Comments Add Comment

निर्यात दिगो बनाउन कार्ययोजना बनाउँदैछौं : अर्थमन्त्री

५ कात्तिक, काठमाडौं । सरकारले निर्यात वृद्धिलाई दिगो बनाउन आवश्यक पर्ने नीतिगत व्यवस्थासहितको कार्ययोजना बनाउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवाडले निर्यात वृद्धिलाई दिगो बनाउन चाल्नुपर्ने थप कदमका सम्बन्धमा कार्ययोजना बनिरहेको जानकारी दिएका छन् ।

सोमबार नेपाल गलैचा उत्पादक तथा निकासीकर्ता संघद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खतिवडाले कार्ययोजना निर्माण गर्न मन्त्रालयका उच्च अधिकारीहरुलाई निर्देशन दिइसकेको जानकारी गराउँदै आफ्नो प्रस्ताव मन्त्रालयमा ल्याउन निजी क्षेत्रलाई आग्रह समेत गरेका छन् ।

‘कार्य योजनामा सरोकारवालाको सुझाव आवश्यक पर्छ । हामीले देखेको र तपाईंहरुले भोगेको कुरा फरक पर्न सक्छ’, उनले भने, ‘केवल सुविधा, कर छुट, अनुदान मात्र होइन, त्यसभन्दा एक कदम अगाडि उठेर दिगो व्यवसायका प्रस्ताव ल्याउनुस, सँगै बसेर एउटा निर्णयमा पुगौं ।’

निर्यात प्रवर्द्धन गर्न निर्यातमूलक उद्योगको संरक्षणमा सरकार गम्भीर रहेको भन्दै आवश्यक सहयोग गर्न तयार रहेको समेत उल्लेख गरे । अब तयारी पोशाक, गलैचालगायत नेपाली उत्पादनको कच्चा पर्दा कपास, धागो, ऊनको स्वदेशमै पर्याप्त उत्पादनको आवश्यकता रहेको अर्थमन्त्री खतिवडाले बताए ।

‘यसमा के गर्न सकिन्छ, तपाईहरु नै प्रस्ताव ल्याउनुस,’ उनले व्यवसायीसँग आग्रह गरे । सम्भाव्य, व्यवहारिक, सरकारले धान्न सकिने र व्यवसायीले पनि जोखिम लिन सक्ने गरी प्रस्ताव आएमा खुला छलफल गरी निर्णयमा पुग्न सकिने उनको भनाई थियो । निकट भविष्यमा निर्यात प्रवर्द्धनसँग सम्बन्धित मन्त्रालयका सचिव, वित्त व्यवस्थापन गर्न ऋण दिने संस्थाका प्रमुख र अर्थ मन्त्रालयबीच छलफलको तयारी भइरहेको समेत उनले जानकारी दिएका छन् ।

उनले स्वदेशमा उत्पादन नै नभएका वस्तुको उत्पत्तिको प्रमाणपत्र जारी नगर्न व्यवसायीलाई सचेत गराउँदै त्यसले राज्य र व्यवयायकै समेत बदनाम भइरहेको बताए । स्वस्छ र पारदर्शी व्यवसायलाई सरकारले पनि सहयोग गर्ने उनको आश्वासन छ ।

उनले कार्पेटको मूल्य अभिवृद्धि गरी निर्यात गर्न सक्ने व्यवसायीलाई अनुदानको समेत व्यवस्था गर्न सकिने बताएका छन् । निर्यातमुलक उद्योगलाई चर्को ब्याज लिने बैंकहरुसँग छलफल गर्न सकिने भन्दै उनले श्रमिकको हकमा भने उद्योगहरु नै सचेत हुनुपर्ने बताए ।

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले श्रमिका धेरै विषय समेटेको भन्दै यसलाई पालना गर्न व्यवसायीसँग आग्रह गरे । ‘श्रमिकको अधिकारको कुरा गर्ने पार्टी अहिले सरकारमा छ,’ उनले भने, ‘श्रमजिवी वर्गको उत्थानमा हिँडियो, दुई छाक पनि खान नपाउने भए के जनताको सरकार ? प्रश्न उठ्छ, हामीलाई दवाव छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment