Comments Add Comment

आत्मबल बढाउने बहसमा जुटौं

विचारका निर्मातादेखि सर्वसाधारणसम्मलाई छोप्दै र गाँज्दै गएको स्वार्थ र त्रासले समाजको आलोचनात्मक चेतलाई अवसानतर्फ डोर्‍याउँदै लगेका बखत विश्वभरि नै देखापरेको कोरोना नामक भाइरसबाट बच्नकै निम्ति लगभग सिङ्गै विश्व समुदाय सेल्फ क्वारेन्टाइनमा छ ।

यो रोगको महामारीबाट विश्वले नै साता दश दिनमै पार पाइहाल्ने अवस्था देखिँदैन । चीनबाट प्रारम्भ भएको भाइरसको सबैभन्दा ठूलो मारमा पश्चिमी मुलुक युरोप पर्न पुगेको छ । रोगको पहिचानबाहेक उपचार भनेको आफू सुरक्षित रहँदै अरुलाई पनि सुरक्षित राख्नु नै हो । वैज्ञानिकहरुका लागि चुनौतीको विषय बनेको भाइरसले अन्तसम्म के कति मानवीय क्षति गर्ला, अनुमान लगाउन कठिन भए पनि विश्वकै अर्थतन्त्रको एउटा युगको भने लगभग अन्त्य गर्ने निश्चित छ ।

नेपालका सन्दर्भमा कोरोना रोकथामको प्रारम्भिक तयारीमा नेपाल चुकेकै हो । हामीले नेपाल कोरोना मुक्त देश भन्दै भिजिट नेपाल २०२० को कार्यक्रममा नेपाल ढुक्कले आउन विश्वका विभिन्न मुलुकमा पुगेरै आह्वान गर्‍यौं । तर, विश्वभरबाट नेपाल आउने स्वदेशी एवं विदेशी कोही कसैको पनि प्रभावकारी स्वास्थ जाँच गर्न सकेनौं ।

त्यो समयमा त हामी चुक्यौं नै, जब नेपालमै कोरोनाको संक्रमण देखियो, ततपश्चात पनि सीमाबाट सयौंको संख्यामा नेपाल प्रवेश गर्दा प्रवेशमा कडाइ गरेर क्वारेनटाइनमा पठाउनसमेत असफल भयौं ।

सामान्य अवस्थामा भए केही थिएन, कोरोना भाइरसको विश्वव्यापी महामारी नेपालमा समेत देखिँदा सीमा सुरक्षाका खातिर परिचालित सुरक्षा बललाई परिचालन गरी सुरक्षा क्याम्प वा स्कुल/कलेजमा क्वारेन्टाइन निर्माण गरेर तत्काल परीक्षणका लागि राख्न सक्नुपर्दथ्यो । आखिर छाडियो र अहिले स्थानीय निकायलाई परिचालन गरि विदेशबाट आउनेहरुको लगत राख्ने भनिँदैछ । यो समाधनको उपाय थिएन र होइन पनि ।

विद्यालय जाने वालवालिका, कामकाजी उमेर समूहका वयस्क र वृद्धवृद्धामा रोगको त्रास भन्दा पनि लकडाउन कति समय जाला र त्यसले पार्ने प्रभाव कस्तो होला भन्ने त्रास व्याप्त छ । करोडौंको लगानी लगाएर खोलिएका उद्योग कलकारखानादेखि पर्यटन व्यवसाय दश वर्षे माओवादी द्वन्द्व र भूकम्पको समयमा भन्दा पनि तल अर्थात आजका मितिमा भन्ने हो भने कोमामै पुगेको छ ।

यी र यस्ता तमाम क्षेत्रमा व्यापक निराशासँगै भयानक त्रास सिर्जना भएकाबखत उद्योगी ब्यापारी, शैक्षिक संस्था, बैकिङ क्षेत्रलाई समेटेर राज्यले मनोबल बढाउने कार्यक्रम सार्वजनिक गर्न जरुरी छ ।

सँगै, तर्क–वितर्कको उन्नत अभ्यास नै नभएको, आफ्नै धारणामात्र अन्तिम सत्य ठान्ने हाम्रो समाजलाई सकारात्मक बहसमा निजी तथा सरकारी सञ्चार माध्यमले उतार्न ढिलो गरिनुहुन्न । तब मात्र समाजमा सकारात्मक बहसले स्थान पाउने छ भने सेल्फ क्वारेनटाइनमा रहेकाहरुको मनोबलसमेत उच्च हुने छ ।

ठूलासँग मुख लाग्न हुँदैन भन्ने चेन अफ कमाण्डबाट मुक्त हुँदै आधुनिक ज्ञानमा पहुँच राख्नेहरुलाई छिपछिपे होइन, पूर्ण बहसमा उतार्न सक्दा मात्र रोनापछिको नेपाललाई माथि उठाउन सम्भव छ ।

लोकतन्त्रको जरो भनेको अरुको कुरा सन्नु पनि हो । आजका मितिसम्म हामीले उपभोग गर्दै आएको लोकतन्त्रमा केवल आफ्ना विचार राख्ने मात्र भयो । अब राज्य प्रवद्र्धित मौन संस्कृति र राजनीतिक आस्था सिर्जित पक्षधरता संस्कृतिबाट माथि नउठेसम्म कोरोनापछिको नेपाललाई ह्वात्तमाथि उठाउन सम्भव छैन । जो जहाँ र जुन अवस्थामा छौं, बहस त्यहीँबाट प्रारम्भ गरौं । सरकार वा राजनीतिक नेतृत्व रिसाउला भनेर बसेकै कारण सरकारमाथि हिजोका मितिमा दबाव बढाउन नसक्दा कोरोनाले निर्वाध प्रवेश पायो ।

अब पनि प्रभावकारी कदमका निम्ति संघीय र प्रदेश सरकारसँगै स्थानीय सरकार समेतलाई दबाव बढाउन सकिएन भने हामीमाथि उल्टै कोरोना नामक भाइरसले दबाव बढाउने निश्चित छ ।

यो समय आरोप प्रत्यारोपको होइन । रोगलाई दलीय आधारमा अवश्य हेरिँदैन । राज्यका तर्फबाट जनताको चुल्हो बाल्ने कार्यक्रम र जनतामा रोगको भन्दा रोगको मनोविज्ञानको असर न्यूनीकरण गर्न विश्व समुदायले अपनाएका कार्यक्रमको अनुशरण गर्दा मात्र सेल्फ क्वारेन्टाइनमा रहेकाहरुको मनोवल बढ्ने हो ।

राज्यले यतिबेला खास गरी सामाजिक सञ्जालमार्फत् जथाभावी सामग्री प्रसारण गरी भाइरल बनाउने सामाजिक सञ्जाल नामक भिडको नियन्त्रण र प्रभावकारी सञ्चार माध्यममार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्न ती सञ्चार माध्यमलाई टिकाउनसमेत आवश्यक देखिन्छ ।

मूलधारका सञ्चार माध्यमको उपस्थिति पातलिन थालिसकेको छ । लकडाउनपछि इन्टरनेटमा आधारित सामाजिक सञ्जालमा नेपालीको उपस्थिति बढेको विभिन्न तथ्यांकले देखाएको छ । यो समय इन्टरनेटमा पहुँच राख्ने समुदायलाई केन्द्रमा राखेर उदार चरित्र बोकेका सामाजिक अभियन्तामार्फत राज्यले सकारात्मक बहसलाई तत्कालै अगाडि ल्याउँदा मात्र तथ्यपरक बहस हुनेछ र लकडाउनमा रहेको समाजमा सकारात्मक सन्देश प्रवाह हुनेछ ।

नेपालका आजका मितिसम्मका बहसहरु ज्ञान विस्तार र वैकल्पिक दृष्टिकोणका निम्ति सैद्धान्तिक छलफलभन्दा पनि एक अर्काप्रति रोष प्रकट गर्दै आगो ओकल्ने जस्ता काममै केन्द्रित भए । अब विश्वसँगै नेपाललाई त्यो सुविधा उपलब्ध हुने छैन ।

आर्थिक दृष्टिले समेत नेपाल दशौं वर्षपछि धकेलिने निश्चित छ । सेल्फ क्वारेन्टाइनमा रहेकै बखत भावी नेपालका निम्तिसमेत दीर्घकालीन बहस आजको आवश्यकता हो । आजका मितिमा विचारका निर्माताहरु समेत सार्वजनिक बहसवाट ओझेल परेको अनुभुति हुँदैछ ।

विश्लेषणात्मक चेतको स्पेस खुम्चिँदा जनमानसमा स्थिति झनै भयावहनै पो हो कि भन्ने भान पर्न पुग्छ । यतिबेला सकारात्मक सन्देशका लागि मूलधारका मिडिया टिकाउने र तिनकै माध्यमबाट आत्मबल बढाउने सन्देश प्रवाह गर्ने समय हो यो ।

राज्यको चाहना मिडियाहरु पातलिउन् भन्ने नै हुन्छ । तर, आजको अवस्थामा राज्यले यस्तो सोच राख्नुहुन्न । मिडियाका माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्न नसकिँदा भोलिको दिन निश्चय पनि झनै भयावह हुनेछ ।

पुस्तक पढ्ने, इन्टरनेटका माध्यमबाट ऐतिहासिक तथ्यहरुको खोज र अध्ययनसँगै सेयर गर्ने, घर–घरमै वैचारिक बहस चलाउने, निजी तथा सार्वजनिक सञ्चार माध्यमबाट नीतिगत बहसहरु चलाउने, विश्वयुद्धताका र विभिन्नखाले महामारीपछि विश्व समुदायले आर्थिक लगायत क्षेत्रमा लिएका नीतिगत व्यवस्था र त्यसले पारेका प्रभावबारे बहस चलाउन सक्दा समाजको ध्यान सकारात्मक बाटोतर्फ डोर्‍याउन मद्दत पुग्ने छ ।

साथै इतिहासविद, राजनीतिज्ञ लगायत अन्य लेखकहरुले यो समय पूर्णत आफ्नो ध्यान लेखनमा दिन सक्नेछन् । नेपालमा पछिल्लो समय समाज बदल्न मद्दत पुग्ने पुस्तकको अभाव महसुस गरिँदैछ । यति नै बेला गहकिला पुस्तकहरु तयार गर्नका निम्ति यो समयलाई स्वर्णिम समयका रुपमा रुपान्तरण गर्न पनि सकिन्छ ।

आजको अवस्था भनेको चुनौतीसँगै भोलिका लागि अवसर पनि हो भनेर बुझ्नुपर्ने हुन्छ । सेल्फ क्वारेन्टाइन भनेको कोही कसैले नियन्त्रणमा राखिदिएका रुपमा बुझ्दा मात्र भयावह लाग्ने हो । यो समयलाई पूर्णरुपमा क्षमता वृद्धिका निम्ति सदुपयोग गर्दै आत्मवल बढाउने बहसमा आजकै मितिबाट जुटौं ।

(आचार्य प्रेस काउन्सिल नेपालका पूर्वसदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

कठैबरा करिष्मा

Advertisment