Comments Add Comment

विनय सरका दुई सपना !

‘तपाईँसँग जरुरी कुरा गर्नुछ । फुर्सद भए आउनुस् न ।’

दुई वर्षअघि बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानलाई एकाबिहानै फोन आयो । ०३२ सालदेखि परिचित साहित्यकार विनय कसजूको निमन्त्रणालाई अस्वीकार गर्ने कुरै भएन । बरु भेट हुनेवित्तिकै कसजूले व्यक्त गरेको कुराले भने असहज महसुस गरायो ।

‘अब म कति दिन बाँच्छु र ?’

सामान्य औपचारिकतापछि कसजू विषयवस्तुमै प्रवेश गरे ।

त्यसअघि बालसाहित्यको श्रीवृद्धिका लागि ‘केही गर्ने’ इच्छा भएको उनले बताए । मुटुको दुई पटक ‘बाइपास सर्जरी’ गरिसकेकाले कसजूमा त्यस किसिमको भावना आएको हुन सक्छ ।

भेटमा कसजूले बालसाहित्यको क्षेत्रमा थप के-के गर्न सकिन्छ भनेर विमर्श गरे ।

आफ्नो योजना पनि सुनाए, ‘एउटा यस्तो वेवसाइट बनाउन चाहन्छु, जसमा अहिलेसम्म निस्किएका बालसाहित्यका सबै कृतिका परिचय होस् ।’

लेखक, प्रकाशक वा कृतिको नाम लेखिसक्दा सम्पूर्ण जानकारी पाइने गरी डिजिटल संग्रह बनाउने इच्छा रहेको उनको भनाइ थियो । त्यसका लागि सन्दर्भ सामग्री जुटाउने क्रममा रहेछन्, उनी ।

मार्टिन चौतारीको प्रकाशनमा प्रधानले ‘नेपाली बालवाङ्मय परिचय कोष’ निकालेका थिए । त्यसमा भएका विवरण पनि वेवसाइटका लागि उपयोगी हुने भन्दै कसजूले एकप्रति मागेको प्रधान सम्झन्छन् ।

बाल्यकालमा रिडीका जोगीसँग कसजू यति नजिकिए कि शाकाहारी मात्र बनेनन्, ध्यान र तपश्या नै गर्न थाले

सूचना प्रविधिमा आफू स्वयम् दख्खल राख्ने भए पनि माइला छोरा दिपंकरको भरमा उनले यो कार्य गर्न लागेका थिए । जेठा छोरा अभिनव र दिपंकरको इन्टरनेटको क्षेत्रमा बुबाभन्दा बढी अनुभव र जाँगर थियो । कुनै समयको चर्चित वेबसाइट साइबर संसार डटकमका सञ्चालक हुन्, उनीहरु ।

सङ्कलित सामाग्रीलाई वेवसाइटमा अपलोड गर्नेबारे छलफल भए पनि नमूना तयार पार्ने कार्य मात्र सकिएको दिपंकर बताउँछन् ।

पूर्णरुपमा काम नसकिँदै निमोनियाले गाँजेपछि कसजूले १० मंसिरमा प्राण त्यागेका छन् । दिपंकर भन्छन्, ‘बुबाको इच्छालाई निरन्तरता दिन सहयोग गर्ने कोही भेटिए काम गर्न सहज हुने थियो ।’

सुखद् बाल्यकाल

वि.सं. २००४ सालमा पाल्पा, तानसेनको सम्पन्न परिवारमा कसजू जन्मिए ।

बुबा मोतिकुमार गुल्मी, रिडीका चर्चित व्यापारी थिए । आमा तारालक्ष्मी धार्मिक स्वभावकी थिइन् । भजन, रामायणका श्लोक र हसना हुसेनको कथा सुनेर हुर्किने अवसर उनले पाए ।

कक्षा ८ सम्मको अध्ययन रिडी बजारमै गरे । विद्यालयमा प्रत्येक साताको शुक्रबार हुने साहित्यिक कार्यक्रममा सक्रिय सहभागिता जनाउँथे । यसले बाल्यकालबाटै कसजूमा साहित्यप्रति लगाव सिर्जना गराएको थियो ।

रिडी धार्मिक पर्यटकीय स्थल पनि हो । बाल्यकालमा त्यहाँका जोगीसँग उनी यति नजिकिए कि शाकाहारी मात्र बनेनन्, ध्यान र तपश्या नै गर्न थाले ।

