Comments Add Comment

डब्लूएचओको चेतावनी– युवा पनि कोरोना भाइरसको उच्च जोखिममा

८ चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले युवाहरु पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको चेतावनी दिएको छ । डब्लूएचओले जथाभावी हिँडडुल नगर्न र बालबालिका तथा पाका व्यक्तिसँग घुलमिल नगर्न युवाहरुलाई सुझाव दिएको छ ।

डब्लूएचओका डाइरेक्टर टेडरोज एडहानोम गिब्रियसोसले भनेका छन्, ‘युवाहरुको रोग प्रतिरोधात्मक क्षमता कोरोना भाइरसबाट मुक्त छैन । उनीहरु कसैको मृत्यु र जीवनको कारक बन्न सक्छन् । त्यसैले युवाहरुले बालबालिका, पाका व्यक्ति र कमजोर स्वास्थ्य भएकाहरुसँग दुरी कायम राखुन् ।’

धेरैजसो देशहरुमा कोरोना भाइरसबाट वृद्धवृद्धा धेरै प्रभावित हुन्छन् र युवाहरुलाई कोरोना भाइरस संक्रमणको जोखिम कम हुन्छ भन्ने अफवाह फैलिइरहेको बेला डब्लुएचओले यस्तो चेतावनी दिएको हो ।

डब्लूएचओको मुख्यालयमा आयोजित अनलाइन प्रेस कन्फ्रेन्समा गिब्रियसोसले भने, ‘कोरोना भाइरसबाट पाका व्यक्तिहरु बढी प्रभावित भएका त छन् नै, तर युवाहरु पनि यसबाट जोगिएका छैनन् ।’

उनले युवाहरुलाई चेतावनी दिँदै भने, ‘तपाईंहरु अजय हुनुहुन्न । कोरोना भाइरसले तपाईंलाई एक हप्तामै अस्पताल पु¥याउनसक्छ या मार्न पनि सक्छ । यदि तपाईं बिरामी हुनु भएन भने पनि कसैको मृत्युको कारण बन्न सक्नु हुन्छ ।’

डब्लुएचओका अनुसार कोरोना भाइरस संक्रमणबाट विश्वभर ११ हजार व्यक्तिको मृत्यु र साढे दुई लाख मानिसमा संक्रमण पुष्टि भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment