
२० माघ, काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा पाटी (सत्तल) निर्माणको जिम्मेवारी पाएको डे आनन्द निर्माण सेवा कम्पनीले दिएको आश्वासन झूठो सावित भएको छ ।
गत पुसको तेस्रो साता कम्पनीका निर्देशक आनन्द अधिकारीले अनलाइनखबरसँग कुरा गर्दै २० दिनभित्र पाटी निर्माण गरिसक्ने बताएका थिए । तर माघको तेस्रो साता वित्न लाग्दा समेत पाटी निर्माण कार्यमा केही प्रगति भएको छैन ।
ठेक्का पाएको डेढ वर्ष वितिसक्दा पनि उक्त कम्पनीले पाटी निर्माण कार्य सम्पन्न गर्न सकेको छैन । डे आनन्द निर्माण सेवा कम्पनीलाई ०७६ फागुनभित्र काम सक्ने गरी ३२ लाख रुपैयाँमा ०७४ असारमा उक्त पाटी निर्माणको लागि ठेक्का दिएको थियो ।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाल भन्छन्, ‘पाटीको छाना छाउने लगायतका काम अझै सुरु हुन सकेको छैन । बुट्टा काटने काम बाँकी नै छ । अझै काम सक्न कति महिना लगाउने हो ? ठेकदार महिनामा एक चोटी मात्रै आउँछ । माघभित्र काम सम्पन्न हुने अवस्थानै छैन ।’
‘अहिलेसम्म छाना छाउने काम सुरु नै भएको छैन । बुट्टा काटने काम बाँकी नै छ,’ उनले भने, ‘अझै काम सक्न कति महिना लगाउने हो ? ठेक्का दिएको त धेरै भइसक्यो । ठेकदार महिनामा एक चोटी मात्रै आउँछ ।’
ठेकदारले गम्भीर भएर काम नगर्दा पाटी निर्माणमा ढिलाइ हुन गएको वडाध्यक्ष रिजालले बताए । सडक विभागले समेत पाटी निर्माणमा खासै चासो नदिँदा ढिलाइ भएको उनले गुनासो गरे ।
०७० सालमा सडक विभागले सडक विस्तारको क्रममा सोह्रखुट्टेको बीचमा रहेको पाटी भत्काएको थियो । पाटी भत्काएको ४ वर्षपछि सडक विभागले पाटी बनाउन ठेक्का प्रकृया अघि बढाएको थियो ।
प्रतिक्रिया 4