बालखैमा
आमाको काखैमा
खुरुक्क
बुबुमाम सुरुप्प नपार्दा
आमाले कल्पना गराइदिएकी थिइन्
आबुई ! हाउगुजी !
तान्ने हात कस्तो होला थाहै थेन
टोक्ने दाँत कस्तो होला थाहै थेन
जुँगा कस्तो, केश कस्तो
भाषा के, भेष कस्तो
केही था थेन
यत्ति था थ्यो, संसार कै बलिया बा हुन, बाले नि जित्न नसक्ने
त्यो रुप सम्झेर कहिले दङ्ग
कहिले झसङ्ग
त्यसै डराउथे नजानी, नबुझी
आबुइ ! हाउगुजी !
म हुर्के पछि
म आफैँलाई हाउगुजी सम्झेँ
दुनियाँ डराओस् ठानेँ
फेरि पनि मैलाई मन पराओस् ठानेँ
जब कोरोना हाउगुजी आयो
एक सिटीमा पूरै जहाज गाडी रोक्यो
मान्छेको पृथ्वी हल्लियो जब उ खोक्यो
पूरै धुलो धुवा पोको पारेर बोक्यो
मान्छे छानी-छानी एकै गाँसमा निल्छ जस्तो
मान्छेको सास सबै एकै सासमा निल्छ जस्तो
यो सानो किरोले
मेरो ठूलो भन्ने शब्दै भत्काइदियो
सानो भन्ने शब्दै सक्काइदियो
मकै खाँदा ढुङ्गा हान्ने बाँदरलाई साथी देखाइदियो
बिस्कुन टिप्दा गुलेली हान्ने चरीलाई साथी सम्झिदियो
के नै देख्या रै’छुर, मैले देखेको केही रै’नछ बुझाई दियो
जे देखेर जे सोचेको छ, त्यो त्यही है’नछ बुझाइदियो
मेरो आँखाले नदेखेको त्यो किराले
त्यो आँखै नभएको हाउगुजीले
समानता देखायो, मान्छेलाई आफ्नै भित्री मान्छे देखायो
बाँचेपछि मान्छेले बिर्सन्छ र मात्रै हो
आफूसँग आफैँ बाँच्न सिकायो