Comments Add Comment

‘माई नेम इज खान’देखि ‘जिरो’सम्मः साहरुखका लागि खराब १० बर्ष

सन् २००० को दोश्रो दशक बलिउडका कलाकारका लागि कोहीलाई सुखद त कोहीका लागि खराब रह्यो । बलिउडमा यो दशकमा थुप्रै कलाकारले बलियो स्थान बनाए । केही कलाकारको भने यो दशक चम्किएन ।

बलिउडमा ‘किङ खान’को उपाधि पाएका नायक साहरुख खानका लागि पछिल्लो १० बर्ष औषत रह्यो । सन् २०१४ सम्म उनका लागि सुखद नै थियो । तर, पछिल्लो ५ बर्षमा उनका चलचित्रले बक्स अफिसमा अपेक्षित व्यापार गर्न नसक्दा उनलाई अन्य नायकहरुले उछिने । यो दशक साहरुखको करिअरका लागि विर्सनलायक बन्यो भन्दा हुन्छ । तर, यही दशकमा उनले धेरै प्रयोगात्मक चलचित्रमा काम गरे ।

सन् २०१० मा साहरुख अभिनित चलचित्र ‘माई नेम इज खान’ रिलिज भयो । यो चलचित्रले व्यापार पनि राम्रो गर्यो भने साहरुखलाई थुप्रै अवार्ड पनि जितायो । सन् २०११ मा साहरुख अभिनित प्रतिक्षित चलचित्र ‘रा वन’ रिलिज भएको थियो । यो चलचित्र बक्स अफिसमा औषत रह्यो । तर, चलचित्रले बलिउडमा भीएफएक्सको नयाँ तरंग भने सिर्जना गरेको थियो । यही बर्ष साहरुख अभिनित अर्को चलचित्र ‘डन २’ रिलिज भयो । यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्यो ।

यो पनि पढ्नुहोस ‘वीरदेखि दबंग ३’सम्मः यस्तो रह्यो सलमानको १० बर्ष

सन् २०१२ मा साहरुख अभिनित चलचित्र ‘जब तक हे जान’ रिलिज भएको थियो । यो चलचित्रले राम्रो व्यापार गर्यो । सन् २०१३ मा रिलिज भएको चलचित्र ‘चेन्नई एक्सप्रेस’ले साहरुखको स्टारडम चम्काइदियो । यो चलचित्रले तत्कालिन समयमा सबै रेकर्ड ब्रेक गरेको थियो ।

यस्तै, सन् २०१४ मा रिलिज भएको साहरुखको चलचित्र ‘ह्याप्पी न्यू इयर’ पनि बक्स अफिसमा चम्कियो । ‘चेन्नई एक्सप्रेस’पछि २ सय करोडको क्लबमा पुग्ने साहरुखको यो दोश्रो चलचित्र बन्यो । तर, चलचित्रको वर्ड अफ माउथ सुखद थिएन ।

साहरुखले अभिनय गरेको चलचित्र ‘दिलवाले’ सन् २०१५ मा रिलिज भयो । यो समयमा साहरुख एक विवादमा फसे । जसकाकारण, उनको चलचित्र रिलिजको समयमा थुप्रै विरोधका घटना भए । बक्स अफिसमा यो चलचित्र हिट त भयो, तर अपेक्षित व्यापार गर्न सकेन ।

सन् २०१६ मा साहरुखले ‘फ्यान’ नामक चलचित्रमा काम गरे । यो चलचित्र बक्स अफिसमा सय करोड कमाउन पनि असमर्थ भयो । यो चलचित्र चिप्लिएपछि साहरुखको करिअर अझै ओरालो लागेको टिप्पणी भयो । सन् २०१६ मै साहरुखले चलचित्र ‘डीयर जिन्दगी’मा काम गरे । यो चलचित्रले बक्स अफिसमा राम्रै कमाई गर्यो । तर, यो चलचित्रको सफलताको जस नायिका आलिया भट्टको पोल्टामा गयो ।

सन् २०१७ मा रिलिज भएको चलचित्र ‘रइस’ बक्स अफिसमा औषत हिट भयो । साहरुखको करिअरका लागि सबैभन्दा खराब चलचित्र ‘जब ह्यारी मेट सेजल’ बन्न पुग्यो । बक्स अफिसमा सय करोड पनि कमाउन नसकेको यो चलचित्रलाई दर्शक र समिक्षक दुबैले रुचाएनन् । यसपछि, साहरुखको आशा सन् २०१८ को डिसेम्बरमा रिलिज भएको चलचित्र ‘जीरो’मा थियो । तर, यो चलचित्र बक्स अफिसमा नराम्रोसँग चिप्लियो । यो चलचित्र नचलेपछि साहरुखले सन् २०१९ मा चलचित्रमा काम नै गरेनन् ।

यसरी, यो दशकमा साहरुखले प्रयोग बढी गरेका छन् । जसमा उनी थोरै मात्र सफल भएको पाइन्छ । साहरुख सन् २०२० सुरु भएसँगै नयाँ चलचित्र घोषणा गर्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment