Comments Add Comment

नेपाली ग्यास बुलेट प्रयोगको गाँठो फुकाउन भारत सकारात्मक

८ माघ, काठमाडौं । नेपाली उद्योगीले खरिद गरेको ग्यास बुलेटबाट ग्यास आयात गर्न दिने विषयमा भारत सकारात्मक देखिएको छ ।

अड्किएको प्रक्रिया अघि बढाएर समस्या समाधान गर्न भारतीय पक्षले दिल्लीस्थित नेपाली दूतावासलाई आग्रह गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

गत साता नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत पेट्रोलियम जोइन्ट वर्किङ समूहको पहिलो बैठकमा नेपाली ग्यास बुलेट रोकिएको विषय नेपाली पक्षले प्राथमिकतासाथ उठाएको थियो ।

भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले उद्योग तथा आन्तरिक व्यापार विभाग र पेट्रोलियम सुरक्षा विभागसँग समन्वय गरेर समस्या समाधान गर्न दूतावासलाई आग्रह गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव ध्रुव घिमिरेले बताए । ‘ग्यास बुलेटको विषय छलफलको एजेण्डासमेत बनाउन नमानेको भारतीय पक्षले अहिले भने समाधानका लागि नेपाली पक्षलाई आग्रह गरेको छ,’ घिमिरेले भने ।

नेपाली दूतावासले व्यवसायीहरूसँग समन्वय गरेर छिट्टै थप पहल थाल्ने पनि उनले जानकारी दिए । प्रक्रियामा थप उल्झन नआए १÷२ महिनामै भारतबाट नेपाली बुलेटमा ग्यास आयत सुरु हुने उनको दाबी छ ।

सरकारले बेलैमा पहल नगर्दा आफूहरु बैंकको ऋणमा डुबेको व्यवसायीले बताएका छन् । ‘हामीले ३० महिनादेखि बुलेट किनेबापत बैंकको किस्ता तिरेका छौं तर लामो समय सरकारले सहयोग गरेन,’ नेपाल ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिव घिमिरेले भने ।

ढिलै भए पनि यो पहलले व्यवसायीलाई राहत पुग्ने उनले बताए ।

हाल ५ सय २३ वटा भारतीय ट्रान्सपोर्टरका बुलेट भाडामा लिई नेपाली व्यवसायीले भारतका चार वटा रिफइनरीबाट नेपालमा ग्यास ढुवानी गरिरहेका छन् ।

भारतीय बुलेटबाट ग्यास ढुवानी गर्दा वार्षिक २ अर्बभन्दा धेरै रकम ढुवानीमा मुलुकबाट बाहिरिने गरेको व्यवसायीहरूको दाबी छ ।

भारतले नेपालमा लगाएको नाकाबन्दीपछि नेपाल आयल निगमले नेपाली बुलेटबाट ग्यास आयत गर्ने निर्णय गरेको थियो । ०७३ साउनमा नेपाल आयल निगमले ६ सय बुलेट खरिद गर्न ग्यास उद्योगहरूलाई अनुमति दिएको थियो ।

निगमको अनुमति पछि व्यवसायीहरूले भारतबाट करिब ७० लाख रुपैयाँ लगानी गरेर केही बुलेट किनेका थिए भने धेरै संख्यामा बुलेट बनाउन अर्डर गरेका थिए ।

बनेको नेपाली नम्बर प्लेटको ग्यास बुलेट भारतको एक्स्प्लोसिभ डिपार्टमेन्टले बिस्फोटक सुरक्षा प्रमाणीकरण करिब तीन वर्षदेखि रोकेर राखेको थियो ।

सुरक्षा प्रमाणीकरण नभई भारतीय रिफाइनरीले ग्यास लोड नगर्ने भएकाले व्यवसायीले किनेको नेपाली नम्बर प्लेटको बुलेट भारत तथा नेपालमा थन्किएको थियो । भारतीय बुलेट ढुवानीकर्ताको दबावमा भारतीय पक्षले बुलेटको सुरक्षा प्रमाणीकरणमा उल्झन निकालेको नेपाली व्यवसायीहरूले आरोप लगाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment