधानमन्त्रीको स्वास्थ्यमा खेलबाड नगरियोस्

केपी ओलीबाट सिक्नुपर्ने कुरा धेरै छन्, अब आरामको खाँचो छ

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार अजरबैजानबाट फर्केकै दिन बालुवाटारमा केहीबेर आराम गरेर प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘सिस्नोपानी देउसी’ मा सहभागी भए ।

‘सिंगापुरको बिल भर्ने को होला ?’ भन्नेजस्ता आफैंविरुद्धका व्यंग्य वाण सुनिसकेर सम्वोधनका लागि मञ्चमा उभिँदा प्रधानमन्त्रीको अनुहार अलिअलि सुन्निएजस्तो र आँखाका डीलमा पानी जमेजस्तो देखिन्थ्यो । (हेर्नुहोस् माथिको तस्वीर)

भाइटीकाको अघिल्लो दिन अर्थात् सोमबार पार्टीका समकक्षी प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगे । प्रधानमन्त्रीसँग कुराकानी गरेर फर्केपछि प्रचण्डले निकटस्थलाई भनेका थिए, प्रधानमन्त्रीको स्वास्थ्यका कारण धेरैबेर कुराकानी हुन पाएन । केहीबेर कुरा गरेर उहाँ आराम गर्न जानुभयो ।’

प्रचण्डको यो भनाइले प्रधानमन्त्री सोमबारै बिरामी थिए भन्ने बुझिन्थ्यो ।

मंगलबार भाइटीकाको दिन । बहिनीका हातबाट भाइटीका ग्रहण गरिसकेपछि प्रधानमन्त्री ओलीले छोटो प्रतिक्रिया दिए । सबैको स्वास्थ्य राम्रो होस्, सबैको भलो होस् भन्दै गर्दा प्रधानमन्त्रीको आफ्नै स्वास्थ्यचाहिँ निकै कमजोर देखिएको थियो । स्वर पनि केही भासिएको जस्तो सुनिन्थ्यो ।

हेर्नुहोस् तिहारको भिडियो

बुधबार अकस्मात प्रधानमन्त्रीलाई स्वास्थोपचारका लागि ग्राण्डी अस्पताल लगिएको खबर आयो । नियमित स्वास्थ्य जाँच गरेर बुधबार नै प्रधानमन्त्री बालुवाटार फर्कने प्रधानमन्त्रीको सचिवालयले झूठो जानकारी सम्प्रेषण गर्‍यो । प्रधानमन्त्रीको अवस्था सामान्य रहेको उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले मिडियालाई बताए ।

तर, साँझसम्म आइपुग्दा प्रधानमन्त्री सचिवालयको सूचना स्वतः खण्डित भयो । प्रधानमन्त्रीलाई अस्पतालमा भर्ना गरेर राखियो । र, दुईघण्टा डायलासिस गरियो ।

देशको प्रधानमन्त्रीको उपचारमा कुनै पनि कसर बाँकी राखिनु हुँदैन र अलिकति पनि हेलचेक्र्याइँ हुनुहुँदैन ।

प्रधानमन्त्रीको सचिवालय र निजी चिकित्सकको भनाइलाई नै पत्याएर पत्रकारहरुले ओलीलाई केही भएको छैन, बुधबार नै बालुवाटार फर्कंने कार्यक्रम छ भनेको भए आम जनता गुमराहमा पर्ने स्थिति बन्ने निश्चित थियो । तर, पत्रकारहरुले गोप्य सूत्र परिचालन गरेर भए पनि जनतालाई सत्य–तथ्य सूचना दिने प्रयास गरे । प्रधानमन्त्रीको डायलाइसिस गरिएको सूचना बाहिर आयो, जसको पुष्टि भोलिपल्ट प्रचण्डको अभिव्यक्ति र अस्पतालको विज्ञप्तिमार्फत भयो ।

प्रधानमन्त्रीको डायलासिस गरियो भन्ने सूचना ‘सूत्रहरुबाट थाहा भयो’ भन्दै पत्रकारले जनतामा पस्कनुपर्ने पीडादायी अवस्था प्रधानमन्त्रीको सचिवालयका कारण उत्पन्न भएकै हो । प्रधानमन्त्रीको सचिवालय र चिकित्सकहरुले जनतालाई गुमराहमा पार्न खोजेको देखिन्छ । जनतालाई मात्र होइन, आफ्नै पार्टीका नेताहरुसँग पनि वास्तविकता लुकाउन खोजिएको देखिन्छ ।

प्रधानमन्त्रीलाई अस्पतालको बेडमा भर्ना गरेर आईसीयूमा राखिन्छ, तर उनको सचिवालय भन्छ– उहाँ तत्कालै, आजै बालुवाटार फर्कँदै हुनुहुन्छ ।

प्रधानमन्त्री ओली देशका कार्यकारी प्रमुख हुन् । उनी नेकपाका अध्यक्ष मात्र होइनन्, सम्पूर्ण नेपाली जनताका प्रधानमन्त्री हुन् । आफ्ना प्रधानमन्त्रीको स्वास्थ्योपचार कसरी भइरहेको छ र उनको अवस्था कस्तो छ भनेर थाहा पाउनु आम जनताको सूचनाको हक हो । प्रधानमन्त्रीको डायलासिसबारे आम जनताले जानकारी नपाउनुपर्ने र यसलाई गोप्य राखिरहनुपर्ने कुनै कारण थिएन ।

प्रधानमन्त्रीलाई ग्राण्डी अस्पतालमै किन लगियो ? त्यहाँको उपचार सबैभन्दा राम्रो भएर हो ?

उपचारका बेला अस्पतालमा नेताहरुको भीड लाग्नु र सबैले भेट्न जानु स्वास्थ्यका दृष्टिकोणले सही मानिँदैन । तर, प्रधानमन्त्रीको वास्तविक अवस्थाबारे नेकपाका शीर्ष नेताहरु जानकार हुनैपर्छ र आवश्यक पर्‍यो भने प्रधानमन्त्रीलाई तत्काल अन्य अस्पतालमा लानुपर्ने भएमा नेकपा नेताहरुले तत्काल निर्णय गर्नुपर्ने पनि हुन सक्छ ।

तर, प्रधानमन्त्रीको स्वास्थ्यबारे बुझ्न ग्राण्डी अस्पतालमा पुगेका नेकपाका शीर्ष नेताहरुसँग टक्टकिँदै डाक्टरहरुले नेतालाई हल्का जवाफ दिएर फर्काइदिएको गुनासो पार्टीभित्र सुनिन थालेको छ ।

यसवीचमा प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले अस्पतालमै पुगेर भेट गरेका छन् । अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले पनि विहीबार दोस्रो डायलासिस सकिएपछि भेट गरे । तर, भीम रावल र नारायणकाजी भने डाक्टरको ओठे जवाफ पाएर फर्किए ।

बुधबारदेखि नै ग्राण्डी अस्पतालका चिकित्सक र स्वयं प्रधानमन्त्रीको सचिवालयले ओलीको स्वास्थ्यस्थितिबारे वास्तविकता लुकाउने भगिरथ प्रयास गरेको पाइयो ।

देशको प्रधानमन्त्रीको उपचारमा कुनै पनि कसर बाँकी राखिनु हुँदैन र अलिकति पनि हेलचेक्र्याइँ हुनुहुँदैन । यसका लागि प्रधानमन्त्रीको सचिवालय र नेकपाको सचिवालयले गम्भीर बन्न आवश्यक छ । आम जनता र कमसेकम आफ्ना कार्यकर्ताहरुलाई नियमितरुपमा वास्तविक सूचना नलुकाइकन दिइरहन जरुरी छ ।

विगतमा राणा र राजाहरुले जस्तै गरी जनतामा सूचना लुकाउने तरिका लोकतान्त्रिक एवं खुल्ला समाजमा वाञ्छनीय हुँदैन । प्रधानमन्त्रीको स्वास्थ्यबारे सूचना लुकाउन खोज्ने प्रधानमन्त्रीको सचिवालयको कार्यशैली आलोच्य विषय हो ।

कतिपय मानिसहरुको तर्क के छ भने उपचारमा डाक्टरलाई पत्याउने हो, पत्रकार वा नेतालाई भन्दा चिकित्सकलाई बढ्ता विश्वास गर्नुपर्छ । सतहमा हेर्दा यो कुरा सही नै लाग्छ । तर, कतिपय अवस्था यस्तो पनि हुन्छ कि डाक्टरले आफ्नै अस्पतालमा निको पार्छु भनेर दाबी गर्दागर्दै दुर्घटना ननिम्तियोस् भनेर बिरामीका आफन्तहरु सधैं सतर्क रहनुपर्छ । आम विरामीको जस्तै प्रधानमन्त्री ओलीको उपचारको हकमा पनि यही कुरा सत्य हो ।

नेकपाका नेताहरु आफ्ना अध्यक्षको उपचारमा ग्राण्डीका डाक्टरको मात्र भर परेर कानमा तेल हालेरै बसिरहने वा तत्कालै गम्भीरतापूर्वक छलफल गर्ने ? यो नेकपाको सचिवालयले बुझ्ने कुरा हो । त्यसैले नेकपाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे गम्भीरतापूर्वक विचार गरोस् र उपयुक्त समयमा उपयुक्त निर्णय लेओस् । प्रधानमन्त्रीको उपचारमा हेलचेक्र्याइँ नगरियोस् । स्वास्थ्यमा खेलवाड नहोस् ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीलाई के भएको हो ? यस्तो छ वास्तविकता

ग्राण्डी अस्पताल त्यही हो, जसले धरानका मेयर तारा सुब्बालाई बचाउन नसकेको नजीर छ । पूर्वमन्त्री शेरबहादुर तामाङकी सासूलाई पनि बचाउन नसकेको नजीर छ । बोल्दै अस्पताल पुगेका झापाका देवी घिमिरेलाई १४ दिनपछि मृत घोषित गरिएको नजीर छ । यी सबै घटनाहरु हेर्दा के यही अस्पतालले प्रधानमन्त्रीलाई ठीक पार्छ भनेर ढुक्क हुन सकिएला त ? सकिन्छ भने त राम्रै हो, तर सकिँदैन भने बिरामीका आफन्तहरुले समयमै उपयुक्त निर्णय लिन सक्नुपर्छ । प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि यसबारेमा नेकपाका शीर्ष नेतासँग तत्काल छलफल गर्न आवश्यक देखिएको छ ।

ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएर बालुवाटार फर्कदै प्रधानमन्त्री ओली । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

आखिर प्रधानमन्त्रीलाई ग्राण्डी अस्पतालमै किन लगियो ? त्यहाँको उपचार सबैभन्दा राम्रो भएर हो ? वा, प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाह ग्राण्डी अस्पतालकी नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट विभागकी अध्यक्ष भएकैले प्रधानमन्त्रीलाई त्यहाँ लगिएको हो ? यसको पनि विश्लेषण नेकपाका नेताहरुले गर्नुपर्छ ।

प्रधानमन्त्रीको स्वास्थ्य उनका निजी चिकित्सक वा उनको सचिवालयका सीमित सदस्यहरुको मात्र सरोकारको विषय होइन । प्रधानमन्त्री देशका नेता हुन् । उनी नेकपाका अध्यक्ष हुन् । देशको कार्यकारी प्रमुखको उपचारबारे सिंगो पार्टी र जनताले चासो राख्न पाउनुपर्छ । प्रधानमन्त्रीलाई कोटरीमा सीमित गरेर उनको स्वास्थ्यमाथि खेलवाड गरिनु हुँदैन । आवश्यक परेमा राज्यले खर्च गरेर उचित ढंगबाट स्वास्थोपचार गराइनुपर्छ ।

कोइरालाको दुःखान्त कथा

भीभीआइपीको उपचारमा किचन क्याबिनेटका मानिसहरुले कसरी प्रभाव जमाउँछन् र गल्ती गर्छन् भन्ने उदाहरण नेपालमा प्रशस्तै छन् ।

पूर्वप्रधानमन्त्री वीपी कोइरालाको ०३९ साल साउन ६ गते ६७ वर्षको उमेरमा निधन भयो । उनको उपचारमा नियमितरुपमा संलग्न डाक्टर थिए–डा. सुन्दरमणि दीक्षित । तर, कोइराला परिवारले उपचारमा गम्भीर त्रुटी गरेको डा. दीक्षितसँग तीतो अनुभव छ । केही वर्ष पहिले अनलाइनखबरसँगको कुराकानीका डा. दीक्षितले वीपी कोइरालाको उपचारबारे वृतान्त नै सुनाएका थिए–

‘तीनजना डाक्टर वीपी बाबुकोमा गए । मैले सिस्टरलाई जुन औषधि नहाल्नोस् है भनेको थिएँ, उनीहरुले त्यही औषधी हाले । तीनजना डाक्टरको राय मिलेन । बैंककको डाक्टर बोलाए । उनीहरुलाई केस के हो भन्ने थाहा थिएन । उनीहरुले सास फेर्ने ठाउँमा चिरे र बैंकक उडाएर लगे । यहीँ चिरेर लगेपछि बैंकक पुर्‍याउँदा इन्फेक्सन भयो ।’

यो पनि पढ्नुहोस वीपीको मृत्युपछि मलाई दोष लगाइयोः डा. सुन्दरमणि

वीपी कोइरालाको मात्र किन ? अर्का पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पनि वीपीको जस्तै भयो । सुशील कोइरालाको निधन डाक्टरकै घरमा ( डा. शशांक कोइरालाको घरमा) भएको हो । उनलाई राति अस्पतालै पुर्‍याउन पाइएन । नजान्ने भनौं भने घरमा डाक्टरै थिए । तर, सुशीललाई एकान्त घरमा भन्दा समयमै अस्पतालमा राखेर डाक्टरहरुले निगरानी गरेको भए त्यस्तो दुर्घटना नहुने कांग्रेस नेताहरु अझै पनि बताउने गर्छन् । सूचना लुकाउन खोजेकै कारण कतिपयले त्यसबेला सुशील कोइरालाको निधन अस्वाभाविक हो कि भनेर अनावश्यक शंका पनि गरे ।

यस्ता घटनाबाट नेकपाका नेता र स्वयं प्रधानमन्त्री ओलीको सचिवालयले सिक्न जरुरी देखिन्छ । प्रधानमन्त्रीको स्वास्थ्यबारे सूचना लुकाउनेतिर भन्दा पनि नेकपाका शीर्ष नेताहरुसँग छलफल गरेर अगाडि बढ्दा उचित हुने देखिन्छ । यसका लागि प्रचण्ड, माधव, वामदेव, झलनाथ लगायतका सचिवालयका नेताहरुले तत्काल बैठक गर्नुपर्ने अवस्था देखिएको छ ।

सबैलाई थाहा भएकै कुरा हो प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था निकै नै ‘क्रिटिकल’ अवस्थामा छ । अहिले अवस्था समान्य रहेको भनिए पनि अब नियमित डायलासिस गर्ने या मृगौलाको रि–ट्रान्सप्लान्ट गर्ने विषयमा तत्काल एउटा निर्णयमा पुग्नुपर्ने अवस्था छ ।

प्रधानमन्त्री ओली विहीबार साँझ डिस्चार्ज भएका छन् र बालुवाटार फर्केका छन् । प्रधानमन्त्रीले भनेका छन्- आईएम फिट ! तर, यसको अर्थ यो होइन कि उनको शरीरलाई आरामको खाँचो छैन ।

प्रधानमन्त्रीलाई आरामको खाँचो

प्रधानमन्त्री निकटस्थ स्रोतका अनुसार सिंगापुरबाट फर्कने बेलामा नै प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले आराम गर्न र ‘इन्फेक्सन’ बाट बच्न भनेका थिए । तर, प्रधानमन्त्री ओली चिकित्सकको सल्लाह विपरीत आफ्नो स्वास्थ्यको ख्यालै नगरी सक्रिय रहँदै आएका छन् ।

सधैं सक्रिय रहन चाहने प्रधानमन्त्रीको स्पिरिट र आराम गर्नुपर्ने उनको शारीरिक अवस्थावीच तीब्र अन्तरविरोध देखा परेको छ ।

चिकित्सकहरुको विश्लेषणमा प्रधानमन्त्री ओलीले अब हप्तामा दुईपटक डायलासिस गर्नुपर्ने सम्भावना देखिएको छ । हुन त नियमित डायलासिस गरेर पनि मानिसले आफूलाई दैनिक जीवनमा सक्रिय बनाउन सक्छ ।

तर, प्रधानमन्त्री ओलीको मृगौला १२ वर्षअघि नै ट्रान्सप्लान्ट गरिएको हुनाले हप्तामा दुईपटक डायलासिस गर्दै प्रधानमन्त्रीकै भूमिका निभाइरहनु जोखिमपूर्ण हुने र अब प्रधानमन्त्री ओलीले आराम गर्दा नै आफ्नो शरीरमाथि न्याय हुने चिकित्सकहरु बताउँछन् ।

हुन त नियमित डायलासिस गरेरै पनि प्रधानमन्त्री चलाउन नसकिने होइन । गिरिजाप्रसाद कोइरालाले अक्सिजनको सिलिण्डर लगाएरै पनि प्रधानमन्त्री चलाएकै हुन् ।

चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीले सिंगापुरबाट फर्केपछि नै आराम गर्नेबारेमा सोच्नुपर्ने थियो । आफ्नो शारीरिक अवस्थाको ख्याल गरेर उनले अजरबैजान भ्रमणमा जानै हुँदैनथ्यो । डाक्टरले आराम गर्न भनिसकेपछि यसमा प्रधानमन्त्री गम्भीर हुनुपर्ने थियो ।

प्रधानमन्त्री ओलीबाट सिक्नुपर्ने कुरा

स्वास्थ्यको विषयमा चर्चा गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीबाट हामी आम नेपालीले सिक्नुपर्ने कुरा धेरै छन् । प्रधानमन्त्री ओली दृढ ईच्छाशक्ति भएका नेता हुन् । पञ्चायतकालमै जेलमा रहेका बेला उनी अल्सरलगायतका विभिन्न समस्याले ग्रस्त बनेका थिए । तर, बिरामी पर्दा उनले कहिल्यै हरेस खाएनन् ।

सधैं सक्रिय रहन चाहने प्रधानमन्त्रीको स्पिरिट र आराम गर्नुपर्ने उनको शारीरिक अवस्थाबीच तीब्र अन्तरविरोध देखा परेको छ ।

जेलमा हुँदा ओली यतिसम्म बिरामी परेका थिए कि दिशा–पिसाबसमेत साथीहरुले गराइदिनुपर्ने स्थिति थियो । जेलमा रहेका अन्य नेताहरुले उतिबेलै ओलीलाई माया मारिसकेका थिए । तर, त्यस्तो अवस्थामा हुँदा पनि ओली जीवनप्रति उत्साही र आशावादी देखिने गरेको अहिले पनि राधाकृष्ण मैनाली सम्झन्छन् ।

अहिले पनि शारीरिक अवस्था कमजोर हुँदाहुँदै पनि प्रधानमन्त्री ओलीको खटाइ र सक्रियता उदाहरणीय छ । कतिपय मानिसहरु सामान्य विमारी हुँदैमा अब म सकिएँ भन्ने ठान्छन् । देशमा मृगौलाका विरामीहरु धेरै छन्, उनीहरु प्रायः निराश छन् । तर, ओलीमा यस्तो निराशा कहिल्यै देखिएन ।

१२ वर्ष पहिले नै मृगौलाले काम नगरेर अर्काको एउटा मृगौलाबाट जीवनयापन गरिरहेका ओलीको त्यसयताको सार्वजनिक जीवन सधैंभरि सक्रिय र सफलतापूर्वक अघि बढेको छ ।

केपी ओलीको राजनीतिक विचार, दृष्टिकोण, कार्यशैली र खस्रोपनप्रति धेरै मानिसहरुको असहमति र विमति हुन सक्छ । तर, जीवन सौन्दर्यका हिसाबले प्रधानमन्त्री ओली विपक्षीहरुले पनि सिक्न लायकका आकर्षक पात्र हुन् । बिरामीहरुका लागि त उनी प्रेरणाका स्रोत नै हुन् भन्दा पनि अन्यथा नहोला ।

अन्त्यमा, प्रधानमन्त्री केपी शर्मा ओलीको दीर्घजीवन एवं स्वास्थ्यलाभको कामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अरूण बराल

अरूण बराल अनलाइनखबर डटकमका सम्पादक हुन् ।

ट्रेन्डिङ

Advertisment