त्यसबेला कालिगण्डकी र रिडीको संगमस्थलमा मेला लाग्ने गर्थ्यो । मुक्तिनाथ मन्दिर दर्शन गर्न पनि यही बाटो भएर जानुपर्ने भएकाले साधुसँग उनको निकटता बढ्यो  । कक्षा ९ र १० पढ्न काठमाडौं आएपछि भने जोगीसँग उनको संगत टुट्यो ।

फर्पिङमा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालयबाट २०२० सालमा उनले प्रवेशिका (एसएलसी) उत्तीर्ण गरे । त्यहीबेला अर्थात् वि.सं. २०१९ सालमा ‘रिडीको परिचय’ शीर्षकमा कसजूको पहिलो लेख गोरखापत्र दैनिकमा प्रकाशित भयो ।

त्यसवेलासम्म उनलाई सबैले बद्रीकुमार भनेर चिन्थें । तर, नोबेल पुरस्कार प्राप्त साहित्यकार रविन्द्रनाथ टैगोरको ‘गोरा’ नामक उपन्यास पढेपछि भने उनको नाम फेरियो । उपन्यासमा भएका ‘विनय’ नामक पात्रबाट प्रभावित भएर उनले नाम परिवर्तन गरेका थिए ।

पारिवारिक स्रोतका अनुसार आईए पढ्न वनारस पुगेपछि कसजू फेरि जोगीसँग नजिकिए । तर, निकटतासँगै त्यस क्षेत्रमा भएका विकृतिबारे जानकारी पाएपछि साधुको संगत त्यागे ।

नेपालमा हवाई पत्रमा कथा संग्रह प्रकाशन गर्ने श्रेय कसजूलाई नै जान्छ । ट्वीटर कथा संग्रह पनि पहिलो पटक कसजूले नै निकालेका हुन्

सांकृत्यायनको किताबले बनायो कम्युनिस्ट

विज्ञान विषय लिएर उच्च शिक्षा अध्ययनका लागि विनय बनारस गएका थिए । तर, पढाइ राम्रो हुन नसकेपछि कला पढ्न थाले । संकाय परिवर्तनसँगै कसजूले विभिन्न व्यक्तिका पुस्तक पढ्न थाले ।

उत्तर प्रदेशकी पूर्वमुख्यमन्त्री कमलापति त्रिपाठीले लेखेको ‘पत्र और पत्रकार’ पढेपछि उनलाई समाज रुपान्तरणमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने रहेछ भन्ने लाग्यो । त्यसैले पत्रकारितासम्बन्धी अन्य पुस्तकहरु पनि पढ्न थाले ।

बनारसमै साहित्यकार राहुल सांकृत्यायनले लेखेको ‘साम्यवाद ही क्यों’ नामक पुस्तक पढे । त्यसबाट प्रभावित भएर उनी कम्युनिस्ट बने । ०२४ सालमा गाउँ फर्किएपछि उनको राजनीतिक र पत्रकारिता यात्रा झाँगियो ।

घर आउँदा रिडी गाउँ पञ्चायतका प्रधानपञ्चले भर्खरै राजीनामा दिएका थिए । सरल स्वभाव, राम्रो पारिवारिक पृष्ठभूमि र वनारसमा पढेर आएका कारण स्थानीयले उनलाई प्रधानपञ्चमा उठ्न आग्रह गरेको पत्नी गंगादेवी सुनाउँछिन् ।

त्यसबेला २१ वर्ष नभई निर्वाचनमा भाग लिन पाइँदैनथ्यो । कसजूको उमेर एक वर्ष कम भयो । यद्यपि, जनताले उनलाई निर्विरोध निर्वाचित गराइदिए ।

प्रधानपञ्च भएका वेला तत्कालीन राजा महेन्द्रलाई रिडी भ्रमण गराउने क्रममा कसजू ।

ग्रामीण पत्रकारिताका गुरु

प्रधानपञ्चको कार्यकाल सकिएपछि कसजूले पत्रकारिताको अभ्यास गर्ने मौका पाए । तत्कालीन युवा संगठनका नेता शक्ति लम्सालले भैरहवाबाट ‘दैनिक निर्णय’ नामक अखबार प्रकाशन गर्थें ।

लम्साल रिडी घुम्न आएका बेला कसजूले पत्रकारिता पढेको थाहा पाए । र, रिडी संवाददाता बनाइदिए ।

केही वर्षपछि उनी पुनः पाल्पा फर्किए । तानसेनमा दैनिक निर्णयको संवाददाता पहिल्यै भएकाले काठमाडौंबाट प्रकाशित हुने ‘समीक्षा’ साप्ताहिकमा लेख्न थाले ।

काठमाडौंको पत्रिकामा तीन वर्ष काम गरेको अनुभव हासिल भएपछि उनलाई आफैं पत्रिका निकाल्ने हुटहुटी भयो । त्यसो त फर्पिङमै पढ्दा पनि शिक्षाविद् धरणीधर कोइरालाको सुझाव अनुसार कसजूले साहित्यिक पत्रिका प्रकाशन गर्न खोजेका थिए ।

विभिन्न व्यक्तिसँग छलफलपछि ०२८ सालमा उनले ‘श्रीनगर’ नामक त्रैमासिक पत्रिकाको प्रकाशन सुरु गरे । पत्रिका छाप्न कसजू आफैं बनारस र गोरखपुर पुग्थे ।

सधैँ भारत धाउँदा उनी आजित भइसकेका थिए । त्यसैले दुई वर्षपछि आफैं छापाखाना सञ्चालन गरे । त्यसवेला करिब २० हजार रुपैयाँमा खरिद गरेर स्थापना गरिएको छापाखानाले विभिन्न व्यक्तिका किताब पनि प्रकाशन गर्न थाल्यो ।

एक दशक बढी त्रैमासिक पत्रिका चलाएको अनुभवले उनमा साप्ताहिक पत्रिका निकाल्ने जोश दिलायो । छापाखाना पनि आफैंसँग भएकाले गाह्रो नहुने उनको निष्कर्ष थियो ।

दैनिक निर्णयमा स्थानीय समाचार लेख्दा पत्रिकाको विक्री बढेको उनले महसुस गरेका थिए । त्यसैले पाल्पालाई आधार बनाएर ०४० सालदेखि ‘सत्य साप्ताहिक’को प्रकाशन सुरु गरे । त्यतिवेलै पत्रकारितासँग सम्बन्धित एक कार्यक्रममा भाग लिन कसजू काठमाडौं आए । जहाँ वरिष्ठ पत्रकार भरतदत्त कोइरालासँग उनको भेट भयो ।

कोइरालाबाट उनी झनै प्रेरित भए र ग्रामिण पत्रकारितालाई स्थापित गराउन भूमिका खेले । राष्ट्रिय राजनीतिको चर्चा, परिचर्चाभन्दा टाढा रहेर स्थानीय उद्यम, कृषि, विद्यालयका वाषिर्कोत्सव, पूजा, सभा लगायतका विषयलाई  प्राथमिकता दिएर प्रकाशन गरे ।

पत्रिका प्रकाशनका क्रममा कसजू पटकपटक प्रहरी हिरासतमा पुगेको इतिहास छ ।

कसजू पत्नी गंगादेवी ।

कसजूसँग ०३२ सालमा वैवाहिक बन्धनमा बाँधिएकी बाग्लुङकी गंगादेवी राजभण्डारी पाल्पाको शिक्षक संगठनकी कोषाध्यक्ष थिइन् । शिक्षक आन्दोलन चर्किरहेको समयमा गंगादेवीहरुलाई समर्थन गरी समाचार लेखेका कारण उनले पाल्पा जेलमा एक हप्ता र तौलिहवा जेलमा तीन हप्ता बस्नुपर्‍यो ।

बिराटनगरको प्रगतिशील पत्रिकामा छापिएको कवितालाई सत्य साप्ताहिकको तीज विशेषांकमा प्रकाशित गरेवापत पनि कसजूलाई राज्यविरुद्धको कसूर गरेको अभियोग लगाइएको थियो । उनीमाथि लागेको मुद्दा ०४६ सालको आन्दोलनपछि बनेको सरकारले खारेज गर्‍यो ।

नेपाली पत्रकारिता इतिहासमा ‘विदाइ अंक’ निकालेर बन्द भएको पत्रिका पनि यही भएको सञ्चार विज्ञहरु बताउँछन् । जानकारहरुका अनुसार ५०० औं अंक प्रकाशनपछि ०५२ सालमा कसजूले पत्रिका बन्द गरेका थिए ।

त्यससँगै कसजूले ‘गाउँले देउराली’ पत्रिका प्रकाशनको तयारी थाले, जुन अहिले पनि प्रकाशित भइरहेको छ । यो पत्रिकाले ग्रामीण पत्रकारिताको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको मानिन्छ ।

स्वीडेन यात्राले बनायो बालसाहित्यकार

देउरालीमा तीन वर्षसम्म सम्पादकीय नेतृत्व सम्हालेर ०५३ सालमा कसजू राजधानी छिरे । काठमाडौं आएर पुस्तक लेखन कार्यलाई जोड दिए । मोफसलमा छँदै मुलुकको पत्रकारिता जगतमा पृथक छाप बनाएका कसजू नेपाल प्रेस इन्सटिच्युटको तालिम संयोजक बने । र, पत्रकारितासम्बन्धी प्रशिक्षण दिँदै मुलुकका ४० जिल्ला पुगे ।

तालिम दिने र लिने क्रममा कसजू स्वीडेन, थाइल्याण्ड, बंगलादेश, अमेरिका, डेनमार्क, जर्मन, फ्रान्स लगायतका देशमा पनि पुगे । अन्तरर्राष्ट्रिय इन्टरनेट सम्मलनमा भाग लिन पहिलो पटक उनी स्विडेन पुगेका थिए । त्यहीबेला प्रख्यात बालसाहित्य सर्जक आस्टि्रड लिन्ग्रेनको जन्मस्थल र बालपार्कमा पुग्ने मौका उनले पाए । फर्किएर कसजूले त्यसबारे पुस्तक पनि लेखेका छन् ।

बाल साहित्यमा लागेकाहरु कसजूलाई सम्झन्छन्, ‘नयाँ जानकारी र सामाग्री बाँडचुँड गर्ने र लेखिरहन प्रोत्साहित गरिरहने विनय सरमा भएको गुण कमैसँग हुन्छ ।’

लोकतान्त्रिक पद्दतिबारे अध्ययन भ्रमण गराउन नेपालबाट १२ जना पत्रकारलाई लाने निर्णय हुँदा कसजूले पुनः स्वीडेन भ्रमण गर्ने अवसर पाए । सन् १९९३ दोस्रो पटक स्विडेन जाँदा भने नेपालको राजनीतिक अवस्था र आन्तरिक द्वन्द्वबारे प्रस्तुतिकरण दिए ।

यो भ्रमणमा कसजू अर्का प्रसिद्ध बालसाहित्य सर्जक हान्स क्रिश्चियन एन्डरसनको जन्मस्थल र म्युजियममा पुगे । त्यहीँ नेपाली बालसाहित्यको क्षेत्रमा केही गर्ने संकल्प लिएको उनले पंक्तिकारसँग भेटमा बताएका थिए । कसजूले आफ्ना बालसाहित्यमा प्रविधिसम्बन्धी विषयलाई बढी जोड दिन्थे । उनका बालसाहित्य सम्बन्धी रचनाका अधिकांश पात्रहरु जनावर हुन्थे ।

मान्छे भन्दा जनावरलाई पात्र बनाउँदा बालबालिकाका लागि चाख लाग्दो र पठनीय हुने कसजूको तर्क थियो ।

उनले म्याउँ-म्याउँ बिरालो, स्माइल प्लिज, कान्छोको मोटर, मुसाको भोजमा विरालो, मुसालाई दोसल्ला, वनको दमकलसहित ४७ वटा बालसाहित्य सम्बन्धी रुचिकर पुस्तक नेपाली बालबालिकालाई सुम्पिएका छन् ।

पछिल्लो समय भने कसजू लेख्नुभन्दा लेख्न सिकाउनु महत्वपूर्ण हुने सम्झेर तालिम र पुस्तक सम्पादन कार्यमा व्यस्त रहने गरेका थिए । बाल साहित्यमा लागेकाहरु कसजूलाई सम्झन्छन्, ‘नयाँ जानकारी र सामाग्री बाँडचुँड गर्ने र लेखिरहन प्रोत्साहित गरिरहने विनय सरमा भएको गुण कमैसँग हुन्छ ।’

प्रधानमन्त्रीको प्रेस सल्लाहकार बन्ने प्रस्ताव अस्वीकार

सूचना प्रविधिमा दख्खल भएका कसजू राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख आयुक्त बने । नेतृत्वमा आउनु अघि आयोगको प्रारुप बनाउने काममा पनि उनी खटिए । ०६५ सालदेखि २०६८ सालसम्मको अवधिमा उनी सूचनाको अधिकार सम्बन्धी लडाइँमा होमिए । उनले ‘सूचना प्रविधिको शक्ति र नेपालमा यसको उपयोग’ जस्ता सूचना प्रविधि सम्बन्धी पुस्तक र विभिन्न पत्रपत्रिकामा दर्जनौं लेख पनि लेखेका छन् ।

तस्वीरः कसजूको फेसबुकबाट

झलनाथ खनाल सञ्चारमन्त्री भएका बेला उनी राष्ट्रिय समाचार समिति (रासस) को सञ्चालक समिति सदस्य बने । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा नेपाल प्रेस काउन्सिलको सल्लाहकार पनि भए । त्यसबेला उनलाई प्रधानमन्त्रीकै प्रेस सल्लाहकार बन्ने प्रस्ताव पनि आएको थियो । तर, अस्वीकार गरे ।

कसजूले राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको सल्लाहकार जस्ता भूमिकामा रहेर थुप्रै संघ संस्थामा काम गरे । कसजूको योगदानको मूल्यांकन गर्दै उनलाई प्रकाश मानव अधिकार अवार्ड (१९५५), गोपाल चन्द्र गौतम पत्रकारिता अवार्ड (१९९५) लगायत थुप्रै सम्मान प्रदान गरिसकिएको छ । उनका कृतिहरु अंग्रेजी, हिन्दी, जापानिज लगायत विभिन्न भाषामा पनि अनुवाद गरिएका छन् ।

पुराना सामग्रीको संरक्षण

पारिवारिक स्रोतका अनुसार कसजूले ०२५ सालदेखि लेखेका समाचार कार्बन प्रयोग गरेर प्रतिलिपि तयार गर्थें । तीमध्ये अधिकांश अझै सुरक्षित छन् ।

विद्यालय पढ्दा ताकाका सामग्री, चिठी पत्र, टाइपराइटर जस्ता सामग्रीलाई उनी जतन गर्थें । साहित्यकार प्रमोद प्रधानले बिराटनगरबाट २०३३ सालमा पठाएको पत्र कसजूले केही वर्षअघि देखाउँदा उनी दंग परेका थिए । प्रधान मात्र होइन, मदमणि दीक्षित लगायतका पत्र पनि जस्ताको तस्तै थिए ।

कतिपय महत्वपूर्ण र ऐतिहासिक तस्वीर मदन पुरस्कार गुठीलाई कसजूले हस्तान्तरण गरेको प्रधान बताउँछन् ।

नेपालमा हवाई पत्रमा कथा संग्रह प्रकाशन गर्ने श्रेय पनि कसजूलाई नै जान्छ । उनी र विजय सागर दुईजना मिलेर हवाई पत्रमा कथा छापेर हुलाकबाट पठाउने प्रचलनको सुरुवात् २०३५ सालमा भएको थियो । नेपालमा पहिलो पटक ट्वीटर कथा संग्रह पनि कसजूले नै निकालेका हुन् ।

कसजू १९६५ देखि निरन्तर दैनिकी लेख्दै आएका थिए । एक दशकदेखि भने कम्प्युटरमै टाइप गर्थें । पछिल्लो समय शरीरलाई असहज महसुस हुँदै गएपछि उनले आत्मकथा लेख्ने तयारी थालेका थिए । तर, मूर्तरुप दिन नपाउँदै उनी अनन्त निन्द्रामा विलीन भइसकेका छन् ।

जेठा छोरा अभिनव भन्छन्, ‘बुबाले २०१९ सम्ममा लेख्नु भएको फाइल भेटेको छु । अरु विभिन्न कुरा पनि खोज्नु पर्नेछ ।’

मृत्यु संस्कारको सम्पूर्ण कार्य सकिएपछि विस्तृतमा खोजी गरेर पुस्तकको आकार दिने परिवारको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment