Comments Add Comment

स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई उपाध्यक्षको कोसेली

२३ मंसिर, गोरखा । स्वास्थ्य संस्थामा सुत्केरी गराउन अभिप्रेरित गर्ने उद्देश्यका साथ बारपाक सुलिकोट गाउँपालिकाले उपाध्यक्ष कोसेली कार्यक्रम लागू गरेको छ । गर्भवती महिलालाई लक्षित गरी चालु आर्थिक वर्षबाट कार्यक्रम लागू गरिएको हो । उक्त कार्यक्रम अन्तर्गत चार पटक नियमित गर्भ जाँच गराउन आउने महिलालाई पोषणयुक्त खानेकुरा तथा न्यायो कपडा वितरण गरिने स्वास्थ्य शाखाका कृष्ण भट्टले बताए ।

‘गर्भवती भएको चौथौ, छैठौं, आठौं र नवौं महिनामा नियमित गर्भ जाँच गराउनुपर्छ,’ उनले भने, ‘पहिलो पटक गर्भ जाँच गराउन आउनेलाई चना केराउ लगायतका गेडागुडी दिन्छौ ।’ पाँच सय रकम बराबरको गेडागुडी दिइने उनले बताए । छैठौं महिनामा दोस्रो पटक गर्भ जाँच गराउन आउनेलाई अण्डा र सरसफाइका सामग्री वितरण गरिने उनले जानकारी दिए ।

सरसफाइ सामग्री अन्तरगत सावुन, नङकट, ब्रस, मन्जन पर्ने उनको भनाइ छ । आठौ महिनामा तेस्रो पटक गर्भ जाँच गराउन आउनेलाई स्थानीय जातको फलफुल दिइने उनले बताए । ‘स्थानीय स्तरमा पाउने सुन्तला, अम्वा, मेवा लगायतका फलफुल दिने भनेका छौं, त्यसका लागि रकम दिने की फलफुल नै दिने भन्ने एकीन भइसकेको छैन,’ भट्टले भने । नवौं महिनामा चौथो पटक गर्भ जाँच गराउनेलाइ न्यायो कपडा वितरण गरिने गाउँपालिकाले जनाएको छ । ‘न्यानो झोला सरकारले दिन्छ त्यसमा हामीले पछ्यौरा थपेर दिन्छौं,’ उनले भने ।

स्वास्थ्य संस्थामा सुत्केरी गराउन उत्प्रेरित गर्ने उदेश्यका साथ कार्यक्रम लागू गरिएको गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङले बताइन् । ‘अझै पनि कतिपय ठाउँमा घरमै सुत्केरी गराउने प्रचलन छ, स्वास्थ्यसंस्थामा जानुपर्छ भन्ने चेतनाको पनि कमी छ,’ उनले भनिन्, ‘उनीहरुलाइ लक्षित गरी कार्यक्रम ल्याएका हौ ।’ सुत्केरी तथा नवजात शिशुलाइ कुपोषण हुनबाट जोगाउन पनि कार्यक्रमले सहयोग पुग्ने उनले बताइन् ।

कार्यक्रमका लागि चालु आव तीन लाख ५० हजार रकम गाउँपालिकाले छुट्याएको छ । गत आवमा नियमित चार पटक गर्भ जाँच गराउन आउने गर्भवती महिलालाई सरकारले दिने रकममा गाउँपालिकाको तर्फबाट एक हजार थप गरेर प्रदान गरिएको पालिका उपाध्यक्ष गुरुङले बताइन् । ‘गत वर्षको कार्यक्रम प्रभावकारी नै देखियो, त्यसैले यो वर्ष थप कार्यक्रम ल्याएका हौ,’ उनले भनिन् ।

जोखिमयुक्त सुत्केरी गराउनका लागी स्वास्थ्य संस्थाबाट जिल्ला सदरमुकाम लैजान निशुल्क एम्वुलेन्स सेवा पनि पालिकाले दिदै आएको छ । ‘हाम्रो गाउँपालिकाको स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसकेमा गोरखा अस्पताल रिफर गर्ने हो, स्वास्थ्य संस्थाबाट अस्पताल लान एम्वुलेन्समा जति खर्च लाग्छ त्यो गाउँपालिको व्यहोर्छ,’ स्वास्थ्य शाखाका भट्टले भने ।

जोखिमयुक्त सुत्केरी प्रेषण यातायात खर्चका लागि पालिकाले चालु आर्थिक बर्ष तीन लाख रकम विनियोजन गरेको छ । गाउँपालिकामा करिव ८० प्रतिशत गर्भवती महिलाले स्वास्थ्य संस्थामा सुत्केरी गराउने गरेको गाउँपालिकाको तथ्याङ्क छ । २० प्रतिशतले भने घरमै सुत्केरी गराउने गरेका छन् । महिला स्वयमसेविकाका लागी फोन र यातायात खर्च वापत गाउँपालिकाले मासिक एक हजार रकम उपलब्ध गराउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment