+
+
Shares

चितवनका अस्पताललाई पीपीई वितरण

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते २१:०८

२१ चैत, चितवन । चितवनका सरकारी र निजी अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराइएको छ । कोरोना नियन्त्रण कार्यदल भरतपुरले शुक्रबार जिल्लामा रहेका अस्पतालहरुलाई पीपीई हस्तान्तरण गरेको हो ।

कार्यदललाई विभिन्न समयमा प्राप्त भएका र कार्यदलले नै खरिद गरेका पीपीई कार्यदल संयोजक एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अस्पतालका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिन् ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीलाई एक सय थान, चितवन मेडिकल कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेलाई ५० थान, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)का निर्देशक डा. मनोहर प्रधानलाई ५० थान पीपीई हस्तान्तरण गरिएको छ ।

यस्तै, निजी अस्पताल समन्वय समितिका अध्यक्ष नारायण सिंह कुँवरलाई ६० थान, भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख दीपक सुवेदीलाई ६० थान र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङलाई १० थान पीपीई नगर प्रमुख दाहालले हस्तान्तरण गरिन् ।

सामग्री हस्तान्तरण गर्दै संयोजक दाहालले अहिलेको समय सरकारी र निजी सबैको समान दायित्व भएको भन्दै कार्यदलले हेर्ने दृष्टिकोण पनि समान रहेको बताइन् ।

निजी स्वास्थ्य संस्थाहरुलाई अहिलेको परिस्थितिमा सरकारको निर्देशन अनुरुप बिरामीको भर्ना गर्न र उपचारमा संलग्न हुन नगरप्रमुख दाहालले आग्रह गरिन्।

कार्यदलका सदस्य सचिव डा. भोजराज अधिकारीले दाताहरुलाई कार्यदलमार्फत् सहयोग गर्न आह्वान गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?