Comments Add Comment

ताइवानको राष्ट्रपतिमा साइ इङ्ग विन निर्वाचित, चीनलाई धक्का !

२६ पुस, काठमाडौं । ताइवानको राष्ट्रपतिमा साइ इङ्ग विन निर्वाचित भएकी छन् । शनिबार भएको निर्वाचनमा उनी ५७ प्रतिशत भोट सुनिश्चित गर्दै राष्ट्रपति चुनिएकी हुन् ।

राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीकी नेतृ साइ इङ्ग विन र कुमिन्तांग पार्टीका नेता खान ग्वो यी मुख्य प्रतिस्पर्धी थिए ।

राष्ट्रपतिमा साइ इङ्ग विनको विजयलाई चीनको हारको रुपमा लिइएको छ । किनभने उनले हङकङमा भएको प्रदर्शनको समर्थन गरेकी थिइन् । उनले चीन र ताइवानबीच मौजुदा स्थितिको समर्थन गर्दछिन् र चीनसँग निकट सम्बन्ध राख्न चाहँदैनिन् । अर्कोतर्फ उनका प्रतिस्पर्धी खान ग्वो यीले भने चीनसँग सम्बन्ध सुधार गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसैले यो चुनावको परिणामलाई चासोका साथ हेरिएको थियो ।

ताइवान र चीनको विवाद

चीनको आधिकारिक नाम ‘पिपुल्स रिपब्लिक अफ चाइना’ हो भने ताइवानको आधिकारिक नाम ‘रिपब्लिक अफ चाइना’ हो । दुवैको नाममा ‘चाइना’ जोडिएको छ । तर उनीहरु दुवैले एकअर्काको संप्रभुतालाई मान्यता दिँदैनन् । दुवैले आफूलाई आधिकारिक चीन भएको दाबी गर्दै मेनल्याण्ड चाइना र ताइवान द्वीपको आधिकारिक प्रतिनिधि भएको दाबी गर्दछन् ।

व्यवहारिक रुपमा ताइवना यस्तो द्वीप हो जुन १९५० देखि नै स्वतन्त्र रहँदै आएको छ । तर चीन यसलाई आफ्नो विद्रोही राज्य मान्दछ । अर्कोतर्फ ताइवानले आफूलाई स्वतन्त्र र सम्प्रभु राष्ट्र ठान्दछ । चीनले भने ताइवानलाई चीनमा मिसिनु पर्ने मत राख्दै आएको छ चाहे त्यसका लागि बल नै प्रयोग गर्नु किन नपरोस् । त्यसैले चीनले त्यही देशसँग कूटनीतिक सम्बन्ध राख्दछ जसले ताइवानलाई एक स्वतन्त्र देशको मान्यता दिँदैन । हाल निकै थोरै देशहरु छन् जसले ताइवानलाई स्वतन्त्र देशको दर्जा दिन्छन् । यद्यपि कतिपय देशहरुको ताइवानसँग व्यापारिक सम्बन्ध भने छ ।

राष्ट्रपतिमा निर्वाचित साइ इङ्ग विन ताइवानको स्वतन्त्रतासँग सम्झौता गर्न चाहँदैनिन् । उनले हङकङस्तो एक देश दुई सिस्टमको राजनीतिक व्यवस्थालाई खारेज गर्दछिन् ।

यस्तै राष्ट्रपतिका निकटतम प्रतिस्पर्धी खान ग्वो यी र उनको पार्टी केएमटी चीनप्रति नरम मानिन्छन् र चीनसँग निकटको सम्बन्ध बनाउनुपर्ने पक्षमा छन् । यसो गरिएमा ताइवानको आर्थिक अवस्था मजबुत हुने उनको भनाइ छ । यद्यपि उनी पनि चीनसँग ताइवानको एकीकरण गर्नुपर्छ भन्ने पक्षमा छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment