Comments Add Comment

जब विपिनलाई डाक्टरले ‘छोरी जन्मिएको खबर सुनाए’…

चलचित्र ‘प्रसाद‘ रिलिज भइसकेको थियो । ‘प्रसाद’मा विपिन कार्की निःसन्तान बाबुको भूमिकामा देखिएका थिए । चलचित्रमा उनी आफ्नो शारीरिक समस्याले गर्दा पिता बन्न नसकेको देखाइएको थियो ।

यो त भयो पर्दा भित्रको कुरा । तर, रियल लाइफमा भने विपिन पिता बनिसकेका थिएनन् । विवाह भएको ५ वर्ष बित्दै गर्दा रिलिज भएको यो चलचित्रले उनको मन सिरिङ्ग बनायो । आफूसँगै डर लाग्न थाल्यो । सोही समयमा आफन्त र परिवारले पनि विपिनलाई प्रश्न गर्न थाले–‘‘कतै चलचित्रको कथासँग वास्तविकता मिलिरहेको त छैन ?‘

आफन्तहरुले ‘अब त सन्तान जन्माउने बेला भयो त‘ भनेको बर्षौ भैसकेको थियो । तर, विवाहपश्चात् विपिनले श्रीमति रेश्मा कटुवालसँग ५ वर्षपछि मात्र सन्तान जन्माउने सल्लाह गरेका थिए । त्यसैले ५ वर्षसम्म उनीहरुले अरुको कुरा सुने मात्र ।

‘प्रसाद’ रिलिजपछि पारिवारिक दवावले विपिन पिता बने भन्ने गसिप चलिरहेको छ । तर, विपिन त्यस्तो नभएको बताउँछन् । ‘प्रसादले गर्दा नै त नभनुम् । पहिला देखि नै परिवारबाट त कुरा आइरहेको हो । उक्त चलचित्रपछि झन दवाव बढेको थियो‘, विपिन भन्छन्, ‘तर, हाम्रो योजना पनि ५ बर्षपछिकै थियो । ‘प्रसाद’ रिलिज हुनु संयोग बन्यो ।‘

रेश्मा गर्भवती भैसकेकी थिइन् । विपिनले साथीहरुसँग कुरा गर्न थाले । विपिनका साथीहरु अधिकांश बुबा बनिसकेका थिए । उनीहरुले आफ्नो अनुभव विपिनलाई सुनाउथ्य । साथीहरुले आफू बुबा बन्दाको अनुभव विपिनसँग साट्ने गर्थे ।

विपिन उनीहरुले भनेको कुरा सुन्थे तर महशुस भने गर्न पाएकै थिएनन् । त्यसैले पनि उनलाई सामान्य नै लागिरह्यो । विपिन भन्छन्–‘साथीहरु यस्तो हुन्छ, उस्तो हुन्छ । यसो गर, त्यसो नगर भन्थे । म उनीहरुको कुरा सुन्थेँ । उनीहरुले भनेको कुरामा म तयार थिएँ । तर, ती कुराहरु मलाई सामान्य नै लाग्थ्योँ ।’

मंसिर २ गते । बिहानीपखको समय थियो । रेश्मा बल्खु स्थित बयोदा अस्पतालको बेडमा थिइन् । त्यसै समय डाक्टरले विपिनलाई बोलाएर भने–‘उहाँको प्रेसर बढेको छ । शरीरमा पानी जम्न थालेको छ । त्यसैले अप्रेशन गर्नु पर्ने भयो ।’

रेश्मा र विपिनको सल्लाह सामान्य नै होस् भन्ने थियो । तर, त्यसो भइदिएन । डाक्टरले सामान्य तरिकाले नहुने भनेपछि रेश्मालाई अप्रेशन थिएटरमा लगिएको थियो । विहानको यस्तै ६ बजेर ३७ मिनेट गएको थियो ।

रेश्मालाई अप्रेशन थिएटरमा लगेपछि विपिन रेश्मालाई राखिएको वार्डमा पुगे । त्यहाँको सामान मिलाउने सोचले उनी वार्डमा पुगेका थिए । अपरेशन थिएटरमा लागेको झण्डै ५ मिनेटमा नै विपिनको कानमा खबर पर्यो, ‘छोरी जन्मिइन्, ६ः४२ मा ।’

एकछिन त विपिनले पत्याएनन् । ‘यति छिट्टै अपरेशन हुन्छ होला र ?’, विपिनको मनमा प्रश्न थियो । केही छिनमा डाक्टरले विपिनलाई बोलाए । अनि भने, ‘बधाई छ, ६ः४२ मा छोरी भएकी छिन् । दुबैको स्वास्थ्य राम्रो छ ।’

डाक्टरले दुबैको स्वास्थ्य राम्रो छ भनेपछि विपिनले लामो स्वास फेरे । तर, मन त हो, कता कता डर सुरु भयो । विपिन भन्छन्, ‘त्यो समय दुबैको चिन्ता थियो । अझ, यस धर्तीमा नयाँ आएकी बच्चीको स्वास्थको बढी चिन्ता हुने रहेछ ।’

डाक्टरले बधाई दिएर बुबा बन्नुभयो भन्दाको खुसी उनी शब्दमा बयान गर्न सक्दैनन् । त्यो अचम्मको खुसी उनले अरुको भनाईमा महशुस गरेकै थिएनन् । जब आफूलाई पर्यो, खुसीको सिमा नै थिएन । विपिन भन्छन्, ‘त्यो खुसी त्यसले मात्र महशुस गर्न सक्छ, जो पिता बनेको छ ।’

विपिनलाई आफ्नो सन्तानको अनुहार हेर्ने हत्तारो थियो । तर, उनले केही समय पर्खिए । विपिन भन्छन्, ‘लगभग १५ मिनेट जति कुर्नु परेको थियो होला । तर, त्यो समय मेरो लागि निकै ढिलो चलिरहेको छ जस्तो लाग्यो । लामै समय कुरे जस्तो लाग्यो ।’

जब डाक्टरले विपिनलाई छोरी दिए, विपिन अनयासै हाँसे । ‘आहा, कस्तो खुसी । एकछिन रोकिएर विपिन भन्छन्–‘हे यार, म शब्दमा भन्नै सक्दिन के । यसका लागि तिमी आफै पिता बन्नुपर्छ ।’

केही समयपछि मात्र विपिनले रेश्मालाई भेटे । रेश्मा आलो घाउको दुखाई विर्सिएर हाँसिरहेकी थिइन् । विपिन र रेश्माको योजना पनि छोरी नै हुन् भन्ने थियो । दुबै जनाले खुशी साटे ।

सन्तानको नाम के राख्ने भन्ने बारे उनीहरुले पहिल्यै सोचिसकेका थिए । विपिनले जिस्किएर भन्ने गर्थे–‘छोरा जन्मिए ‘बिरे’ राख्नुपर्छ । विपिनको बि, रेश्मा रे ।’ यो कुरालाई सुन्नेवाला थिइनन् रेश्मा । कारण उनलाई छोरी मन पथ्र्यो । त्यसैले छोरीको नाम सोचिन्, ‘ब्रह्मी’ ।

विपिनलाई यो नाम मन परेको थियो । त्यसैले यसै नाम राख्ने पक्का, गरे । ‘ब्रह्मी’को अर्थ बताउँदै विपिन भन्छन्, ‘ब्रह्मी भनेको ‘महिला भगवान’ भन्ने हुने रहेछ । नाम र अर्थ दुबै राम्रो लागेपछि यही नाम राखियो ।’
रेश्मा र बच्चाको हेरचाहको लागि सम्पूर्ण परिवार विपिनसँगै छन् । आमाले नै बुहारी र नातिनीको स्याहार गरिरहेकी छिन् । दुई जना मात्र बस्दा के गर्ने भन्ने थियो, तर आमा आएपछि विपिन र रेश्मा दुबैलाई सजिलो भएको छ ।

विपिनलाई शुभचिन्तकहरुको वधाइ ओइरियो । विपिन भन्छन्–‘सबैले वधाई दिदा खुशी लाग्ने रहेछ । आफन्त र आफ्ना चिन्ने समय पनि यही रहेछ ।’

जब सुटिङमा हुन्थे विपिन
विपिनले छोरी जन्मिनु भन्दा केही दिन अघि मात्र चलचित्र ‘सेल्फी किङ्ग’को छायांकन सकेका थिए । छायांकनका लागि काठमाण्डौ बाहिर रहँदा विपिन रेश्मालाई फोन गरेर हालचाल सोधिरहन्थे ।

रेश्माले विपिनसँग बेला–बेला आफूलाई गाह्रो भएको सुनाउथिन् । विपिन आतिन्थे । तर, मनलाई शान्त पारेर रेश्मालाई सम्झाउथ्य । विपिन भन्छन्–‘उ डराएको बेला आफू आत्तियो भने उसलाई झन् गाह्रो हुन्छ भन्ने लागेर म उसलाई सम्झाउथ्यँ ।’

सम्झाउँदा विपिनले आमाको बिषयमा धेरै कुरा बताउथ्य । विपिनले रेश्मालाई भन्थे–‘आमाको बारेमा त्यसै यत्रा कविता, कथा, उपन्यासहरु कोरिएका होइनन् । जुन सैभाग्य जो कोहीले पाउँदैन् । त्यसैले नडराउ ।’ विपिनको यो कुराबाट केही उर्जावान हुन्थिन् रेश्मा । सायद, रेश्माको सोही उर्जाका कारण छोरी स्वस्थ जन्मिएकी छिन् । विपिन रियल लाइफमा बाबु भन्दा निकै खुशी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment