Comments Add Comment

नेपालमा औषधि अभाव हुने डर, भारतीय मन्दीको असर

व्यवसायीहरुले जगेडा राख्न थाले औषधि

भारतमा चलिरहेको आर्थिक मन्दीका कारण नेपालको औषधि उद्योग र व्यवसायमा समेत असर देखिन थालेको छ । देशभर खपत हुने औषधिहरुमध्ये आधाभन्दा धेरै औषधिको लागि नेपाल भारतसँग आश्रति छ । आर्थिक मन्दीका कारण नेपाली औषधि उद्योगले भारतीय उद्योगबाट पाउँदै आएका सुविधाहरुमा कटौती हुने थालेको व्यवसायीहरुको गुनासो छ भने औषधि व्यवसायमा समेत यसले असर देखिन थालेको छ । नेपालमै उत्पादन हुने औषधिहरुको लागि आवश्यक कच्चा पदार्थमा समेत नेपाल भारतसँगै आश्रति रहेकोले पनि मन्दीको असर औषधि उद्योग र व्यवसायमा समेत देखिन थालेको हो ।

तथ्यांकीय रुपमा हेर्दा त यसले नेपालमा खासै ठूलो असर देखिएको छैन । तर, व्यापारिक रुपमा देखिएको समस्याले निकट भविष्यमा नै यसको प्रत्यक्ष असर पर्ने देखिने चिन्ता व्यवसायीहरुको छ । आर्थिक संकटका कारण भारतीय औषधि उद्योगहरुले नेपालमा निर्यात गर्ने औषधिको कच्चा पदार्थ किन्ने क्रममा पहिले ९० दिनसम्मको लागि उधारो दिने गरेकोमा अहिले त्यो सुविधा बिस्तारै कटाउँदै जाने गरेको गुनासो गर्ने गरेका छन् ।

औषधि उद्योग संघका महासचिव विप्लव अधिकारीले पहिले ९० दिनसम्मको लागि उधारो दिने गरेका भारतीय कम्पनीहरुले अहिले मन्दीको कारण कच्चा पदार्थको खरिदमा ६० दिन र ४५ दिन मात्रै उधारो दिन थालेको बताए । ‘अब बिस्तारै मन्दीको प्रभाव सुरु भएको अनुभूति भएको छ ।’ उनले अनलाइनखबरसँग भने ‘नेपालको औषधि उत्पादन क्षेत्रमा खासै सुधार नभएकोले पनि यसको असर पर्ने देखिएको छ ।’

अर्काे तर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भारतीय आर्थिक मन्दीको प्रत्यक्ष असर नेपाली जनस्वास्थ्य क्षेत्रमा नपर्ने बताए । उनले मन्दीका कारण निर्यात हुने सामग्रीहरुमा कमी आउने भएको भएपनि औषधिजन्य बस्तुको आयातमा खासै प्रभाव नपर्ने बताए । पछिल्लो समय सरकारको समेत पहलमा राष्टि्रय औषधि उद्योगहरुको क्षमता विकासको काम तीब्र रुपमा चलिरहेको भन्दै उनले अबको निकट भविष्यमा नै मुलुकमा आन्तरिक उत्पादनले नै औषधिको धेरै माग पूरा गर्ने पनि उनले बताए ।

त्यस्तै, नेपाल औषधि व्यवसायीहरुले भारतीय मन्दीका कारण औषधि आयात र बिक्रीमा प्रभाव पर्ने सक्ने सम्भावित समस्यालाई ध्यानमा राख्दै औषधिहरु स्टक राख्न थालेका छन् । आफूहरुले सम्भावित समस्या व्यवस्थापनको उपाय खोज्न थालिसकेको औषधि व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले सम्भावित असरलाई दृष्टिगत गर्दै आफूहरुले व्यवस्थापनको सबै उपायहरु अपनाउन थालिसकेको बताएका छन् । उनले औषधिहरुलाई बिस्तारै स्टक राख्दै जाने गरेको बताएका छन् ।

अहिले नेपालमा उत्पादन हुने कूल औषधिको ४५ प्रतिशत औषधिहरु नेपालमा नै उत्पादन हुने गरेको छ । त्यसबाहेक ५५ प्रतिशत औषधिहरु अहिले विदेशबाट आयात हुने गरेको छ । त्यसमा पनि एक/दुई प्रतिशत बाहेक अधिकांश औषधिहरुमा नेपाल भारतसँग नै आश्रति छ ।

अहिले भारत स्वयं पनि कूल औषधिको ८० प्रतिशत कच्चा पदार्थको लागि चीनसँग निर्भर छ । भारतले २०७२ सालमा गरेको नाकाबन्दी पछि चीन र तेस्रो देशबाट समेत औषधि आयात गर्न थालेको औषधि उत्पादक संघका महासचिव अधिकारी बताउँछन् । तर, अझैपनि औषधिको लागि धेरै भारतसँग नै नेपाल आश्रति छ । औषधि निर्यातमा परिणामको हिसाबले भारत तेस्रो ठूलो निर्यातकर्ता देश हो । विश्वमा भारतबाट मात्रै कूल खपको २० प्रतिशत जति औषधि निर्यात हुने गरेको विभिन्न अन्तराष्ट्रिय संस्थाहरुको अध्ययनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment