Comments Add Comment

सर्लाहीको मुसहर समुदायमा सुरु भयो उम्लिएको दूधले नुहाउने भुइँया पूजा

१ माघ, जनकपुरधाम । सर्लाहीमा अन्तर्राष्ट्रिय भुइयाँ दिवस बुधबारदेखि प्रारम्भ भएको छ । मुसहर समुदायको कुल देवता दिनाभद्रीलाई स्मरण गर्दै भुइयाँ दिवस मनाउन सुरु गरिएको छ ।

मोरङगदेखि पर्सासम्मका मुसहर समुदाय र छिमेकी राष्ट्र भारतको विभिन्न ठाउँका मुसहर समुदायको सहभागितामा मनाउन सुरु गरिएको यो दिवस सर्लाहीको ईश्वरपुर नगरपालिकामा सुरु भएको छ ।

भुइँया महाराजको तातो दूधले नुहाउने पूजासहित ‘अप्पन संस्कृति अप्पन स्वाभिमान, तोडु विभेदके जंजिर, देखु वीर पूर्खाके नजिर’ मूल नाराका साथ यो दिवस मनाउन सुरु गरिएको छ । तीन दिनसम्म पूजापाठसहित विविध गतिविधि गर्दै भुइँया दिवस मनाइन्छ ।

मुसहर बस्तीको प्रत्येक घरबाट चामल र पैसा संकलन गरी चामलको खिर, खिचडी र पैसाबाट दूध, मिठाई, अगरबती, पान, सुपाडी, ल्वाङ्गलगायत अन्य सामग्री किनेर भुइँया पूजा गरिनेछ । पुस्तौदेखि गर्दै आएको रितिरिवाज अनुसार पूजा गरिनेछ ।

तातो दूधले नुहाएर अपटौनी पूजा गरिने

अन्तर्राष्ट्रिय भुइँया दिवसको पहिलो दिन धाजा फेर्दै पूजापाठ गरिएको छ । दोस्रो दिन बिहीबार मुसहर समुदायको विभिन्न बस्तीबाट झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ ।

यस्तै, तेस्रो दिन प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल, भारत बिहारका पूर्वमुख्यमन्त्री जितनराम माझीको छोरा, मुसहर समुदायको प्रथम पीएचडी तथा विधान परिषदको सदस्य सन्तोष सुमन माझी, पर्वत पुरुष दशरथ माझीका छोरा भागीरथ माझीलगायत नेपालको शिक्षित, बुद्धिजीवी, समाजसेवीहरुको सहभागिता रहने आयोजकमध्येका परोपकारी भोर नामक संस्थाका राजकुमार महतोले जानकारी दिए ।

तेस्रो दिन मञ्चीय कार्यक्रमका साथै उम्लिरहेको तातो दूधले नुहाएर अपटौनी पूजा गरिने, कलाकारद्वारा सांस्कृतिक कार्यक्रम तथा मुसहर समुदायलाई सहयोग गर्ने व्यक्ति तथा सस्थाहरुको सम्मान गर्ने कार्यक्रम रहेको शक्तिहीनको सशक्तीकरण मुसहर समुदायको समग्र उत्थान अभियानको संयोजक पचुलाल माझीले जानकारी दिए ।

मुसहर समुदायको संस्कृति तातो दूधले नुहाइ गर्ने भुइँया महाराजको अपटौनी पूजालाई बचाइ राख्न, भुइँया महाराज (दिनाभद्री)को पहिचान तथा पराक्रमलाई स्थापित गर्न, भुइँयाको अर्थ भूमि भएकोले मुसहर र भूमिबीचको सम्वन्ध र मुसहर समुदायको पूर्खाले भूमिपुत्रको रुपमा गरेको कर्मलाई जनमानस समक्ष ल्याउन, भूमिको राजा भएको मुसहर कसरी भूमिहीन भएर दैनिक जिवन गुजारिरहेको तथ्य जनमानस समक्ष पुर्‍याउन अन्तर्राष्ट्रिय भुइँया दिवस मनाउन लागिएको उनले बताए ।

के हो भुइँया पूजा ?

भुइँया अर्थात् मैथिली शब्दमा तललाई जनाउँछ । तलको अर्थ धर्ती हो । जमिन, माटो वा पृथ्वीलाई भुइँया भन्ने गरिन्छ । भुइँया पूजा प्रकृतिको पुजाको रुपमा पनि लिन सकिने आयोजकको भनाइ छ ।

छैठौ शदाब्बदीमा वर्तमान नेपालकै सप्तरी जिल्लामा जन्मिएका दीना-भद्री  दाजुभाइको पूजा गर्नु नै भुइँया पूजा हो । दीना-भद्री मुसहर समुदायका कुल देवता तथा अन्याय, अत्याचार र शोषणको विरुद्धको महावीर योद्धको रुपमा इतिहासमा वर्णन गरिएको छ ।

दिना-भद्रीलाई मुसहर समुदायले भुइँया महाराज भनेर समेत सम्बोधन गर्दै आएका छन् । मुसहर कुलमा जन्मेपनि उनीहरुले सम्पूर्ण समाजको हितको लागि काम गरेको इतिहासमा छ ।

श्रम शोषक, अन्यायी, अत्याचारी कनक सिहं धामी तथा नवनबेली दुल्हनको डोलीलाई कब्जा गरी जवरजस्ती एक रात शारीरिक सम्बन्ध राख्ने अत्याचारी, सामन्ती जोरावार सिहंलगायत १५१ जना शोषक, अन्यायी, अच्याचारी, सामन्तीसित लडी जित प्राप्त गरेका थिए दिना-भद्री दाजुभाइ ।

यो गुनगान नेपालमा मात्र नभएर छिमेकी देश भारतमा पनि चर्चामा रहेकोले त्यस अनुरुप पनि अन्तर्राष्ट्रिय भुइँया दिवस मनाउन लागिएको आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment