Comments Add Comment

वीरगञ्ज नाकामा ४० हजारको स्क्रिनिङ

७ चैत, वीरगञ्ज । वीरगञ्ज भन्सार नाकामा राखिएको हेल्थ डेस्कले ४० हजार जनाको स्क्रिनिङ गरिसकेको दाबी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) भित्रिन सक्ने आशंकामा नाकामा स्क्रिनिङ गर्ने गरिएको हो ।

स्क्रिनिङ गरिएका मानिसमा ज्वरोको संक्रमण नभेटिएको हेल्थ डेस्कले जनाएको छ ।

बिहीबार अपरान्ह ४ बजेदेखि शुक्रबार बिहान १० बजेसम्ममा ३९ सय जनाको स्क्रिनिङ गरिएको छ । नेपालको प्रमुख भन्सार नाका वीरगञ्ज-रक्सौल नाकास्थित शंकराचार्य गेट नजिकै वीरगञ्ज महानगरपालिकाले हेल्थ डेस्क राखेको छ । महानगरपालिकाले नै खटाएका स्वास्थ्यकर्मीले इन्फ्रारेड थर्मोमिटरको सहायताले आगन्तुकको ज्वरोको नाप लिने गरेका छन् । सुरुका दिनमा चीन लगायत शंकास्पद देशका नागरिकको मात्रै स्क्रिनिङ गर्ने गरिएकोमा पछिल्लो समय सकेसम्म सबै आगन्तुकको स्क्रिनिङ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा सेवा लिन जाने सेवाग्राहीको इन्फ्रारेड थर्मोमिटर मार्फत शरीरको तापक्रम लिन सुरु गरिएको र साबुन पानीले हात धुने व्यवस्था मिलाइएको छ ।

वीरगञ्ज भन्सार नाका बाहेक अन्य स–साना नाकामा पनि क्रमशः हेल्थ डेस्क राख्न सुरु गरिएको छ ।

शुक्रबारबाट छिपहरमाई गाउँपालिका स्थित भिश्वा नाकामा समेत हेल्थ डेस्क राखेर चेकजाँच सुरु गरिएको गाउँपालिका अध्यक्ष मनोज गुप्ताले जानकारी दिए ।

‘खुल्ला बोर्डर छ, कोरोना भाइरस नभित्रियोस् भनेर हेल्थ डेस्क राखेका छौं, इन्फ्रारेड थर्मोमिटरको सहायता शरीरको तापक्रम लिने र कारोनाका बारेमा जानकारी दिने व्यवस्था मिलाएका छौं,’ अध्यक्ष गुप्ताले भने, ‘पालिकाले मास्क वितरण गर्ने र कोरोना भाइरसको संक्रमणबाट जोगिन अपनाउनु पर्ने उपायका बारेमा जनचेतना जगाउन तयारी समेत गरिरहेको छ ।’

हेल्थ डेस्कले ३ सय जनाको स्वास्थ्य परीक्षण गरिएको र कोही पनि शंकास्पद नदेखिएको छिपहरमाई स्वास्थ्य शाखा प्रमुख शम्भु साहले जानकारी दिए ।

चैत २ गतेदेखि नै भारतसँग सीमा जोडिएको अर्को नाका ठोरीमा पनि हेल्थ डेस्क राखेर चेकजाँच भइरहेको छ । गाउँपालिका अध्यक्ष पीएल श्रेष्ठले भारत हुँदै आउनेको स्वास्थ्य परीक्षण गर्ने गरिएको जानकारी दिए ।  ‘हेल्थ डेस्क सुरु गर्दा नर्मल थर्मोमिटर मात्रै थियो । तर अहिले इन्फ्रारेड थर्मोमिटर नै मगाएर नाका हुँदै आउने मानिसहरुको शरीरको तापक्रम लिईरहेका छौं,’ उनले भने ।

एकीकृत भन्सार जाँच चौकी आइसीपीमा पनि हेल्थ डेस्क राख्ने तयारी भइरहेको महानगरपालिकाले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले सीमा क्षेत्रका अन्य पालिकालाई पनि हेल्थ डेस्क राख्न आग्रह गरिएको बताए । सँगसँगै स्थानीय प्रशासन लगायत सरोकारावाला निकायले आवश्यक सरसमानको जोहो गर्न तर्फ पनि लागि परेको उनको भनाइ छ ।

‘सकेसम्म कोरोना भाइरसको संक्रमण भित्रिनै नदिन सतर्कता अनपनाएका छौं, कसैलाई लक्षण देखिएको खण्डमा के गर्ने भन्ने लगायतका तयारीमा पनि जुटेका छौं,’ उनले भने ।

कोरोना भाइरस विरुद्धकै तयारीका क्रममा नारायणी अस्पतालमा ५ बेडको आइसोलेसन वार्ड, ५० थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट, ५ थान थर्मल गन (इन्फ्रारेड थर्मोमिटर), १० थान भाइरस ट्रान्सपोर्ट मिडिया (भिटिएम) अर्थात थ्रोट स्वाव राखेर पठाउने भाँडो, कोल्ड बक्स १० वटा तयारी अवस्थामा राखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत कामेश्वर चौरसियाले खुल्ला बोर्डर भएकोले सबैको स्क्रिनिङ चुनौतिपूर्ण रहेको बताए । ‘स्क्रिनिङको मात्रै भर पर्नु भन्दा पनि सबै सचेत हुनुपर्छ । रुघाखोकी, ज्वरो देखिएमा नजिकको स्वास्थ्य संस्था जाने, भिडभाडमा सकेसम्म जानु हुँदैन,’ उनले भने, ‘ पटक पटक साबुन पानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्नुपर्छ सबैलाई सचेत बनाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment