Comments Add Comment

माथिल्लो तामाकोसीमा रोल्वालिङ मिसाइँदै

२९ कात्तिक, काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत कम्पनीले २२ मेगावाटको रोल्वालिङ जलविद्युत आयोजना पनि बनाउने भएको छ । त्यसका लागि हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन कम्पनीसँग पूर्वतयारीका कामका लागि ठेक्का सम्झौता भएको छ ।

कम्पनीले पहुँचमार्ग र अडिट टनेल बनाउने लगायत विभिन्न पूर्वतयारीका काम गर्नेछ । सो काम सकिएपछि आयोजना निर्माणकै लागि ठेक्का सम्झौता हुने आयोजना प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिए ।

रोल्वालिङ खोला छोरोल्पा हिमताबाट निस्केको पानी बग्ने खोला हो । यो खोलको पानी अहिले माथिल्लो तामाकोसीको बाँधस्थलभन्दा तल खस्छ । यो आयोजना बनेपछि भने रोल्वालिङ खोलाको पानी माथिल्लो तामाकोशीको बाँधस्थलभन्दा माथि लगेर खसाइनेछ र २२ मेगावाट विजुली पनि उत्पादन गरिनेछ । यसबाट तामाकोसीमा हिउँदमा पनि पानीको मात्रा बढेर माथिल्लो तामाकोसी आयोजनाको विजुलीको उत्पादन बढ्नेछ ।

विद्युत विकास विभागबाट २०७४ को भदौमा नै २२ मेगावाटको रोल्वालिङ जलविद्युत आयोजना निर्माण गर्ने अनुमति पनि तामाकोसीले नै पाएको थियो । आयोजना प्रमुख श्रेष्ठ रोल्वालिङको पानी तामाकोशीको रिजर्भवायरमा खसाल्दा तामाकोसीबाट हिउँदमा पनि उत्पादन बढाउन सकिने बताउँछन् ।

तामाकोसीको जलाशयको सतहभन्दा करिब दुई सय मिटरमाथिबाट रोल्वालिङ डाइभर्सनको सुरुङ आउँछ । उक्त ‘वाटर हेड’ प्रयोग गरी २२ मेगावाटको अलग्गै आयोजना निर्माण गर्न लागिएको हो । यसबाट हिउँदमा १६ करोड ९० लाख युनिट बिजुली थपिने अनुमान छ । यसले २ सय गिगावाट आवर थप विजुली प्राप्त गर्न सहयोग गर्ने श्रेष्ठ बताउँछन् ।

करिब ८० मेगावाटका आयोजनाबाट उत्पादन हुने बराबरको विद्युत रोल्वालिङ डाइभर्सनबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । त्यसका लागि करिब सात किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ । यसको विस्तृत अध्ययन भइसकेको छ ।

माथिल्लो तामाकोसीमा ऋण लगानी गरिरहेका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत निकायले यसमा लगानी गर्दैछन् । रोल्वालिङ डाइभर्सनको बाँधस्थल विकट क्षेत्रमा रहेकाले त्यहाँसम्म समान आपूर्ति गर्न रोप–वे निर्माणका गर्नुपर्नेछ । रोपवेबाट निर्माण सामग्री ढुवानी गरेर आयोजनाको बाँधस्थलसहितथको संरचना तयार गरिनेछ ।

प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशकका रुपमा आएपछि तामाकोसीमा हिउँदमा पनि पर्याप्त विजुली उत्पादन गर्ने योजना अनुरुप यसको अध्ययन सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment