Comments Add Comment

खोकनाको मनोरम तोरी बारी (फोटोफिचर)

१ चैत, काठमाडौं । ललितपुरको खोकना अर्थात तोरीको तेलका लागि प्रसिद्ध ठाँउ हो । यहाँ पनि अझै थुप्रै तोरीका परम्परागत मिलहरु छन् ।

तर, जग्गा घरघँडेरीमा मासिँदै जान थालेपछि यहाँ तोरीको खती पनि पहिलेजस्तो हुँदैन । तर, अझै पनि केही कृषकले खोकनामा तोरी खेती छछाडेका छैनन् ।

केही बर्षअघिसम्म तोरी खेती गर्ने र स्थानीय मिलमा पेलेर तेल बेच्ने मुख्य पेशा थियो खोकनाबासीको । तर, अचेल तोरी लगाउने निकै कम भएको स्थानीय बुद्धिकृष्ण डंगोल बताउँछन् ।

‘हामी सानो छँदा हाम्रा बाजेहरु मिलमा तोरी पेल्न पालो कुरेर बस्थे । अहिले जस्तो बत्तीबाट चल्ने मिल थिएनन्, हातैले घुमाउनुपथ्र्यो । तोरीतेलको बास्ना पनि कति मीठो हुन्थ्यो,’ बुद्धिकृष्ण सम्झन्छन्, ‘अहिले त तोरीमिल पनि बन्द हुँदै जान थाले । भएका मिलहरु पनि तोरी नपाएर बन्द हुने अवस्थामा पुगेका छन् ।’

खोकनाका बचेका फाटँहरु अहिले पनि पहेंलपुर छन् । यहाँ फलेको तोरीले एक महिना पनि तेल बनाउन नपुग्ने स्थानीय मिल सञ्चालक मिलन डंगोल बताउँछन् ।

खोकनाको तेलले छुट्टै पहिचान बोकेको छ । स्थानीय स्तरमा उत्पादन भएको तोरीको बास्नादार तेल विदेशीले समेत मालिस गर्न लाने गरेको मिल सञ्चालकहरु सुनाउँछन् । नेवार समुदायमा अझै पनि खोकनाको भुटेको तेलको माग उत्तिकै छ ।

पहिले खोकनामा फलेको तोरीले पर्याप्त मात्रामा तेल उत्पादन गर्न पुग्थ्यो । अचेल तराईका जिल्ला चितवन, सलार्हीसहित विदेशबाट पनि काठमाडौंमा तेलको आयात गर्नु परिरहेको छ ।

यहाँ उत्पादन भएको तोरी एक महिना पनि टिक्दैन । बाहिरबाट तोरी ल्याउँदा यसको बास्नामा पनि नआउने र तेल उत्पादन पनि महंगो पर्न जाने मिलवालाहरु बताउँछन् ।
तोरी उत्पादन घट्न थालेपछि स्थानीयबासीमा खोकनाको प्रशिद्ध तेल हराउने पो हो कि भन्ने चिन्ता देखिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment