Comments Add Comment

‘मेरो किताबमा साहित्य नखोजे हुन्छ, सत्य भेटिन्छ’

२८ मंसिर, पोखरा । मनोरञ्जन व्यापारी, यो आम मान्छेभन्दा फरक नाम हो । पहिलो पटक यो नाम सुन्दा मनोरञ्जनको व्यापार गर्ने मान्छेलाई दिइएको नाम जस्तो लाग्छ । तर उनी व्यापारी होइनन्, लेखक हुन् । आफैं स्वीकार्छन्, ‘मेरो नाम मनोरञ्जन व्यापारी हो । तर म मनोरञ्जन पनि गर्दिनँ र व्यापार पनि गर्दिनँ ।’

बंगाली भाषाका लेखक व्यापारी भारतीय दलित समुदायका हुन्, जसले औपचारिक शिक्षा लिने अवसर कहिले पाएनन् । सारा बालापन खानाको खोजीमा बित्यो । बंगलादेशबाट भारतको बंगाल आएका उनी शरणार्थी शिविरमा बालापन बिताए । उनलाई लाग्छ, ‘शरणार्थी जीवन जेलजस्तो हुन्छ । त्यहाँ कुनै छुट हुँदैन ।’

अति गरिब परिवारमा जन्मिएका उनको बहिनी सानै उमेरमा मृत्यु भएपछि दुखले झन् घेर्‍यो । घरमा खाना र लगाउन समस्या हुन थालेपछि खाना खोज्दै हिँडेको तीतो विगत छ । ‘भारतको सारा ठाउँ कहाँ खाना पाइन्छ भनेर हिँडेको छु,’ व्यापारी भन्छन्, ‘कुकुरको मुखबाट खाना खोसेर खाएको मान्छेबाट त्यति धेरै आस्था पनि राख्नुहुन्न ।’ लगाउने कपडाको अभावमा लाज ढाक्न मच्छड झुल ओडे र त्यही आस्था लुकाउन साँझमात्रै बाहिर निस्कने गरेको सुनाउँछन् उनी ।

जब उनी २० को उमेर बाँचिरहेका थिए, त्यतिबेला भारतमा नश्लवादीले भोकविरुद्ध युद्ध घोषणा गरे । चिया पसलमा कसैले भोकविरुद्ध आन्दोलन सुरु भएको थाहा पाएपछि उनी पनि त्यहीबाट ‘आन्दोलनकारी’ बनेका थिए ।

व्यापारी २४ वर्षको उमेरमा दौडिरहेका थिए । त्यतिबेलासम्म पनि साँवा अक्षर चिन्दैनथे । तर नश्लवादीको पक्ष लिएर आन्दोलनमा होमिएकै कारण जेल परे । त्यसपछि उनको जीवनले नयाँ कोल्टे फेर्‍यो । जेलमै हो उनले अक्षर चिनेको । जेलमा पनि शब्द नचिनेकै कारण दुःख पाएका थिए । त्यही दुःखले पढ्न सिके ।

उनी आज भारतको ‘बेस्ट सेलर’ लेखक छन् । उनी रिक्सा चालकबाट सफल लेखकसम्म पुग्नुमा आफ्नो इच्छाशक्ति भएको बताउँछन् । ‘जो जिउन चाहन्छन्, उनीहरुलाई मार्न कसैको क्षमता हुँदैन’ भन्छन्, ‘म पनि स्कुल गएन । अक्षर जानेन । तर पत्थर तोडेर आफ्नो नाम उच्च बनाएँ । यसरी त यहाँ आए ।’

लेखनसम्म पुग्नुमा मनोरञ्जनको केही रोचक कथा छ । एकदिन उनी रिक्सा चलाइरहेका थिए । त्यसदिन बिहान उनी एउटा किताबमा पढेका थिए, ‘जीजिविषा ।’ शब्द त पढे, तर अर्थ थाहा भएन । रिक्सामा एउटी महिला चढ्न आइन् । उनले तिनै महिलालाई सोधे, जीजिविषा भनेको केहो ?’ उत्तरमा पाए, ‘जिनेकी तमन्ना । अर्थात बाँच्ने रहर । तर तिमीले कहाँ पढ्यौ ?’

आफू धेरै पढ्ने र किताब प्रेमी भएको बताएपछि ती महिलाले भनिछन्, ‘म पनि पत्रिका निकाल्छु । त्यसमा केही लेख न त ।’ त्यसदिन थाहा भयो उनी महास्वेतादेवी रहेछिन् ।

महास्वेतादेवीलाई आफ्नै रिक्सामा भेटेपछि आफूलाई रोक्न सकेनन्, खुट्टामा झुके । जब पछि साँच्चिकै उनले लखेको स्टोरी पत्रिकामा छापियो । धेरैले पत्याएनन् । तर केही समयपछि अरुले पनि माग्न थाले । ‘लेख्दै गएपछि लेखक भएँ,’ उनी सुनाउँछन् ।

पोखरामा भइरहेको नेपाल लिटरेचर महोत्सवमा दिनेश काफ्लेसँग कुरा गर्दै उनले आफ्नो किताब कथा नभएर सत्यतामा आधारित हुने सुनाए । ‘हर कहानी र कथामा लेखक आफैं मौजुद हुन्छ । लेखक जिइरहेको हुन्छ । मेरो किताबमा पनि कहिँ न कहिँ बाँचेको छु,’ भन्छन्, ‘मेरो किताबमा साहित्य नखोजेहुन्छ । सत्य भेटिन्छ ।’

भूइँमान्छेको कथा आफैं उत्तार्न लेखक बनेको उनले बताए । ‘आफ्नो किताबमा मैले त आफ्नो जीवन उतारेको हुँ । जुन तपाईंलाई विश्वास नै छैन । कहिले भोग्नु भएको छैन,’ भन्छन्, ‘मान्छेहरु घरको अग्लो छतबाट रिक्सावालको कथा लेख्छन् । तर उनीहरु दैनिकी कसरी गुजारिरहेको छ, त्यो जान्दैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment