Comments Add Comment

कोरोना संक्रमण फैलिन नदिन भन्दै महानगरद्वारा सडक सरसफाई

१२ चैत, काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्र भित्रको सरसफाइको कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई नेपालमा फैलिन नदिन नेपाल सरकारले चैत्र ११ गतेदेखि एक साताका लागि ‘लकडाउन’ हुनेगरी दिएको निर्देशनको पूर्ण पालना गर्दै काठमाडौँ महानगरपालिकाले सरसफाइको कामलाई तिव्रता दिएको हो ।

महानगरपालिकाका ३२ वटै वडामा स्वास्थ्य सहायता कक्ष सञ्चालन गर्दै आएको महानगरपालिकाले आजबाट काठमाडौँ महानगपालिका क्षेत्र भित्रका सडक पानीट्याङ्की र ब्रुमरमार्फत सरसफाइ गर्ने कामलाई तिव्रता दिएको काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए ।

उनले ‘लकडाउन’ को समयमा महानगर क्षेत्र भित्र फहोर थुप्रिने र सडक फोहोर हुने अवस्था आयो भने कोरोना भाइसरको संक्रमण अझ छिटो फैलिन सक्ने भएकाले त्यसको न्युनिकरणका लागि सरसफाइको कामलाई तिव्रता दिएको जानकारी दिए ।

उनले सकेसम्म दैनिक रुपमा उत्पादन हुने र व्यवस्थापन गर्न सकिने फोहोरलाई घर–घरमै व्यवस्थापन गर्ने व्यवस्था मिलाउन आग्रह गर्दै बाँकी फाहोरलाई भने ‘लकडाउन’ का समयमा पनि सकेसम्म व्यवस्थापन गर्न महानगपालिका लागि परेको जानकारी दिए । महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा पानीट्याङ्कीबाट पानी हालेर र ब्रुमरको प्रयोगबाट सरसफाइको काम निरन्तर रुपमा अघि बढेको उनकोे भनाई छ ।

‘लकडाउन अवधिमा कुनै पनि नगरवासीलाई केही समस्या आइपरे सहयोगका लागि जनप्रतिनिधिहरूलाई सीधा सम्पर्क गर्न महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा सबै जनप्रतिनिधिहरूका फोन नम्बरहरू सार्वजनिक गरेका छौँ ।

ती फोन नम्बरहरुमा सम्र्पक गर्नहुन पनि अनुरोध छ,’ प्रमुख शाक्यले भने, ‘काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौँ महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२)लाई जनशक्ति र सामग्रीसहित तयारी अवस्थामा राखेको छ ।

काठमाडौँ महानगरको टोलफ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमणको आशंका भएमा काठमाडौँ महानगरपालिकाको टोलफ्रि नम्बर ११८० तथा अन्य सिधा सम्पर्क नम्बरहरु ९८४९८६०५४७, ९८४९८५६६७१, ९८४९८५६६७२ मा खवर दिने चतथा सूचना दिने व्यवस्था समेत मिलाइएको छ ।’

नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले पनि टोली नै बनाएर सरसफाइको कामलाई तिव्ररुपमा अघि बढाएको बताए । ‘बालाजु, नयाँ बजार, लैनचौर, दरबारमार्ग, बल्खु, कुलेश्वर, कालीमाटी, नयाँबानेश्वरलगायतका क्षेत्रका सडकमा चार ओटा पानीट्याङ्की र चार ओटा बु्रमरको प्रयोगबाट सरसफाइ गर्ने कामलाई तिव्रता दिएका छौँ,’ नगर प्रहरी महाशाखा प्रमुख सापकोटाले भने, ‘यो कामलाई हामी निरन्तरता दिन्छौँ ।’

सापकोटाले लकडाउन अवधिभर सम्पूर्ण महानगरवासीहरूलाई सुरक्षित र संयमतापूर्वक आ–आफ्नै घरमा बसी महामारी विरुद्धको अभियानलाई सहयोग गरिदिनु हुन माइकिङमार्फत अपिल गर्न आजैबाट चार ओटा क्षेत्र बनाएर जनचेतना मुलुक कार्यक्रम सुरु गरेको पनि जानकारी दिए ।

‘आफू, आफ्ना प्रिय परिवार र आफ्नो टोल छिमेकलाई समेत कोरोना भाइरसको संक्रमणबाट टाढा राख्न आग्रह गर्दै जनचेतनामुलुक सूचनासहित हामीले यो अभियान आजैबाट अघि बढाएका छौँ,’ उनले भने, ‘आवश्यकता अनुसार अन्य अभियानलाई पनि हामी अघि बढाउँछौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment