
२३ मंसिर ,बुटवल । बुटवलमा पहिलो पटक आयोजित साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी सकिएको छ ।
बुटवलस्थित हिलपार्क गेटमा आयोजना गरिएको पुस्तक प्रदर्शनी ८ हजारले अवलोकन गरेको तथा करिब ४ लाखका पुस्तक बिक्री भएको संस्थाका अध्यक्ष दलबहादुर गुरुङले बताए ।
पाठ्यक्रमबाहेकका साहित्य, कला, संस्कृति र संगीतसँग सम्बन्धित पुस्तकहरू प्रदर्शनमा राखिएको थियो ।
नयाँ पुस्तामा पठन संस्कृति बढाउन गरिएको साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनीले नयाँ उचाइ थपेको सचिव श्यामलाल पोखरेलले दाबी गरे ।
पुस्तक प्रदर्शनीमा साहित्य, कला, संस्कृति, संगीत, नारी चेतना, इतिहास, बालसाहित्य, प्रगतिशीलता, स्वास्थ्य, सहरलगायत विभिन्न दुई दर्जन विषयमा चर्चासमेत गरिएको थियो ।
सम्बन्धित क्षेत्रका जनप्रतिनिधि तथा प्रदेश मन्त्री, साहित्यकार, लेखक, स्तम्भकार, सामाजिक अभियान्ताले तीन दिनसम्म बहस गरेका थिए ।
पहिलो दिन प्रदेश–५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, घनश्याम कोइराला, डा. राजेन्द्र खनाल, साहित्यकारहरू जंगबहादुर शाह र दोस्रो दिन रामचन्द्र श्रेष्ठ, प्राध्यापक दिल सहनी, प्राध्यापक हुमाकान्त पाण्डेय, डाक्टर मुरारी पराजुली,विमलबहादुर शाक्य र अन्तिम दिन सहप्राध्यापक ऋषिराम भुसाल, प्राध्यापक डा. कपिलदेव लामिछाने, डा. लक्ष्मी पोखरेल र बुटवल उपमहानगरपालिकाकी उपमेयर गोमादेवी आचार्यलगायतले साहित्य, बजार, इतिहास र भविष्यबारे धारणा राखेका थिए ।
साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनीमा वुँद राना, वरिष्ठ आख्यानाकार जंगबहादुर शाह, मीनबहादुर राना, सरिता श्रीसलगायत साहित्यकारहरूले रचना वाचन गरेका थिए ।
प्रतिक्रिया 4