Comments Add Comment
बौद्ध कला, संस्कृति एवं साहित्य महोत्सव :

विज्ञहरु भन्छन्- विश्वमा नेपालको पहिचान बुद्धको सन्देशले गरायो

२५ माघ,बुटवल । गौतम बुद्धको सन्देशबाटै नेपालको पहिचान विश्वका धेरै मुलुकमा पुगेको विज्ञहरुले बताएका छन् । भारतवर्षमा रहेकै समयमा विस्तार भएको बौद्ध धर्मले नेपालको पहिचानमा महत्वपूर्ण भूमिका खेलेको उनीहरुको भनाइ छ ।

बुद्ध नेपालमा जन्मिएको भन्ने सन्देश कैयौ शताब्दी पूर्व नै छिमेकी चीनसहितका मुलुकमा विस्तार भएको विज्ञहरुले दाबी गरेका छन् । लुम्बिनीमा जारी बौद्ध कला, संस्कृति एवं साहित्य महोत्सवमा कार्यपत्र प्रस्तुत गर्दै विज्ञहरुले् बुद्धको शान्ति सन्देशले नेपालको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरे ।

सो अवसरमा बोल्दै पूर्व शिक्षामन्त्री एवं साहित्यकार मोदनाथ प्रश्रितले बुद्ध शिक्षाले शान्ति सन्देश प्रवाहमात्रै नभई समुन्नत समाज निर्माणको दिशानिर्देश गरेको बताए । बौद्धकालीन समयमा रहेको जातीय विभेदको कटुआलोचक बुद्धका उपदेशबाटै विश्वलाई विभेदबाट मुक्त गर्न सकिने उनले बताए ।

‘बुद्धले अछुत जातकी चन्डालिकाले बोकेको पानी पिएर त्यसबारेमा उपदेश दिनुभएको थियो, समाज सुधारको त्यो निकै क्रान्तिकारी काम हो, अहिले त्यो सन्देशलाई अनुशरण गर्न आवश्यक छ, उनले भने ।

प्राज्ञ गोपीरमण उपाध्यायले बौद्ध दर्शन र त्यसको विस्तारका विषयमा  कार्यपत्र प्रस्तुत गर्दै कैयन धर्मअनुयायीहरुले विश्वका कुनाकुनामा बौद्ध दर्शनको विस्तार गरेको बताए । चिनियाँ बौद्ध यात्रीदेखि भारतीय, श्रीलंकन, नेपाली भिक्षुहरुले बौद्ध दर्शनको विस्तार र खोज अन्वेषण्मा महत्वपूर्ण काम गरेको बताए ।

बौद्ध दर्शनलाई सरलीकृत गर्ने राहुल सांस्कृत्यानदेखि अहिलेको पुस्तासम्मले अध्ययन र अनुसनधान गरिरहेको बताए । ‘दर्शनलाई सामाजसँग जोडेर विश्वलेषण र अनुसन्धान भइरहेको छ, यसले बौद्ध दर्शनको विस्तारमा महत्वपूर्ण योगदान पुराउछ, उनले भने ।

चीनका लागि नेपाली पूर्व राजदूत टंक कार्कीले नेपाललाई विश्वमा चिनाउन धर्म नै पहिलो अस्त्र भएको बताए । ‘चिनको पूरानो राजधानी सियानमा बौद्ध धर्मको विस्तारसँगै नेपालको विषयमा चिनियाँ शासकले थाहा पाएका थिए, उनले भने,‘नेपालको सबैभन्दा पहिलो कुटनीति भनेकै बौद्ध धर्म थियो ।’ भृकुटी जस्ता नेपाली नारीका कारण चीनसंगको कुटनीतिमा नेपालको सहयोग भएको बताए ।

उनले आर्थिक कुटनीतिको आधार नै सांस्कृति भएको बताए । संस्कृतिको उपज नै आर्थिक कुटनीति हो, उनले भने,‘जति सेल (बिक्री) गर्न सक्यो, त्यति फाइदा हुन्छ ।’ चीनमा बौद्ध धर्मको विस्तारमा पाँचौ शताब्दीमा ह्वेसाङ र सातौ शताब्दीमा फाहीयान आउनाले सहज भएको उनले बताए ।

अर्का पूर्वराजदूत खगनाथ अधिकारीले नेपालको पर्यटनको प्रमुख आधार भनेको बौद्ध धर्म भएको बताए । धर्मकै माध्यमले विश्वमा मुलुकले कुटनीति सम्बन्ध राख्न सक्ने भन्दै धर्म र कुटनीति एकअर्काका पर्याय भएको बताए । बौद्ध धर्मको कुटनीतिबाटै पर्यटनमा टेवा पुराउन सकिने उनले बताए ।

‘थाइल्याण्डका कैयौं नागरिकहरु सिधै नेपाल घुम्न आउन चाहान्छन् तर स्तरीय सेवा सहितको हवाई पहुँच छैन, जसकारण भारत हुँदै नेपाल आउने पर्यटकको बाध्यता हो, उनले भने,‘बौद्ध पर्यटक नेपाल भित्र्याउन भैरहवा नै आउन सक्ने गरी हवाई रुट तय गर्नुपर्छ ।’  उनले स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकको सन्दर्भमा सीमाको अध्यागमनमा कडाइ हुनुपर्ने बताए ।

वरिष्ट पत्रकार डा. कुन्दन अर्यालले शान्तिवादी सञ्चारका लागि बुद्धका सन्देश महत्वपूर्ण रहेको बताए । अहिंसावादी सन्देशको उद्गम थलो नेपाल भएकाले त्यसको प्रर्वद्धनमा काम गर्नुपर्ने उनको भनाइ छ । पत्रकारितामा समेत अहिंसावादी विचारहरु प्रकट गर्नका लागि बौद्ध दर्शनको प्रभाव हुनुपर्ने उनले बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा त्रिरत्न मानन्धरले बौद्ध दर्शन र विश्व शान्तिको विषयमा कार्यपत्र प्रस्तुत गर्दै शान्ति सिन्द्धान्तलाई विश्वव्यापी बनाउन आवश्यक रहेको बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धान प्रमुख प्रा.डा. गितु गिरीले प्रदेश ५ का पर्यटन उद्योगको सम्भावना केलाएका छन् ।

पुरातत्वविद् कोष प्रसाद आचार्यले तिलौराकोट उत्खनन् र भविष्यका चुनौतिका विषयमा कार्यपत्र प्रस्तुत गरे । अर्का पुरातत्वविद बसन्त बिडारीले प्राचिन तक्षशिला विश्वविद्यालयको महत्वको विषयमा कर्यपत्र प्रस्तुत गरे । प्याब्सनका दामोदर भुसालले मूल्यमा आधारित आजको शिक्षा विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

तीन दिने महोत्सवमा शनिबार कार्यपत्रमाछि छलफल सहित बौद्ध कला र संस्कृतिको प्रदर्शनी छ । शनिबारबाट मोन्लाम पूजा समेत सुरु भएको लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तिलक आचार्यले जानकारी दिए । महोत्सवको अन्तिम दिन आइतबार पूर्व सभामुख दमनाथ ढुंगाना, प्रोफेसर सुरेशराज शर्मा, डा. प्रेम कसजुले बौद्ध कला, दर्शन र नागरिक समुदायको विषयमा छलफल गर्दैछन् । आइतबार नै बौद्ध अध्ययनको विषयमा तीन विज्ञानले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment